कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूको उपस्थितिमा उपसभामुख बबिता राउत इसरले चौरमै बैठक गरेकी हुन् । चौरमा लहरै सांसद पलेँटी कसेर बसेका थिए ।
What you should know
जनकपुर — एमाले नेता सरोजकुमार यादवको नेतृत्वमा गठित मधेश सरकार असंवैधानिक भएको र सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको भन्दै आन्दोलनमा रहेका ७ दलले शनिबार प्रदेशसभा सचिवालयको चौरमा ‘संसद् बैठक’ चलाएका छन् ।
कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरूको उपस्थितिमा उपसभामुख बबिता राउत इसरले चौरमै बैठक गरेकी हुन् । चौरमा लहरै सांसद पलेँटी कसेर बसेका थिए ।
उपसभामुख इसर भने अगाडि टेबल राखेर कुर्सीमा बसेकी थिइन् । बैठकमा उपसभामुख इसरले सभामुख मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव अघि बढ्ने बताइन् । लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै सभामुखले पदमुक्त गरेका ५ सांसदको कारबाही फिर्ता लिएको जानकारी उनले दिइन् ।
चौरमा गरिएको प्रदेशसभा बैठकलाई एमालेले ‘तमासा’ भन्दै आलोचना गरेको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलले भने सभामुख मण्डलले प्रदेशसभा बैठक कक्षमा ताल्चा लगाएर उपसभामुख र सांसदलाई उपेक्षा गरेकाले चौरमा बैठक गर्नुपरेको तर्क गरेका छन् । ‘उपसभामुखले बैठक कक्षमै संसद् चलाउन खोज्नुभएको थियो,’ जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले भने, ‘तर त्यहाँ ताल्चा लगाइयो, साँचो बोकेका कर्मचारीलाई प्रदेशसभा बाहिर पठाइयो ।’
प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा केन्द्रित आन्दोलन भने प्रदेशसभातिर सरेको छ । सभामुख मण्डलको विरुद्धमा बिहीबार अपराह्न पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गराउन प्रदेशसभा सचिवालय पुगेका सात दलका सांसदमाथि मण्डलले कुटपिट र दुर्व्यवहार गरेको आरोप छ । सभामुख मण्डलले भने उपसभामुखको कार्यकक्षमा रहेका सात दलका सांसदसँग उक्त दिन आफ्नो भेट पनि नभएको बताउँदै आएका छन् ।
२४ कात्तिकमा बिहान झिसमिसेमै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथग्रहण गराएकी थिइन् । बिरामी भन्दै जनकपुरस्थित सरकारी निवासबाट निस्केकी भण्डारीले बर्दिबासको कालापानीस्थित पानस कटेजमा मुख्यमन्त्री यादवलाई शपथ खुवाएकी थिइन् । मुख्यमन्त्रीमा यादवको नियुक्ति कानुन उल्लंघन गरेर भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । रिटमाथि आइतबार संयुक्त इजलासमा बहस हुने कार्यतालिका छ ।
सात दलले शनिबार प्रदेशसभा सचिवालय नजिक प्रदर्शनसमेत गरेका थिए । जनकपुर मत्स्यपालन केन्द्रअगाडिको हटियामा भेला भएका सात दलका नेता नाराबाजी गर्दै प्रदेशसभामा पुगेका थिए । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिरै रोकेका थिए । मधेशमा गत सातादेखि राजनीति गतिरोध उत्पन्न भएकाले दलहरूबीच परामर्श गर्न प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शनिबार आह्वान गरेको सर्वदलीय बैठकमा सात दल गएनन् ।
कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले संविधान मिचेर बनाइएका मुख्यमन्त्री सामेल कुनै पनि बैठकमा आफूहरू सहभागी नहुने बताए । ‘प्रदेश प्रमुखलाई मुख्यमन्त्री सहभागी बैठकमा नआउने अग्रिम सूचना गरेको थिएँ,’ झाले भने, ‘एमालेका अरू नेता सहभागी भए, हामी पनि बैठकमा जान्छौं । मुख्यमन्त्री भए जान्नौं ।’
यता, मुख्यमन्त्री यादवले शनिबार बिहान प्रदेशवासीको नाममा सम्बोधन गर्दै सात दलको आन्दोलनका कारण आफू र सभामुख मण्डललाई सुरक्षा चुनौती रहेको बताए । ‘सुरक्षा निकायले चुनौती रहेकाले सीमित कार्यक्रममा मात्र जान मलाई बिफ्रिङ गरेको छ,’ मुख्यमन्त्री यादवले भने, ‘जनताबाट त होइन, आन्दोलनकारीबाट नै होला सुरक्षा थ्रेट ।’ मुख्यमन्त्री यादवले शनिबार नै सुरक्षा निकायका अधिकारीसित छलफलसमेत गरेका थिए ।
बिहीबार सात दलका संसदीय दलका प्रमुख सचेतक एवं सांसदले प्रदेशसभा सञ्चालनमा दलीय स्वार्थ राखेको भन्दै सभामुख मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रदेश सचिवालयमा बुझाएका थिए । त्यस क्रममा सभामुख मण्डल र सांसदबीच हात हालाहाल भएको थियो । उपसभामुख राउतले प्रस्तावमा तोक लगाए पनि प्रदेशसभा सचिवालयका कर्मचारीले दर्ता गर्न आलटाल गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।
कार्यालय समय सकिएको, कर्मचारी नरहेको र विद्युत् आपूर्ति बन्द रहेको भन्दै प्रदेशसभा सचिवालयका कर्मचारीले प्रस्ताव दर्ता गर्न आलटाल गरेका थिए । करिब ६ बजे सभामुख मण्डल आफ्ना केही समर्थकसहित प्रदेशसभा सचिवालयमा प्रवेश गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो । त्यसपछि सभामुख मण्डलले नियमित १० वटा बैठकमा उपस्थित नभएको भन्दै नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनीषकुमार सुमन, सञ्जयकुमार साह, सिंहासन साह कलवार र शारदाशंकरप्रसाद कलवार गरी पाँच सांसद पदमुक्त भएको सूचना जारी गरेका थिए ।
