बागमती कांग्रेस प्रदेश बैठक : पूर्वमुख्यमन्त्री बहादुरसिंह लामानिकट सबै सांसद अनुपस्थित

बैठकमा लामा पक्षका १४ जना प्रदेशसभा सदस्य उपस्थित भएनन् । गत साउनमा लामालाई इन्द्रबहादुर बानियाँको नेतृत्वले मुख्यमन्त्रीबाट हटाएपछि उनीहरूबीच दूरी बढेको थियो ।

कार्तिक ३०, २०८२

ऋषिराम पौड्याल

Bagmati Congress provincial meeting: All MPs close to former Chief Minister Bahadur Singh Lama absent

What you should know

काठमाडौँ — बागमती कांग्रेस प्रदेश समितिले शुक्रबार र शनिबार नगरकोटमा आयोजना गरेको बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामापक्षका  प्रदेशसभाका सबै सदस्यहरू अनुपस्थित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षमा भएको बैठकमा प्रदेससभा सदस्यहरूलाई पनि आमन्त्रण गरिएको थियो ।

तर उक्त बैठकमा लामा पक्षका १४ जना प्रदेशसभा सदस्य उपस्थित भएनन् । गत साउनमा लामालाई बानियाँको नेतृत्वले मुख्यमन्त्रीबाट हटाएपछि उनीहरूबीच दूरी बढेको थियो । 

तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामालाई गत साउनमा हटाएर बानियाँ कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । दलको नेता बनेपछि बानियाँले मुख्यमन्त्रीबाट उनलाई हटाएका थिए । लामा ०७९ को निर्वाचनपछि संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए । त्यतिबेला पनि बानियाँ र लामाबीच नै दलको नेतामा प्रतिस्पर्धा भएको थियो । लामाले जितेपछि दलको नेता र मुख्यमन्त्री बनेका थिए । तर गत साउनमा लामालाई मुख्यमन्त्री र दलको नेताबाट हटाएका थिए । त्यतिबेला बानियाँले २२ र लामाले १४ मत प्राप्त गरेका थिए ।

कांग्रेसको प्रदेशसभा सदस्य ३७ जना थिए । आफूलाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट अनाहकमा जबर्जस्ती हटाएको भन्दै आक्रोश पोखेका थिए । नगरकोट बैठकमा लामालाई संसदीय दलमा मत खासाल्ने १४ जना प्रदेशसभा सदस्य अनुपस्थित भएका हुन् । पार्टीको प्रदेश समितिले प्रदेशसभा बैठकमा विकास योजनाका बारेमा छलफल गर्न प्रदेशसभाका सदस्यहरू, मन्त्री र १३ जिल्लाका पार्टीका जिल्ला सभापतिहरूको संयुक्त बैठक बोलाएको थियो । पूर्वमुख्यमन्त्री लामाले भने आफू अरु नै काममा जानुपरेकाले बैठकमा जान नभ्याएको बताए । 'प्रदेशसभा सदस्यहरूले बैठकका बारेमा सोध्नु भएको थियो । मैले त तपाईंहरूको विचार मेरो फुर्सद छैन भनेको थिएँ । को-को जानु भयो ? को-को जानु भएन ? थाहा भएन,’ उनले भने । बैठकमा  सहभागी एक सांसदले लामा पक्षले योजनाबद्ध रूपमै बैठक बहिष्कार नै गरेको बताए । 

लामा पक्षका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले कान्तिपुरसँग भने, ‘बैठकको बारेमा परामर्श र छलफल नभएकाले सबै जना नगएको हो ।’ बैठकमा सहभागी सिन्धुपाल्चोकका कांग्रेस सभापति जंगबहादुर लामाले प्रदेशसभा सदस्यहरू न्यून संख्यामा उपस्थित भएको जानकारी दिए । 

लामा र बानियँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् । मुख्यमन्त्रीबाट हटाएपछि अहिले लामाले केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशन हुनुपर्ने माग राखेका छन् । उनले बैठकमा प्रश्न गरेका थिए, ‘मलाई मुख्यमन्त्रीबाट हटाउन २४ घण्टामा सकिने, मंसिरमा महाधिवेशन गर्न किन नसकिने ?’ लामाले संसदीय निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने माग गरे पनि बानियाँले भने प्रस्ट धारणा राखेका छैनन् । 

नगरकोट बैठकमा प्रदेशका दुई तिहाई सदस्य तथा पदाधिकारीले विशेष वा नियमित जे भए पनि महाधिवेशन चुनावअगावै हुनुपर्ने बताएका थिए । एक पदाधिकारीका अनुसार प्रदेश समिति र जिल्ला सभापति गरी ५५ जनाले बोलेकोमा ३२ जनाले विशेष वा नियमित जे भए पनि निर्वाचअगावै हुनुपर्ने बताएका थिए । १५ जनाले महाधिवेशनको कुरै उठाएनन् भने ८ जनाले निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने भनाइ राखेका थिए । भक्तपुरका सभापति दुर्लभ थापा, सिन्धुलीका सभापति उपेन्द्र पोखरेल तथा रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छाराम) ले निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने धारणा राखेका थिए । बैठकमा रसुवा र काभ्रेबाहेक ११ जिल्लाका सभपातिको उपस्थिति थियो । 

कांग्रेस प्रदेश समिति सदस्य कुमार दुलालले बैठकको निर्णयको माइन्युट भने नगरिएको जानकारी दिए । दुलालका अनुसार बैठकका केही सहभागीले पूर्वमुख्यमन्त्री लामा अनुपस्थित भएको विषयमा कुरा उठाएका थिए । दुलालले भने, ‘सभापतिज्यूले माइन्युट पछि गर्ने भन्नुभएको छ ।’ प्रदेश सभापति तथा मुख्यमन्त्री बानियाँले भने महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने विषयमा प्रवेश नै नगरेको सहभागीले बताए । एक सहभागीले भने, ‘बानियाँले महाधिवेशन केन्द्रले निर्णय गर्ने विषय भएकाले यसमा धेरै कुरा नबोलौं भनेका थिए ।’

ऋषिराम पौड्याल

Link copied successfully