कार्यवाहक सभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवासमेतको परामर्शमा पुस मसान्तभित्रको कार्यतालिका ल्याउन मध्यमार्गी प्रस्ताव अघि बढाएका थिए ।
What you should know
काठमाडौँ — कांग्रेस महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने जारी विवाद मिलाउन भन्दै शुक्रबार सभापति शेरबहादुर देउवाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले पनि कुनै निकास दिन सकेन ।
नियमित र विशेष दुवै महाधिवेशन निर्वाचन अगाडि गर्न नहुने विचारको नेतृत्व गरेका संस्थापनपक्षका पूर्वउपसभापति विमलेन्द्र निधि र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पूर्वअडानबाट टसमस नभएपछि सहमतिका लागि ल्याउन लागिएको मध्यमार्गी प्रस्ताव अघि बढेन ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवासमेतको परामर्शमा पुस मसान्तभित्रको कार्यतालिका ल्याउन मध्यमार्गी प्रस्ताव अघि बढाएका थिए । विशेष महाधिवेशनको निवेदन फिर्ता लिनुपर्ने सर्तमा यस्तो प्रस्ताव छलफलमा आएको थियो । यद्यपि महामन्त्रीद्वय र विशेष महाधिवेशनपक्षर नेताहरुले विशेष महाधिवेशनको निवेदन फिर्ता हुने सर्त भने स्वीकार गरेका छैनन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरुले बिहीबार पत्रकार सम्मेलन गरेरै विशेष महाधिवेशनको माग गरिएको निवेदन फिर्ता नहुने धारणा सार्वजनिक गरेका थिए । असोज २९ गते ५४ प्रतिशत प्रनिधिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन दर्ता भएको छ ।
महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको संभावना अब कमजोर भएको भन्दै सभापतिलाई विशेष महाधिवेशन बोलाउन सुझाएका छन् । नियमित महाधिवेशन केन्द्रीय कार्यसमितिको बहुमतले नगर्ने सुविधा भए पनि विशेष महाधिवेशन रोक्न नसकिने उनीहरुको भनाइ थियो । सभापतिबाटै विशेष महाधिवेशन बोलाउँदा पार्टी फुट्ने भनेर गरिएको प्रचारसमेत बन्द हुने उनीहरुको तर्क थियो । विशेष महाधिवेशनमा केन्द्रीय कार्यसमितिका सभापतिदेखि पदाधिकारी र सदस्यहरु सबैको निर्वाचन गर्दा सभापति मात्रै हटाएको सन्देश नजाने भएकाले सभापतिले यसमा अग्रसरता लिन उनीहरुले आग्रह गरेका छन् ।
तर, सिटौला र निधिले विशेष र नियमित कुनै पनि अधिवेशन निर्वाचन अगाडि संभव नभएको अडान राख्दै आएका छन् र आज बोलाइएको बैठकमा पनि त्यही अडान राखेका थिए । उनीहरुले निर्वाचनका कार्यक्रम, उम्मेदवार सिफारिसको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए । पूर्वमहामन्त्री सिटौलाले सबै पार्टीहरु निर्वाचनमा केन्द्रित भएका बेला आन्तरिक प्रतिस्पर्धाको मुद्दा थाँती राखेर निर्वाचनमा जुट्नुपर्ने बताए । बैठकअघि निधि र सिटौलाले संस्थापनपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक राखेर देउवा निवास पुगेका थिए ।
‘पार्टीले निर्वाचनमा जाने निर्णय लिइसकेको बेला अब आन्तरिक प्रतिस्पर्धाको मुद्दा उठाएर बस्न होइन । पार्टीले निर्वाचनका कार्यक्रम ल्याउनु पर्छ । समानुपातिक सूचीको तयारी गर्नुपर्ने छ । त्यसका लागि जुट्नुपर्छ । संसदीय बोर्ड गठन गरेर उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउनुपर्छ,’ सिटौलाले कान्तिपुरसँग भने,‘अब यो विवादमा लामो समय फाल्नु हुन्न ।’
महामन्त्रीद्वयको धारणा भने एउटै छ । कार्यवाहक सभापति खड्का, लेखक र अर्का नेता शेखर कोइराला मध्यमार्गी समाधान खोज्न सक्रिय छन् । तर, त्यसलाई संस्थापनपक्षमा सिटौला र निधिले नेतृत्व गरेको बहुमत सदस्यहरुको अडानले विवाद लम्बिँदै गएको छ । सिटौलाका अनुसार यो विवादमा सभापति देउवाको भने कुनै धारणा नआएको दाबी गरे । ‘उहाँले तपाईंहरु मिलेर जानुहोस् भन्नुभएको छ । तर आफ्नो कुरै धारणा दिनु भएको छैन,' उनले भने । आजको बैठकमा सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा, शर्मा, नेता शेखर कोइराला, बालकृष्ण खाण र लेखक सहभागी थिए ।
संस्थापनपक्षमै रहेका २८ केन्द्रीय सदस्यहरुले भने निर्वाचन अगाडि नै महाधिवेशन हुनेगरी कार्यतालिका ल्याएर पार्टीभित्रको जारी विवाद अन्त्य गर्नुपर्ने सुझाव सभापति देउवालाई दिएका छन् । पार्टी सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मालाई भेटेरै निर्वाचन अगाडि नै नियमित महाधिवेशनको तालिका ल्याउन जोड दिँदै आएका छन् ।
