विघटित प्रतिनिधिसभाका १४ दल चुनावी प्रतिस्पर्धाका लागि तयार

चुनावमा भाग लिन बुधबारसम्म निर्वाचन आयोगमा १ सय ६ दलले दिए निवेदन । दल दर्तालाई ४ दिन थप । डेढ दर्जन नयाँ दल पनि चुनावमा होमिँदै छन् ।

मंसिर १०, २०८२

राजेश मिश्र

14 parties from dissolved House of Representatives ready for election competition

What you should know

काठमाडौँ — विघटित प्रतिनिधिसभामा रहेका सबै १४ दल आसन्न आम निर्वाचनमा प्रतिस्पर्धाका लागि तयार देखिएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १४ वटै दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । १७ नयाँ दलले पनि आयोगमा निवेदन बुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि बुधबारसम्म दल दर्ताको निवेदन दिने राजनीतिक दलको संख्या भने १ सय ६ पुगेको छ । दल दर्ताका लागि आइतबारसम्म म्याद छ । आयोगले निर्वाचनमा भाग लिने गरी दल दर्ताको निवेदन दिने समयावधि यसअघि १–१० मंसिरसम्म तोकेकामा चार दिन थप गरेको हो ।

आयोगमा अझै १८ नयाँ राजनीतिक दल दर्ता प्रक्रियामा छन् । ती दलले आयोगमा विधिवत् दर्ता भएर चुनावमा भाग लिन पाऊन् भनेर चुनावी प्रयोजनका लागि दल दर्ताको समय थपिएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र म्याद थपका लागि विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट अनुरोध पनि आएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘केही नयाँ दल दर्ताको अन्तिम प्रक्रियामा छन् । दल दर्ताका लागि अन्तिम समयमा चाप पनि बढ्यो,’ प्रवक्ता भट्टराईले भने, ‘लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने मौका पाइनँ भन्ने गुनासो कसैको नरहोस् र सबैले अवसर प्राप्त गरून् भनेर समय थपिएको हो ।’ आयोगमा सूचीकृत राजनीतिक दलको संख्या भने १ सय ३७ पुगेको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गरिरहेको एमाले तथा यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राप्रपा दुवैले निर्वाचनमा भाग लिने उद्देश्यले मंगलबार दल दर्ताको निवेदन दिएका छन् ।

विघटित प्रतिनिधिसभामा ठूलो दल कांग्रेसले चुनावमा भाग लिने निर्णय शनिबार गरेर भोलिपल्टै आयोगमा दल दर्ताको निवेदन दिएको थियो । त्यसपछि सबैको नजर प्रतिनिधिसभा पुनःस्थापनालाई मुद्दा बनाएको एमालेमाथि थियो । तर मंगलबार संशय चिर्दै एमालेले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको हो ।

एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्य एमाले चुनावबाट नभाग्ने बताउँछन् । ‘हाम्रो मुख्य मुद्दा संसद् पुनःस्थापना नै हो । त्यसले मात्र निकास दिन सक्छ,’ उनले भने, ‘तर, सँगै वैधानिक पार्टी एमाले निर्वाचन आयोगले गर्ने वैधानिक र संवैधानिक प्रक्रियामा स्वाभाविक रूपमै भाग लिन्छ ।’ सरकारले चुनाव गराउन नचाहेको आरोप उनले लगाए । चुनावी वातावरण बनाउन सरकारले ध्यान नै नदिएको उनको भनाइ छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा आफूहरू प्रस्ट हुँदाहुँदै पनि जिम्मेवार प्रजातान्त्रिक दल भएका नाताले निर्वाचन प्रयोजनका लागि दल दर्तामा गएको बताए । प्रजातान्त्रिक दलका लागि प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने उनको भनाइ छ ।

विघटित प्रतिनिधिसभामा रहेका नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी, एकीकृत समाजवादीसहितका दल एकीकरणपछि गठित), रास्वपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले भने यसअघि नै दल दर्ताको निवेदन बुझाएका छन् ।

