मतदाता नामावली संकलनले मात्रै चुनाव हुँदैन : गुरुङ

भावक हुँदै गुरुङले भने, ‘भाडामा बस्छु भन्दासमेत जलाउने डरले डेरा गरेर बस्न दिइएन । दिदीबैनी र भाइबुहारीको सहयोगमा बसेको छु ।’

कार्तिक २९, २०८२

आश गुरुङ

लमजुङ — एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् पुनःस्थापना नभएसम्म आगामी निर्वाचन असम्भव भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल लमजुङ शाखाले शनिबार बेंसीसहरमा गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले चुनावका लागि आवश्यक वातावरण निर्माण गर्न पूर्णतः असफल भएको आरोप लगाए । ‘यो सरकारले फागुन २१ गते चुनाव गराउन सक्दैन, मतदाता नामावली संकलनले मात्रै चुनाव हुँदैन’, उनले भने, ‘संसद्  पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठन गर्ने र जेनजीका मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरेरमात्रै चुनाव सम्भव छ ।’

उनका अनुसार जेन-जी आन्दोलनका क्रममा लुटिएका हजारौं हतियार, लाखौं गोली तथा कैदीबन्दी अझै नियन्त्रणबाहिर छन्, जसले शान्तिपूर्ण र भयरहित चुनावी वातावरण बन्न सकेको छैन । ‘अपराधी समूहका हातमा हतियार रहँदा कसरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ ?,’ उनले प्रश्न उठाए ।

जेन-जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला आएका गुरुङले जेन-जी आन्दोलनलाई मोहरा बनाएर कम्युनिस्ट, गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिमाथि योजनाबद्ध हमला गरिएको दाबी गरे । उनले वर्तमान सरकारलाई ‘संविधानलाई कोमामा पुर्‍याएर निर्माण गरिएको, विदेशी शक्तिको अनुकूलमा चलेको’ भन्दै कडा आलोचना गरे । 

चीनविरुद्ध लड्न अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको र त्यसकै प्रभावमा पूर्व सरकारले दबाब भोगेको आरोप पनि उनले लगाए ।

उनले एमाले नेतृत्व सरकारले सञ्जाल बन्द नभई नियमन गर्न खोजेको पुनः दोहोर्‍याए । ‘नेपालमाथि आक्रमण गर्न खोजिएकै कारण उक्त विषयलाई निहुँ बनाइयो,’ उनले भने । 

जेन-जी आन्दोलनका मूल माग सुशासन र भ्रष्टाचार अन्त्यका लागि भए पनि पछिल्ला घटनामा निजी, सार्वजनिक तथा राष्ट्रिय संरचनामा गरिएको तोडफोड देशका लागि नभएको उनले बताए । उनले हिंसात्मक गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।

एमाले जिल्ला कमिटी लमजुङले शनिबार बेंसीसहरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाट संन्यास लिने घोषणा गरे । ‘छोराबुहारीको कमाइ र ऋणधनमा बनेको घर जलाइयो, लुगा र भाँडाकुँडासमेत केही बाँकी छैन । श्रीमती र बुहारीका सुन लुटिए,’ भावक हुँदै उनले भने, ‘भाडामा बस्छु भन्दासमेत जलाउने डरले डेरा गरेर बस्न दिइएन । दिदीबैनी र भाइबुहारीको सहयोगमा बसेको छु ।’ 

उनले भ्रष्टाचार गरेको भए खुला रुपमा भन्न चुनौती दिए । ‘मेरो घर जलाउनु जेन-जीको माग थिएन,’ उनले भने ।

एमाले र कांग्रेस मिलेर स्थिर सरकार बनाएको र आन्तरिक शक्तिले सरकार ढाल्न नसकेपछि बाह्य शक्तिले विध्वंश मच्चाएको उनको आरोप छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully