'बूढाहरू मिलेर एकताबद्ध भयौं भनेर बाहिर शक्ति देखाउने मात्र हो । पार्टीमा फुट आउनु नौलो कुरा नभए पनि जेन-जी आन्दोलनपछि नेताहरूको दलबदल रमाइलो छ ।'- प्राध्यापक ठानबहादुर क्षेत्री
काठमाडौँ — जेन-जी आन्दोलन र निर्वाचन घोषणा भएपछि दलहरूमा पुनर्संरचनाको बहस तीव्र भएको छ भने नेताहरू दलबदल र नयाँ दल गठनमा लागेका छन् । जेन-जी आन्दोलन र चुनावी माहोल सुरु भएसँगै दलहरूको एकता, नेताहरूको दलबदल, नयाँ दल गठनले तीव्रता पाएको छ ।
फागुन २१ मा हुने चुनावको कार्यतालिका आएपछि कतिपय नेताहरू घर फर्किएका छन् । पुराना र नयाँ दलहरूको गठन/पुनर्गठन हुनुमा जेन-जी आन्दोलनको प्रभाव परेको छ । दलहरू बाहिरी रूपमै भए पनि नयाँपन दिने कसरत सुरु गरेका छन् ।
तत्कालीन माओवादी केन्द्रका दुई पदाधिकारी बाहिरिए पनि नेकपा (एकीकृत समाजवादी) बाट तीन पदाधिकारीले फरक बाटो रोजे । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई चर्चित नेताले पनि पार्टी त्याग गरी फरक धार रोजेका छन् । त्यस्तै जनमत, नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन आएको छ ।
उपमहासचिव, सचिव राम कार्की, नेता सुदन किराँती पार्टी एकता प्रक्रियामा गएनन् । उनीहरूले ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन् । अभियानमार्फत् उनीहरूले राजनीतिक अभियान सुरु गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मा उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, सचिव विजय पौडेललगायत नेताहरू माओवादीसहितको एकता प्रक्रियामा गएनन् । उनीहरूले एकीकृत समाजवादीलाई पुनर्गठन गरी व्यापक वाम एकताको पक्षमा अघि बढ्ने घोषणा गरेका छन् ।
प्रगतिशील अभियानका जनार्दन शर्मा, भुसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्दले साझा मोर्चा बनाउने र मुलुकमा सुशासन, भ्रष्टाचारविरुद्ध अभियान, कृषि उत्पादन, रोजगारी सिर्जना गर्ने विषयमा अभियान चलाउने सहमति गरेका छन् । शर्मा, भुसाल र चन्दले पुराना दलका अहिलेको नेतृत्वबाट युवाहरूको अपेक्षाअनुसार काम गर्न नसक्ने भन्दै नेतृत्व हस्तान्तरण मुद्दा अघि सारेका छन् ।
माओवादीबाट २०७३ मा बाहिरिएका तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईले स्थापना गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जनार्दनको प्रगतिशील अभियान र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व मुख्य सचेतक सन्तोष परियारसँग पार्टी एकताका लागि सहमति गरेको छ । परियारले शुक्रबार रास्वपा त्यागेका थिए । ‘प्रगतिशील’ लोकतान्त्रिक पार्टी बनाउने तीन पक्षबीच समझदारी भएको छ ।
अभियानका संयोजक सुदन किराँती, नयाँ शक्तिका संयोजक दुर्गा सोब र परियारले हस्ताक्षर गरेको सहमतिपत्रमा निर्वाचनका लागि दल निर्माण गर्ने उल्लेख छ ।
‘एकता तथा ध्रुवीकरणका लागि नयाँ बने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउन सहमति जनाउँछौं । मंसिर ७ गते व्यापक एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं,’ तीन नेताको सहमतिपत्रमा भनिएको छ, ‘देश तथा विदेशमा बसेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेन-जी युवालाई व्यापक राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौं ।’
निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अघि बढाएको नेतृ मानुषी यमी भट्टराईले बताइन् । ‘युवा पुस्ताको नेतृत्वमा प्रगतिशील, लोकतान्त्रिक मूल्य–मान्यता स्वीकार गर्ने पार्टी बनाउँछौं,’ उनले भनिन् ।
बाबुराम र जनार्दनको ‘ब्याकअप’ मा बन्ने यो मोर्चाले अन्य नयाँ दलसँग एकता र सहकार्यका संवाद गरिरहेको अर्का नेताले जानकारी दिए । ‘वैकल्पिक राजनीतिक शक्तिका लागि यो सुरुआत हो । अरू नयाँ राजनीतिक शक्तिसँग पनि एकता र सहकार्यका लागि छलफल भइरहेको छ,’ ती नेताले भने ।
नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पनि माओवादीसँगको एकता प्रक्रियामा गइनन् । महासचिव घनश्याम भूसालतिर पनि लागिनन् । माओवादीसँग हुने एकता र भूसालको व्यापक वाम एकताप्रति उनलाई विश्वास भएन । अन्ततः उनी एमालेमै फर्किइन् ।
आफ्नो रगत–पसिनाले बनेको एमालेमा फर्कनु उत्तम विकल्प ठानेकी झाँक्रीले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालको नेतृत्व स्वीकार गर्नु आफ्नो राजनीतिक जीवनकै ठूलो गल्ती भएको बताउन थालेकी छन् । ‘पार्टीभित्र आन्तरिक लोकतन्त्रको पक्षमा उभिँदा–उभिँदै माधव नेपालको नेतृत्वमा पुगेकी थिएँ । यो मेरो राजनीतिक जीवनकै ठूलो गल्ती थियो,’ उनले भन्न थालेकी छन् ।
जेन-जी आन्दोलनको प्रभाव गत आम निर्वाचनमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि पर्यो । रास्वपा नेता एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जेन-जी आन्दोलन भएको ६ दिनपछि भदौ २९ मा पार्टी त्याग गरेकी थिइन् । हाल उनी जेन-जी आन्दोलनको बलमा बनेको सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नजिक रहेर सरकारलाई सघाइरहेकी छन् ।
त्यस्तै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यही साता पार्टी छाडेर अर्को पार्टी गठनको तयारीमा लागेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी उपमहासचिव जनार्दन शर्मासँग पार्टी गठनको तयारीमा छन् । समाजवादउन्मुख लोकतान्त्रिक पार्टी बनाउने उनको तयारी छ ।
माओवादीबाट अलग भएका भंगालाहरू पुरानो घर फर्कने क्रमसँगै बाहिरिने पनि छन् । त्यसको नेतृत्व शर्मा र पूर्व सचिव राम कार्कीले गरेका छन् । उनीहरूले प्रगतिशील अभियानमार्फत् व्यापक वाम ध्रुवीकरणसहित प्रगतिशील, लोकतान्त्रिक पार्टी गठनको तयारीमा छन् । नेत्रविक्रम चन्दले नेतृत्व गरेको कम्युनिस्ट पार्टी नेपालका नेता चिरन पुन असोज दोस्रो साता माओवादीसँगको एकतामा सामेल भए । उनीसँगै कर्णजीत बुढा पनि नेकपा छाडेर माओवादीतिरै लागे ।
नेताहरूको दल अदल-बदल उम्मेदवारी दर्ता हुने दिनसम्म चल्ने छ । नेताहरू राजनीतिक विचार र सिद्धान्तका आधारमा भन्दा आफ्नो राजनीतिक भविष्यलाई ध्यानमा राखेर दल अदल-बदल गरेका छन् ।
जनमतबाट उपाध्यक्ष दीपक साह बाहिरिएका छन् भने नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले अर्को दल गठन गरेका छन् । उनको दलले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।
लोकतन्त्रका अभिन्न अंग दल भएकाले तिनीहरूको गठन, पुनर्गठन, दल अदल–बदल स्वाभाविक हुने विश्लेषकको भनाइ छ । पीएन क्यम्पस पोखराका राजनीतिशास्त्रका प्राध्यापक ठानबहादुर क्षेत्रीले जेन जी आन्दोलनपछि दलहरूले पुस्तान्तरणबारे न्याय नगरेको बताए ।
‘पार्टीहरूले इन्टर–जेनेरेसन ग्यापलाई जस्टिस दिन सकेनन् । बूढाहरू मिलेर एकताबद्ध भयौं भनेर बाहिर शक्ति देखाउने मात्र हो,’ उनले भने, ‘पार्टीमा फुट आउनु नौलो कुरा नभए पनि जेन-जी आन्दोलनपछि नेताहरूको दलबदल रमाइलो छ । उनीहरूले चुनाव घोषणा भइसकेकाले जित–हारको हिसाब–किताब पनि गरेको हुनुपर्छ ।’
