समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिसँग एकता, सहकार्यका लागि वार्ता समिति पनि बनाइएको छ ।
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीका लागि भन्दै दबाब दिन प्रदर्शन गर्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले २३ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । देशव्यापी सभा र प्रदर्शन आयोजना गर्न प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रविन्द्रप्रताप शाह र सहमहामन्त्री धनबहादुर बुढा रहेको समिति गठन गरिएको छ ।
मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गरी पार्टीको धारणा राख्ने पनि राप्रपाले जनाएको छ । राप्रपाले जेनजी प्रदर्शनमा सहभागी भएकै कारण धरपकड गर्ने, थुनामा राख्ने कार्यको विरोध गर्दै गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।
समान विचारधारा भएका दल, अभियान, समूह र व्यक्तिसँग एकता, मोर्चा र सहकार्यका लागि उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान रहेको वार्ता समिति बनाइएको छ ।