सरकार, आयोग, राजनीतिक दल, युवा पुस्ता र मतदाता सबै तयार देखिएकाले निर्वाचन हुनेमा शंका गर्ने ठाउँ छैन : रामप्रसाद भण्डारी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक राजनीतिक दलहरूको संख्या उत्साहजनक देखिएको बताए । ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नु भनेको निर्वाचन प्रक्रियामा प्रतिस्पर्धाका लागि तयार हुनु हो,’ उनले भने, ‘राजनीतिक दलहरूको उत्साहजनक सहभागिताले निर्वाचन गर्नुपर्छ/हुनुपर्छ भन्ने देखाएको छ ।’

सरकार, आयोग, राजनीतिक दल, युवा पुस्ता र मतदाता सबै तयार देखिएकाले निर्वाचनलाई शंका गर्ने कुनै ठाउँ नरहेको भण्डारीले बताए । विगतमा चुनाव बहिष्कार गर्ने वा चुनाव बिथोल्ने प्रयासमा लागेका शक्तिहरू पनि यस पटक चुनावी प्रक्रियामा आएको उनले उल्लेख गरे ।

यसअघि निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्दको दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि सोमबार आयोगमा निवेदन दिइसकेको छ । चन्दको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) आयोगमा दर्ता भइसकेको छ ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने भनेको छ । त्यसैअनुसार २१ फागुनको निर्वाचनका लागि आयोगले दल दर्ता गरिरहेको छ ।

14 parties from dissolved House of Representatives ready for election competitionकार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि दर्ताको निवेदन दिएका दलहरूले पेस गरेका कागजातको परीक्षण गरेर नामावली प्रकाशन गरिने जानकारी दिए । दर्ताका लागि कानुनले तोकेको प्रक्रिया पूरा गरेका दलहरूले आगामी चुनावमा भाग लिन पाउनेछन् ।

प्रतिनिधिसभा निर्वाचन घोषणा भएयता नयाँ दर्ता भएर चुनावमा भाग लिने गरी दर्ताको निवेदन दिएका दलहरूमा अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल, धरानका मेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, ऊर्जामन्त्री कुलमान घिसिङको समेत समर्थन रहेको पूर्वसचिव अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी छन् ।

बुद्ध एयरका सञ्चालक व्यवसायी वीरेन्द्रबहादुर श्रेष्ठ संलग्न रहेको दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, पूर्वसांसद योगेन्द्र मण्डल नेतृत्वको राष्ट्रिय ऊर्जाशील पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी, गणेशकुमार मण्डल नेतृत्वमा सार्वभौम नागरिक पार्टी, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, रेशम चौधरी संरक्षक रहेको कविर सोब नेतृत्वको नागरिक उन्मुक्ति पार्टी तथा राजेश प्रतेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीले चुनावी प्रयोजनका लागि दर्ताको निवेदन दिएका छन् ।

श्रेया केसी नेतृत्वको नागरिक सेवा पार्टी, सविन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टी, अकबर खान नेतृत्वको राष्ट्र निर्माण दल नेपाल, रियाज अहमद शेष नेतृत्वमा गठित राष्ट्रिय जनमत पार्टीले पनि चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन बुझाएका छन । निवेदन दिने अन्य नयाँ दलमा दलित अधिकारका लागि वकालत गर्ने अभियन्ता खगेन्द्र सुनुवार नेतृत्वको हाम्रो पार्टी नेपाल र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा गठन भएको समुन्नत नेपाल पार्टी छन् । 

यसैबीच उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले एउटै चुनाव चिह्न लिएर चुनावमा भाग लिने सहमति गरेका छन् । दुवै दलले आयोगमा संयुक्त रूपमा दल दर्ताको निवेदन दिएका छन् । पूर्वगृह राज्यमन्त्री मो. रिजवान नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीसँग मिलेर एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि एकल चुनाव चिह्न लिने भएका छन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully