एमाले महाधिवेशन : नेतृत्वमा द्विपक्षीय भीडन्त हुने निश्चित, को-को छन् आकांक्षी ?

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनमा ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ। नेताहरूका अनुसार भण्डारी पक्षले पोखरेलको नेतृत्वमा प्यानलै बनाएर प्रतिस्पर्धा गर्दैछ।

मंसिर ७, २०८२

गंगा बीसी

UML General Convention: A two-way clash over leadership is certain, who are the aspirants?

काठमाडौँ — नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा पोखरेलले अध्यक्षका लागि ‘स्वस्थ’ प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरिसकेका छन्।

पछिल्लो सचिवालय बैठकमै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएपछि एमालेभित्र महाधिवेशनमा नेतृत्व चयनको विषयले प्राथमिकता पाएको छ । ‘यो महाधिवेशनमा मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने विचार गरेको छु । म स्वस्थ ढंगले प्रतिस्पर्धा गर्छु,’ पोखरेलको भनाइ थियो, ‘मेरो उम्मेदवारी कुनै व्यक्तिप्रति लक्षित छैन ।’

पोखरेलले कान्तिपुरसँग कुरा गर्दै पार्टीभित्र विगतदेखि नै प्रतिस्पर्धा गर्ने विधि स्थापित भइसकेकाले अन्यथा मान्नुपर्ने विषय नभएको बताए । ‘मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्छु भनेको छु । यसलाई अन्यथा मान्नुपर्ने विषय होइन,’ उनले भने, ‘योग्यता पुगेका हरेक प्रतिनिधि प्रतिस्पर्धाका लागि योग्य हुन्छन् ।' दुई कार्यकाल अध्यक्ष भइसकेका र भदौ तेस्रो साता अर्को कार्यकालका लागि विधान संशोधन गरी तेस्रो कार्यकाल अध्यक्ष बन्न बाटो खुला गरेका ओलीले आफू अध्यक्ष हुनैपर्ने अवस्था भएको त्यही बैठकमा बताए ।

दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको व्यवस्था विधानबाट हटाएपछि उनका लागि तेस्रो कार्यकाल अध्यक्ष हुने बाटो खुलिसकेको छ। बिहीबार सचिवालय बैठकमा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुनैपर्ने तर्क गर्दै नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा गर्नु विगतकै विधि भएको बताए । तर आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू एमालेमा नरहेकाले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिए ।

‘विगतमा हामीले प्रतिस्पर्धा गर्दै आएको हो । तर विगतमा प्रतिस्पर्धा गरेका व्यक्तिहरू पार्टीमा रहनु भएन,’ उनले भने, ‘नेतृत्वका लागि स्वस्थ प्रतिस्पर्धा गरौँ । पार्टीलाई एकताबद्ध बनाएर जाऔँ ।’ ओलीले शुक्रबार ‘नेशनल भोलिन्टेयर्स फोर्स’ को घोषणा कार्यक्रममा नेतृत्व चयनका लागि हुने महाधिवेशनमा एकताबद्ध हुनुपर्ने बताए ।

नेतृत्व चयनका लागि प्रतिस्पर्धाभन्दा मिलेर जानु उचित हुने उनको संकेत थियो । २०६५ फागुनमा भएको आठौँ महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसित ओली पराजित भएका थिए । महासचिवमा ईश्वर पोखरेल चयन भए । २०७१ असारमा काठमाडौंमा भएको नवौँ महाधिवेशनमा ओली र माधव नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्षमा चयन भएका थिए । महासचिवमा पोखरलनै चयन भए ।

त्यस्तै, २०७८ मंसिरमा ओली र भीम रावलबीच अध्यक्षका लागि प्रतिस्पर्धामा दोस्रो कार्यकालका लागि ओली निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका थिए । आठौँ महाधिवेशनमा पोखरेलले खनाललाई, नवौँ महाधिवेशनमा ओलीलाई जिताउन भूमिका खेलेका थिए । आठौँ र नवौँ महाधिवेशनमा महासचिव भएका पोखरेल यस पटक ओलीसँग भिड्ने तयारीमा छन् । दशौँ महाधिवेशनमा भने उनी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका थिए, ओलीको आग्रहमा ।

ओलीको नेतृत्वमा एमाले भएदेखि पार्टीको ‘जनवादी केन्द्रीयता’ उनकै मुट्ठीमा पुगेपछि प्रतिस्पर्धा गरेका नेताहरू खनाल, नेपाल र रावलले पार्टी छाडिसकेका छन् । यी तीन नेता पूर्व माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन् । बिहीबार रातिसम्म चलेको केन्द्रीय सचिवालय बैठकमा ओलीले आफूसँग प्रतिस्पर्धा गरेका नेताहरू पार्टी छाडेको भन्दै पोखरेललाई घुमाउरो भाषामा चेतावनी दिएका थिए ।

‘एमालेमा रहने भए प्रतिस्पर्धा नगर । पार्टी छाड्ने भए आफूसँग अध्यक्षका लागि चुनाव लड' भन्ने केपी ओलीको सन्देश थियो’ एक सचिवालय सदस्यले भने, ‘ईश्वर पोखरेलले हिम्मत गरेर ओलीविरुद्ध जोखिम लिने तयारी छ ।’

सचिवालय बैठकमा पोखरेलले ओलीको कार्यशैलीका कारण केन्द्रदेखि स्थानीय तहसम्म सकारात्मक प्रभाव नपरेको बताएका थिए । त्यही कारणले आफू अध्यक्षको उम्मेदवार हुन चाहेको उनको भनाइ थियो । पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको नेतृत्व लिन सदस्यता नवीकरण गरे पनि ओलीले त्यसलाई स्थगित गरेका थिए ।

पोखरेललाई पूर्व राष्ट्रपति भण्डारीको समर्थन, अरू को-को छन् आकांक्षी ?

सदस्यता नवीकरण भएको भए भण्डारीले नै ओलीविरुद्ध उम्मेदवारी दिने तयारी थियो । भण्डारीको सदस्यता नवीकरण स्थगित गरेपछि उनको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका हुन् ।

भण्डारी पक्षका नेताहरूको पटक-पटक भएको छलफलबाट पोखरेललाई ओलीसँग प्रतिस्पर्धामा उतार्ने तयारी छ । उनले आफ्नो प्यानल बनाउने गृहकार्य समेत सुरु गरेका छन् । वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठ खुलिसकेका छन् ।

त्यस्तै, बिन्दा पाण्डे पनि पोखरेलको पक्षमा उभिएर उम्मेदवारी दिने तयारी गरेकी छन् । पोखरेलको प्यानलबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे उम्मेदवारी बन्ने चर्चा छ। महासचिवका लागि सचिवद्वय भट्टराई र विष्ट आकांक्षी छन्। बिन्दा पाण्डेले सचिवमा उम्मेदवारी दिने नेताहरूको भनाइ छ। महाधिवेशनमा ज्ञवाली र शाक्यले उम्मेदवारी दिने रुचि देखाएका छैनन् । भण्डारीको ‘ब्याकअप’ मा पोखरेल पक्षले सकेसम्म सबै पदमा उम्मेदवारी दिने जनाएको छ।

ओलीको टिममा पुरानै अनुहार

संस्थापन पक्षबाट अध्यक्षका लागि ओली आफैँ तयार भइसकेका छन्। उपाध्यक्षमा विष्णु पौडेल पुनः उम्मेदवारी दिने तयारी रहेको जनाइएको छ भने महासचिवमा शंकर पोखरेल नै दोहोरिने चर्चा छ। उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा आकांक्षा देखाएका छन्। महासचिवमा पोखरेल दोहोरिए ज्ञवाली र गुरुङलाई उपाध्यक्षमा बढोत्तरी गर्ने हुन सक्ने नेताहरूको भनाइ छ।

