सुरु भएन कांग्रेस बैठक, महाधिवेशनको विषय अझै अन्योलमा

राष्ट्रियसभा उम्मेदवार मनोनयनका लागि निर्वाचन आयोगमा सभापति देउवा कि कार्यवाहक सभापति खड्काको नाम पठाउने भन्ने विषय समेत पछिल्लोपटक पेचिलो बन्दै छ । 

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Congress meeting does not begin, general convention issue still in doubt

What you should know

काठमाडौँ — फागुन २१ को निर्वाचन अगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादका कारण पटक–पटक स्थगित गर्दै शनिबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । 

दिउँसो १ बजे बैठक बोलाइए पनि महाधिवेशनको विषयमा अझै सहमति नहुँदा अन्योल कायमै छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सानेपा पुगेका छन् । तर, सहमति जुटाउने अन्तिम कसरतमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का जुटिरहेकाले बैठक सुरु हुन ढिलाइ भइरहेको एक केन्द्रीय सदस्यले बताए ।

सभापति शेरबहादुर देउवा पुस मसान्तभित्रको नियमित महाधिवेशनका लागि ‘सर्त’ सहित तयार भएका छन् । पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने तर असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर विशेष महाधिवेशन माग गरिएको निवेदन फिर्ता लिनुपर्ने सर्त अघि सारेका छन् । 

विशेष महाधिवेशन पक्षधरले भने नियमित महाधिवेशन गरेमा स्वतः विशेष महाधिवेशनको माग निस्तेज हुने भन्दै फिर्ता लिन मानिरहेका छैनन् । संस्थापन पक्षले महाधिवेशन गर्ने नियत नभई तालिका मात्रै ल्याएर पन्छाउन खोजेको भन्दै विशेष महाधिवशन पक्षधरहरुले निवेदन फिर्ता गर्ने ससर्त अस्वीकार गर्दै आएका हुन् । यसैमा सहमति नहुँदा बैठक सुरु हुन ढिलाइ भइरहेको छ । 

पार्टीका अर्का एक पदाधिकारीका अनुसार सहमति नभए पनि राष्ट्रियसभा निर्वाचनका लागि दल दर्तासम्बन्धी निर्णय लिनका लागि एकछिन भए पनि बैठक सुरु हुने बताए । राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समय मंसिर ७ गते आइतबारसम्मका लागि राखिएको छ । 

महाधिवेशनको मुद्दाले पार्टीभित्र चरम विवाद भइरहेका बेला दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति खड्काको नाम पठाउने भन्ने विषयमा समेत पेचिलो बहस भएको छ । देउवाले असोज २८ को बैठकमा उपसभापति खड्कालाई कार्यवाहक सभापति सुम्पेर सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका थिए । 

पार्टी बैठकका अनुपस्थित रहेपनि कांग्रेसभित्रको निर्णय प्रक्रियामा देउवाले निवासबाटै आफ्नो सक्रियता देखाएका छन् । संस्थापन पक्षका अधिकांश नेताहरु सभापति देउवाकै नाम निर्वाचन आयोगमा पठाउनुपर्ने पक्षमा देखिएका छन् ।

‘व्यक्तिगत रुपमा सभापतिज्यु आफैले कार्यवाहक सभापतिको नाम प्रस्ताव गर्नुभयो भने बेग्लै कुरा भयो, नत्र सभापतिको नाम पठाउन हुन्न भनेर कसले भन्ने ?’ देउवा निकट एक पदाधिकारीले भने,‘सम्भवतः सभापतिकै नाम पठाउने निर्णय हुन्छ ।’ 

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न सम्बन्धित दलको केन्द्रीय कार्यकारणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नुपर्ने व्यवस्था छ । सभापति देउवा व कार्यवाहक सभापति खड्का कसको नाम निर्वाचन आयोगमा पठाउने भन्ने विषय नै कांग्रेसभित्र नयाँ विवाद सिर्जना हुने देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ख्डका निकट नेताहरुले सभापति देउवाले सक्रिय राजनीति छाडेको सन्देश दिइसकेकाले कार्यवाहक सभापतिकै नाम तोक्नुपर्ने पक्षमा छन् । 

‘आजको बैठकले निर्वाचन आयोगमा उम्मेदवार मनोनयनका चिठी दिन कसको नाम पठाउने भन्नेबारेमा जे निर्णय गर्छ, त्यसले कांग्रेसको महाधिवेशनको मुद्दामा सहमति हुने वा नहुने भन्ने निर्धारण गर्ने देखिन्छ,’ खड्का निकट एक केन्द्रीय सदस्यले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully