पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान नसकिने विशेष महाधिवेशन पक्षधरको मत छ ।
What you should know
काठमाडौँ — कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन नगर्ने अडान लिएपछि हस्ताक्षरकर्ता प्रतिनिधिहरूले विशेष महाधिवेशनको मिति घोषणा गर्न दबाब बढाएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित भेलामा विशेष महाधिवेशन पक्षधरले पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान नसकिने भन्दै तत्काल मिति तोक्न माग गरेका हुन् । ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको मागसहितको निवेदन २९ असोजमा केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् ।
महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने विवादले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक डेढ महिनादेखि अनिर्णयको बन्दी बनेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन गर्न संस्थापन पक्ष तयार नभएपछि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । तर, उनीहरू केन्द्रीय कार्यसमितिबाट निर्णय नआउन्जेल विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरूले आयोजना गरेको भेला र कार्यक्रममा सहभागी भएका छैनन् ।
भेलामा तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार रहेका विश्लेषक हरि शर्मासमेत सम्बोधन गर्न पुगेका थिए । शर्माले २०१४ देखि नै विशेष महाधिवेशन अभ्यास गरेको पार्टीलाई विधानको व्यवस्थाअनुसार माग भएको विषयलाई निषेध गरेर जाने छुट नभएको बताए । ‘महाधिवेशन गर्ने समय भइसकेको छ । निषेधको राजनीति गरेर बस्नु हुँदैन । नयाँ नेतृत्व चयन हुनैपर्छ । त्यसैका लागि त विशेष अधिवेशनको प्रावधान बनाइएको हो,’ उनले भने ।
७० वर्षको इतिहास बोकेको पार्टी महिनौंसम्म निर्णय गर्न नसक्नु, अनिर्णयको बन्दी हुनु र बारम्बार जेन–जी आन्दोलनलाई षड्यन्त्रको सिकार मात्रै भन्दै आएकाले अति भई कांग्रेसलाई माया गर्ने नागरिकको हैसियतले भेलामा बोल्न पुगेको विश्लेषक शर्माले कान्तिपुरलाई बताए । ‘अहिलेको जटिल परिस्थिति बुझेर अघि बढ्ने नेतृत्व हामीलाई चाहिएको हो,’ भेलामा शर्माले भने ।
२८ असोजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अझैसम्म महाधिवेशनको विवाद हल गर्न सकेको छैन । गत शनिबारको बैठकले निर्वाचनमा जाने निर्णय लिएको छ । कार्यसमितिको पहिलो बैठकमै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । यसबाट नेतृत्व हस्तान्तरणको दिशामा देउवा एक कदम अघि बढेको भन्दै सहानुभूतिसमेत पाएका थिए । तर, आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्दा देउवा आफैंले आगामी निर्वाचनमा टिकट वितरण गर्ने गरी हस्ताक्षरको नमुना पठाएपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ ।
महाधिवेशन गर्ने समय भइसकेको छ, नयाँ नेतृत्व चयन हुनैपर्छ, विशेष महाधिवेशनको मागलाई निषेध गरेर जाने छुट छैन : हरि शर्मा, विश्लेषकमहाधिवेशन विवादसम्बन्धी निर्णय लिन कांग्रेस बैठक बिहीबार बोलाइए पनि सहमति नजुट्दा शुक्रबार सारिएको छ । समझदारी बनाउन बुधबार बिहानदेखि सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा र केन्द्रीय सदस्य रमेश लेखक छलफलमा थिए । दिनभर भएका कसरतमा कुनै सहमति नजुटेपछि बैठक सरेको हो ।
निर्वाचन अगाडि पुस मसान्तभित्रै नियमित महाधिवेशनको तालिका ल्याउन सहमत भए पनि सभापति देउवाले विशेष महाधिवेशनका लागि माग गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने ‘सर्त’ अघि सारेका छन् । यो सर्तमा संस्थापन पक्षका पूर्वपदाधिकारीहरूले अडान राखेपछि सहमति हुन सकेको छैन । महामन्त्रीहरूले समयको चाप बढेकाले प्रक्रिया छोट्याएर मात्रै नियमित महाधिवेशन सम्भव हुने बताएका छन् । उनीहरूले वडा र क्षेत्रको अधिवेशन गरेपछि सिधै केन्द्रको अधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधि चयन हुने र तिनै क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन्, जो केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् ।
निर्वाचन अगाडि महाधिवेशनका विषयमा संस्थापन पक्षभित्र पनि एकमत छैन । मुख्य गरी पूर्वपदाधिकारीहरू निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने अडानमा छन् । तर, संस्थापनका २८ केन्द्रीय सदस्य निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने भन्दै कार्यतालिका ल्याउन नेतृत्वसँगको लबिइङमा जुटिरहेका छन् ।
बुधबार आयोजित भेलामा पनि संस्थापन पक्षका नेताहरू सहभागी भएका थिए । यसअघि संस्थापन पक्षमा रहेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सभापति ओम घर्ती मगर, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला, मधेश प्रदेश कार्यसमितिका उपसभापति चन्द्रशेखर यादव, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहितका नेताहरू भेलामा उपस्थित थिए ।
ललितपुरका पुराना कांग्रेस नेता ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न गरिएको थियो । श्रेष्ठ २०१४ मा विशेष महाधिवेशनका साक्षी हुन् । विशेष महाधिवेशनमा हस्ताक्षर गरेका ८८ वर्षीय श्रेष्ठले तलका कार्यकर्ताको आवाज नेतृत्वले नसुन्ने अवस्थामै विशेष महाधिवेशन आवश्यक हुने भएकाले विधानमा राखिएको बताए । २०१४ मा पार्टी सभापति सुवर्णशमशेरले बोलाएको विशेष महाधिवेशनबाट बीपी कोइराला पार्टी सभापति भएका थिए । भेलामा नेता गुरुराज घिमिरेले ‘सत्ताको हिलोमा लतपतिएको अनुहार नपखाली पार्टी चुनावमा जान नसकिने’ बताए ।
विधानमा ४० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित माग भएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले ढिलाइ नगर्न भेलामा सहभागीहरूले माग गरेका थिए । ‘हामीलाई जिम्मा दिनुहोस्, एक महिनामा सबै टुंग्याएर पठाइदिन्छौं,’ कास्कीका प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले भने, ‘सकिने बेलासम्म महाधिवेशन गर्ने कि नगर्ने भनेर अनिर्णयको बन्दीमा पार्टीलाई कतिन्जेल राख्ने ?’
