एमाले महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्दै

एमालेले पहिलो पटक प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन गर्ने

मंसिर ४, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुने ११औँ महाधिवेशनको तयारीका लागि एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ। महाधिवेशनका लागि राजनीतिक, आर्थिक र प्राविधिक तयारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार हुनेछ भने महासचिव शंकर पोखरेलको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयार हुनेछ। त्यस्तै, आर्थिक विभागले महाधिवेशनमा लाग्ने बजेट र अरू विभागले सम्बन्धित तयारी गर्ने जिम्मा दिइसकेको छ।

‘महाधिवेशनको सबै आवश्यक तयारीका विषयमा बैठकमा छलफल हुँदै छ, ’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने। एमालेले पहिलो पटक प्रत्येक निर्वाचन क्षेत्रबाट चारमध्ये एक ४० वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि बनाइसकेको छ। जेन-जी आन्दोलनपछि युवाको सहभागिता बढाउन दबाब भएकाका कारण ४० वर्ष मुनिका युवा समेट्ने निर्णय गरेको हो।

प्रतिनिधि चयन विधिमा चारमध्ये एक युवा महाधिवेशनमा सुनिश्चित गरेको हो।  हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पहिलो १२ सय सदस्यबाट ४ (एक महिला, एक ४० वर्ष मुनिको युवा र २ खुल्ला) रहने, ८ सय सदस्यबाट थप एक प्रतिनिधिका दरले छनोट गर्ने विधि छ।

प्रदेश कमिटीबाट कम्तीमा २ महिलासमेत ५ का दरले ४५ जना, विशेष जिल्ला कमिटी ११ बाट ४७, प्रवास ३० जना, केन्द्रीय कार्यालय र ३२ विभाग १/१ का दरले ३३, जनसंगठन २३ (महासंघबाट ७ र अन्यबाट ५ का दरले) १२७ र दलित (जिल्ला निर्वाचक मण्डल) ८१ महाधिवेशन प्रतिनिधि चयन हुने छन्।

कान्तिपुर संवाददाता

Link copied successfully