मंसिरभित्रै नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन गर्नुपर्ने कांग्रेस गण्डकीको निर्णय ।
What you should know
पोखरा — गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्ताले निर्वाचनअगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा अडान लिएका छन् । उनीहरूले चुनावअगाडि सम्भव भएसम्म नियमित अधिवेशन नभए विशेष अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।
कांग्रेसको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गरेको विशेष भेलामा बोल्ने अधिकांश नेता एवं कार्यकर्ताले केन्द्रीय समितिको अवधि पूरा भइसकेकाले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने माग गरे । मुलुकको वर्तमान परिस्थिति, नेपाली कांग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशन सम्बन्धमा छलफल गर्न आयोजित भेलामा उनीहरूले कांग्रेसलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरे ।
कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले नयाँ नेतृत्व, नयाँ विचार, नयाँ नीति र कार्यक्रमसहित आमनिर्वाचनमा जानु सबैभन्दा उत्तम विकल्प हुने बताए । ‘निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्थ्यो तर गर्ने लक्षण छैन,’ उनले भने, ‘नियमित अधिवेशन पनि नगर्ने, विशेष अधिवेशन गर्ने बाटो पनि बन्द गर्ने हो भने कांग्रेसको भविष्य रहँदैन ।’ उनले शेरबहादुर देउवाको आफ्नो इच्छाले भन्दा पनि विभिन्न समूहको आग्रहले चुनावपछि महाधिवेशन गर्ने बाटोतिर लैजान खोजिएको आरोप लगाए ।
नवलपुर कांग्रेस सभापति महेन्द्रध्वज जीसीले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेको अवस्थामा विधानतः रोक्न नमिल्ने तर्क गरे । ‘बैठकमा महामन्त्रीले महाधिवेशन तालिका प्रस्तुत गर्दा पार्टी कब्जा गर्न खोजेको भनियो,’ उनले भने, ‘महामन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्दा पार्टी कब्जा गरेको हुँदैन । त्यति हामी पनि बुझ्छौं । कुनै लेघ्रो तान्न जरुरी छैन । सिधैं विशेष महाधिवेशनमा जानुपर्छ ।’
कांग्रेसका गोरखा सभापति नन्दु न्यौपानेले चुनावअघि नयाँ नेतृत्व चयन गरेर जान सकेको खण्डमा कांग्रेसप्रति जनताको भरोसा बढ्ने दाबी गरे । महासमिति सदस्य विष्णुकुमार कँडेलले तुरुन्तै महाधिवेशन नगरी आमनिर्वाचनमा जान नसकिने बताइन् । सत्तामा रहँदा नेतृत्वले गरेका गतिविधि, भ्रष्टाचारको आरोप लागेको र पारदर्शिता नभएकाले कांग्रेस नेता–कार्यकर्ता खुसी नरहेको उनले सुनाइन् । ‘विभिन्न कारणले गर्दा नेपाली कांग्रेसको विश्वास गुमेको छ । विश्वास दिलाउनका लागि महाधिवेशनको आवश्यकता छ,’ उनले भनिन्, ‘महाधिवेशनबिना फागुन २१ को चुनावलाई फेस गर्न सक्दैनौं ।’
कांग्रेस कास्कीका सचिव भानु ढकालले विगत लामो समय कांग्रेस सरकारमा रहँदा ढिलासुस्ती, भ्रष्टाचार, मनोमानी र जनतामा वितृष्णा रहेको बताए । ‘तर कार्यकर्ताले यो झूटो हो भनिरह्यौं, नेतालाई जोगायौं, जनताको आवाज सुनेनौं,’ उनले भने, ‘त्यही परिस्थितिले भदौ २३ र २४ को घटना हुन पुग्यो ।’ केन्द्रीय समितिले नियमित महाधिवेशनको प्रक्रिया थालनी गर्नुको सट्टा महाधिवेशन टार्न प्रदेश र जिल्लामा गुटगत भेला राखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘२३ र २४ भदौको घटनापछि विशेष परिस्थिति आएकाले विशेष महाधिवेशन आवश्यक छ,’ उनले भने, ‘देउवाकै नेतृत्वमा विशेष महाधिवेशन हुनुपर्नेमा उहाँले त्यसलाई छलेर उपचारका नाममा सिंगापुर पुगेर पर्दापछाडि खेल खेल्नुभयो ।’ 
कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती तिमिल्सिनाले कांग्रेसको एक महिना लामो बैठक चलिरहँदा २३ र २४ भदौको आन्दोलनलाई हेर्ने दृष्टिकोणप्रति मौनता साँधेकामा आश्चर्य प्रकट गरिन् । उनले अझै पनि संसद् पुनर्स्थापना हुने र चुनाव नहुने भ्रम कांग्रेस नेतामा रहेको भन्दै चुनावका लागि तयारी अवस्थामा रहन आग्रह गरिन् । उनले चुनावअघि नै पार्टीको महाधिवेशन गर्नुपर्नेमा जोड दिइन् ।
गोरखा २ ‘क’ का कांग्रेस सभापति दीर्घ गुरुङले लामो समयदेखि पार्टी नेतृत्व गरिरहेका व्यक्तिलाई बोकेर चुनावमा जान सक्ने स्थिति नरहेको सुनाए । महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेलले पार्टी फुट्ने भ्रम फैलाएर महाधिवेशन टार्न खोजिएको आरोप लगाए । ‘यो नेतृत्व परिवर्तन गर्नुपर्ने युवाको माग छ,’ उनले भने, ‘पार्टी महाधिवेशन गर्दा पार्टी कमजोर हुन्छ, फुट्छ भनेर कार्यकर्तालाई अल्मल्याउने काम गर्नुहुँदैन ।’ कांग्रेसका प्रदेश सदस्य आशिक गुरुङले महाधिवेशनपछि पनि यिनै नेता दोहोरिनसक्ने खतरा रहेको औंल्याउँदै ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गरिनुपर्ने विचार राखे । महासमिति सदस्य चेतन पौडेलले युवालाई जन्म दिने तर जिम्मेवारी नदिने परिपाटीले कांग्रेस पछि परेको बताउँदै युवा सहभागितामा समयमै विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।
भेलामा प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रीय समितिको बैठक एक महिनासम्म बस्दा पनि कुनै निर्णय नहुनु दुःखद रहेको बताए । उनले अवधि पुगेपछि महाधिवेशन गर्नु नियमित प्रक्रियाभित्र पर्ने भए पनि एक घण्टामा हुने निर्णय गर्न एक महिना लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । विगतमा माओवादी, एमालेसँग मिलेर जानु गल्ती भएको जनतासमक्ष स्विकार गर्नुपर्ने धारणा उनले राखे ।
कांग्रेस गण्डकीको शनिबारको भेलाले समेत मंसिर महिनाभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने निर्णय गरेको छ । कांग्रेसको स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिको पदावधि समाप्त हुन लागेको वर्तमान अवस्थामा नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा बहस हुनु दुर्भाग्य भएको भन्दै यसै विषयलाई लिएर करिब एक महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्न नसकेकाले अन्योलको वातावरण बनेको निर्णयमा उल्लेख छ ।
‘नेपाली कांग्रेसले वर्तमान अवस्थाबाट सुध्रेर नयाँ परिवर्तित अवस्थाको कांग्रेस बनेर आगामी निर्वाचनमा जनताका साथ जानुपर्ने टड्कारो खाँचो रहेकाले आगामी मंसिर महिनाभित्र १५ औं महाधिवेशन गर्नुपर्दछ भन्ने यो भेला ठहर गर्दछ,’ निर्णयमा भनिएको छ, ‘यदि कुनै कारणवश नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टीको विधानबमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशन यही मंसिर मसान्तभित्र अनिवार्य गर्नुपर्दछ भन्ने यो भेला ठहर गर्दै केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गर्दछ ।’
यसअघि बिहीबार पोखरामै गण्डकी प्रदेशमा कांग्रेसका संस्थापन र सिटौला पक्षधरले समेत भेला आयोजना गरेका थिए । भेलामा उपस्थित अधिकांश नेता तथा कार्यकर्ताले भने चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।