उपमहासचिव विष्णु रिमाल पनि बढोत्तरी चाहेका छन्। पूर्व माओवादी पृष्ठभूमिका उपाध्यक्ष रामबहादुर थापा र सचिव लेखराज भट्टलाई पनि ओलीले व्यवस्थापन गर्नुपर्ने छ । एक जना महिला उपमहासचिव बनाउँदा सचिव पद्मा अर्यालको सम्भावना छ । सचिवका आकांक्षीहरुमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराई छन् । 

ओली पक्षबाट को-को कुन पदमा उम्मेदवार हुने भन्ने ओलीबाटै निश्चित हुनुपर्ने देखिन्छ। नेताहरू ओलीको निर्णय कुरेर बसेका देखिन्छन्। 

२५१ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी १५ जनामात्रै

भदौ तेस्रो साता भएको विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ समेत २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । एघारौँ महाधिवेशनमा यी पदमा प्रतिस्पर्धा हुनेछ ।

‘केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने अर्थात् अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो बरीयताको पदाधिकारी हुने व्यवस्था लोकतान्त्रिक प्रणालीको मर्म विपरीत’ भएको भन्दै ईश्वर पोखरेल रहेको वरिष्ठ उपाध्यक्ष पद विधान महाधिवेशनले खारेज गरेको थियो । केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरिएको छ ।

पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहने छ । २५१ को एक तिहाइ ८४ सदस्यीय पोलिट ब्युरो हुने  छ । महाधिवेशनमा स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिट ब्युरोमै थन्किने छन् । १५ सदस्य पदाधिकारीका लागि ठुलो प्रतिस्पर्धा हुनेछ । एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ।

पोखरेल भन्छन्- अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छु।

११औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी:

तपाईँ आगामी महाधिवेशनका लागि अध्यक्षको उम्मेदवार हो ?

हाम्रो पार्टीमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुँदै आएको छ । मैले पनि अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने तयारी गरेको छु ।

अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लाग्नु भएको हो ?

मेरो अध्यक्षका लागि प्रतिस्पर्धा कुनै व्यक्ति विशेष तोकेर होइन । अध्यक्ष पदका लागि हो । त्यसबेला अध्यक्षमा को को उम्मेदवार हुनुहुन्छ, उहाँहरुसँग प्रतिपर्धा हुनु स्वभाविक हो । पार्टीको विधिमा रहेर प्रतिस्पर्धा गर्नुलाई अन्यथा मान्नुहुँदैन ।

यो प्रतिस्पर्धामा पूर्व राष्ट्रपति विद्या भण्डारीले तपाईँलाई साथ दिनु भएको भनिन्छ नि ?

विद्या भण्डारीले समर्थन हुन्छ नै । अरु सबै साथीहरुको पनि समर्थन हुन्छ भन्ने विश्वास छ ।

विगतमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका व्यक्तिहरु माधव नेपाल, झलनाथ खनाल, भीम रावल पार्टीमा नटिकेको उदाहरण छ नि ?

जुनसुकै पदमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भनेर अध्यक्ष केपी ओलीले पनि बैठकमा भन्नुभयो । उहाँले प्रतिस्पर्धाबाट आउने परिणामलाई सहज रुपले स्विकार गर्नुपर्छ भन्नु भएको हो । प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिएर परिणामलाई स्विकार गर्नुपर्छ ।

तपाईँको नेतृत्वमा प्यानलनै बनाएर प्रतिस्पर्धा गर्नुहुन्छ ?

मैले अध्यक्षका लागि प्रतिस्पर्धा गर्छु भनेको छु । अरु को-कोलाई के-के पदमा प्रतिस्पर्धा गर्न मन लागेको होला । त्यसमा प्रतिस्पर्धा गर्नुहुन्छ । अहिले प्यानल बनिसकेको छैन ।

गंगा

Link copied successfully