एमालेसँग समेत एकता सम्भावना रहेको नेता ज्वालाको भनाइ
नेपालगन्ज — नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता प्रकाश ज्वालाले व्यापक संगठन विस्तार तथा गोलबद्व भएर कार्यकर्तालाई अगाडि बढ्न आह्वान गरेका छन्।
आइतबार कोहलपुर-११ स्थित सहिद स्मृति भवनमा पार्टी एकतापछि पहिलोपटक कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेकपा एमालेसँग समेत वर्तमान परिस्थितिमा एकता सम्भावना रहेको उल्लेख गर्दै कुनै भ्रममा नपरी गोलबद्व हुँदै अघि बढ्न आग्रह गरे ।
नेता ज्वालाले नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको माटो, हावापानी र अपनत्वअनुरूप मूल प्रवाहको पार्टीका रूपमा नामकरण गरिएको बताए । अबको राजनीतिक विकल्प यही पार्टी हुने दाबी उनको थियो । उनले कार्यकर्तालाई नाम र चुनाव चिह्नप्रति कुनै भ्रममा नपर्न आग्रह गर्दै भने, ‘रातो पाँच–कुने तारा कम्युनिस्टहरूको मूल पहिचान हो, यही नै हाम्रो गौरव र चिनारी हो ।’
उनले पूर्ण संकल्पसहित एकताबद्ध भएर एउटै ध्येयसहित अघि बढ्नुपर्नेमा जोड दिँदै अब विश्वका अन्य कम्युनिस्ट पार्टीहरूजस्तै चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी, नेपालमा पनि ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेकाले सबै सच्चा कम्युनिस्टहरू यही छातामुनि एकजुट हुनुपर्ने अपिल गरे ।
