अरु दल ‘फुटाउँदै’ नेकपामा जोड्दै दाहाल

अनुसन्धानकर्ता प्रेमदर्शन सापकोटा भन्छन्– 'दाहाल आफ्नो सान्दर्भिकता बचाइराख्न दायाँबायाँ गर्न सक्ने नेता हुन्, आफू सान्दर्भिक भइराख्न जोसँग पनि सहजै मिल्न सक्ने गुण उनीसँग छ ।’

मंसिर ८, २०८२

गंगा बीसी

Dahal is 'dividing' other parties and uniting them with the NCP.

What you should know

काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, मातृभूमि अभियान नेपाललगायत १३ घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण त भयो तर एकतामा आउने पार्टी सग्लो रहन सकेनन् ।

नेकपाका संयोजक पुष्पकमल दाहालले अन्य दल ‘फुटाएरै’ भए पनि एकतामा ल्याउने क्रम जारी राखेका छन् । त्यसको पछिल्लो उदाहरण हो, अशोक राई कार्यकारी अध्यक्ष रहेको जनता समाजवादी विभाजन । आइतबार जसपाका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपामा समाहित हुने निर्णय गरेका छन् ।

माओवादी, एकीकृत समाजवादीसहित १२ घटकबीच एकता भयो । यो एकतामा आएका दलमध्ये एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी विभाजन भए । एकीकृत समाजवादीमा तीन धार देखियो । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बहुमत हिस्सा माओवादीसँग मिल्यो । उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, उपमहासचिव विजय पौडेललगायत नेताहरुले पार्टी पुनर्गठन गरी बृहत् वाम एकता गर्ने भन्दै उतै छुटेका छन् । रामकुमारी झाँक्री र किसान श्रेष्ठको नेतृत्वको अर्को धार पुरानै घर एमालेमा फर्किए । यसरी माआवादीसँग एकता गर्न खोज्दा एकीकृत समाजवादी तीन धारमा विभाजन भयो ।

त्यस्तै, माओवादीसँग एकता हुने भएपछि नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पनि विभाजन भयो । चिरन पुनको नेतृत्वमा एउटा समूह माओवादीसँग मिल्यो । त्यस्तै नेकपाकै अर्का नेता कर्णजित बुढाथोकी पनि छुट्टै समूह बनाएर माओवादीमै मिसिए । तर महासचिव नेत्रविक्रम चन्द रहेको नेकपाले नाम फेरेर नेकपा (माओवादी) गठन गर्‍यो ।

अन्य दलसँग एकता गर्ने निर्णय गरेपछि माओवादी पनि सग्लो रहेन । एकतामा असमति जनाउँदै उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्की पक्ष बाहिरियो । उनीहरूले माओवादी पूर्वउपाध्यक्ष बाबुराम भट्टराईसँग आइतबार पार्टी एकता गरी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ गठन गरे । संयोजक दाहालसँग मतभेद बढेपछि शर्मा पक्ष माओवादीमा टिक्न सकेन ।

नेपाली कम्युनिस्ट पार्टीसँग एकता वार्ता चलिरहेकै बेला अशोक राई कार्यकारी अध्यक्ष रहेको जनता समाजवादी पनि विभाजन भयो । आइतबार जनता समाजवादीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेतले पार्टी छाडेर नेकपामा एकता गर्ने निर्णय गरेका छन् । कार्यकारी अध्यक्ष अशोक राईसहित वार्ता भए पनि सहमति हुन नसक्दा जसपा विभाजन भयो । एउटा समूह नेकपामा मिसिने निर्णय गरेको छ ।

श्रेष्ठले जसपामा तीन धार रहेकाले पार्टी एकता गर्ने सर्वसम्मत निर्णय हुन नसकेको बताए । ‘हामी नेकपासँग एकता गर्ने टुंगोमा पुग्यौं  । केही पुरानै पार्टीलाई चलाउने र केही अरु कुनै शक्तिसँग एकता गर्ने पक्षमा छन्,’ उनले भने ।

नेकपासँग एकता गर्न केन्द्रीय कार्यकारिणी समितिका ६ नेताले जसपा छाडे । ‘जेन-जी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपसब्धिहरूसमेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलाब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका संघर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ । अतः हामी जनता समाजवादी पार्टीका आ-आफ्ना पदीय पढीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने जानकारीका लागि अनुरोध छ,’ उनीहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला २०८१ वैशाखमा जनता समाजवादी नेपाल विभाजन भई अशोक राईको नेतृत्वमा अर्को जसपा गठन भएको थियो । त्यसपछि राई नेतृत्वको जसपा  सरकारमा सहभागी भएको थियो । प्रतिनिधिसभामा १२ सिटमध्ये ७ राईको पक्षमा गएका थिए ।

अध्यक्ष यादवसँग पाँच सांसद मात्र रहेका थिए । त्यसबेला जसपा नेपालका अध्यक्ष यादवले तत्कालीन प्रधानमन्त्री (हाल नेकपा संयोजक) दाहालले आफ्नो पार्टी विभाजन गरिदिएको आरोप लगाएका थिए । त्यसपछि उनी माओवादी, एकीकृत समाजवादीसहितको समाजवादी मोर्चाबाट अलग भएका थिए । दाहालले आफ्नो सरकार बलियो बनाउन जसपा नेपालको विभाजन गर्न भूमिका खेलेको यादवको आरोप थियो ।

माओवादीसँग पार्टी एकता गर्ने भन्दै नेत्रविक्रम चन्दलाई समाजवादी मोर्चामा सहभागी गराए । त्यसबेला चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकताका लागि वार्ता भए पनि सफल भएन । चन्द नेकपाका चिरन पुनको एउटा समूह अलग भई माओवादीसँग मिसियो । त्यसपछि दाहालबाट चन्द टाढिँदै गएका छन् । हालै उनी पनि समाजवादी मोर्चाबाट अलग भए । नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि दाहालले छाडेको ‘माओवाद’ लाई ब्युँताएर चन्दले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेका छन् । निर्वाचन आयोगले नेकपा (माओवादी) लाई मान्यता दिइसकेको छ । अब उनले माओवादी धारलाई अघि बढाउने बताएका छन् ।

माओवादी, एकीकृत समाजवादीलगायत घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि कात्तिक २६ मा एमाले पूर्व उपाध्यक्ष एवं मातृभूमि अभियानका संयोजक भीम रावल पनि मिसिए । नेकपा संयोजक पुष्पकमल दाहालको तत्कालीन कार्यनीति नै धेरैभन्दा धेरै पार्टी र नेताहरुसँग एकता गर्ने  छ । त्यही अनुसार सम्भव भएसम्म उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक बहसमा नअल्झिएर चुनाव अघि नै पार्टी एकता अभियान नै चलाएका छन् ।

शान्ति प्रक्रियामा आएपछि दाहालले एकता विभाजनलाई निरन्तरता दिइरहेका छन् । उनले शान्ति प्रक्रियामा आइसकेपछि २०६५ पुसमा नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा एकता केन्द्र मसालसँग एकता गरेर सहकार्य थालेका थिए । २०६४ को संविधानसभा निर्वाचनमा पहिलो पार्टी बने पनि पार्टीलाई एक ढिक्का राख्न सकेनन् । शान्ति प्रक्रिया, संसदीय राजनीतिक प्रणालीमा असमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा २०६९ असारमा विभाजन भयो । करिब-करिब आधा हिस्सा बाहिरिए पनि दाहालको नेतृत्वको माओवादी तेस्रो दलको रुपमा सत्ताको खेलमा महत्त्वपूर्ण अंकगणित भइरह्यो ।

२०७४ को आम निर्वाचनमा एमाले र माओवादीको चुनावमा गठबन्धन भयो । दाहालकै रणनीतिमा एमाले अध्यक्ष ओली दाहालसँग एकता गर्न सहमत भए । २०७५ जेठमा दुई दल मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भयो । संसद्‍मा करिब दुई तिहाइको प्रधानमन्त्री ओली भए भने ओली र दाहाल नेकपाको अध्यक्ष भए । तर शक्ति संघर्षका कारण विग्रह बढ्दै गयो । ऋषि कट्टेलले नेकपाको दाबी गरेपछि सर्वोच्च अदालतले २०७७ फागुनमा एमाले र माओवादीलाई अलग गरिदियो । सर्वोच्चले अर्को नाम राखेर निर्वाचन आयोगमा दर्ता हुन सक्ने बाटो देखाए पनि ओली र दाहाल आ-आफ्नो बाटो लागे । त्यति मात्र होइन, नेकपामा रहँदा ओलीविरुद्ध मोर्चाबन्दी गरेका माधवकुमार नेपाल पक्षले २०७८ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्‍यो । 

नेकपामा ओलीविरुद्ध मोर्चाबन्दी गरेको दाहाल र नेपालले कात्तिक १९ मा एकता गरी नेपाली कम्युनिस्ट पार्टी निर्माण गरे । तर एकीकृत समाजवादीको दुई हिस्सा बाहिरै छुट्यो । महासचिव घनश्याम भूसाल छ्ट्टै दल गठनको प्रक्रियामा छन् भने चर्चित नेता रामकुमारी झाँक्री एमालेमा फर्किइसकेकी छन् ।

अनुसन्धानकर्ता प्रेमदर्शन सापकोटाले दाहाल आफ्नो सान्दर्भिकता बचाइराख्न ‘दायाँबायाँ’ गर्न सक्ने नेता भएको बताए । ‘आफू सान्दर्भिक भइराख्न जोसँग पनि सहजै मिल्न सक्ने गुण प्रचण्डसँग छ,’ उनले भने, ‘उनी शान्ति प्रक्रियामा आइसकेपछि धेरै पटक फुटेका र जुटेका उदाहरण छन् । अरु दलबाट फुटेर आउने समूहलाई आफ्नो दलमा मिलाउने उनको पुरानै प्रवृत्ति हो । पछिल्लो नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि केही दलमा टुटफुट भयो ।’

हालै माओवादीबाट बाहिरएका पूर्वसचिव एवं विश्लेषक राम कार्कीले समाजवादीलाई तीन भाग, नेकपा (चन्द) लाई दुई चिरा र जसपा नेपाल (अशोक राई) लाई दुई चिरा पारेर गरेको एकता दीर्घकालीन हुनेमा आशंका व्यक्त गरे ।

‘मित्रशक्ति’ लाई फुटाएर क्षणिक रमाइलो भए पनि दीर्घकालीन रूपमा त्यो आफैंतिर फर्कने जोखिम रहेको बताए । ‘प्रचण्डजीले मित्रशक्ति फुटाएर क्षणिक रूपमा आफू बलियो हुन खोजे पनि दीर्घकालीन रूपमा उहाँलाई नै हानि गर्नेछ,’ उनले भने, ‘अर्को मित्रशक्तिलाई फुटाएर गरेको एकता कति दीर्घकालीन होला ?’ एकीकृत समाजवादीका अवकाश लिएर बस्नुपर्ने नेताहरूको समूह भेला गरेर दाहालले ‘सहारा’ खोजेको उनको भनाइ छ ।

गंगा बीसी

Link copied successfully