चुनावबारे राजनीतिक दलहरूको तयारी के छ ?

विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले तोकिएकै समयमा निर्वाचन हुनेबारे ‘संशय’ व्यक्त गरे पनि सार्वजनिक र आन्तरिक तयारीमा जुटेका छन्।

कार्तिक २७, २०८२

गंगा बीसी

What are the political parties' preparations for the elections?

What you should know

काठमाडौँ — फागुन २१ मा घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन थालेका छन्। विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले तोकिएकै समयमा निर्वाचन हुनेबारे ‘संशय’ भए पनि सार्वजनिक र आन्तरिक तयारीमा जुटेका छन्।

नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बुधबार मतदाता नामावलीमा दर्ता गर्न आम मतदातालाई भिडियो सन्देशमार्फत् आग्रह गरे। जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की सरकार निर्माणमा प्रत्यक्ष जोडिएका दाहाल र उनको पार्टीले चुनावको तयारी गर्न तल्ला समितिहरूलाई लिखित निर्देशन दिइसकेको छ।

उनले पूर्व एमाले अध्यक्ष भीम रावलसँग एकता घोषणा कार्यक्रममा बुधबार आफ्नो पार्टी निर्वाचनको वातावरण बनाउन सबैभन्दा सक्रिय रहेको बताए। ‘निर्वाचनको वातावरण बनाउन सबैभन्दा अगाडि नेपाली कम्युनिस्ट पार्टी छ। सरकारले यो कुरा हेक्का राखोस्,’ उनले भने, ‘सरकारले राम्रोसँग बुझोस्। तपाईंहरूको निर्वाचन घोषणालाई सकारात्मक वातावरण बनाउने पार्टी र नेताहरूलाई अपमान नगरियोस्।’

कांग्रेसले निर्वाचनमा जान सकारात्मक भए पनि औपचारिक निर्णय गरेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा छन्। तर कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनमा जाने विषयमा कुनै अलमल नभएको बताएका छन्।

‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ महामन्त्री थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेकाले निर्वाचनमा जानेबारे औपचारिक निर्णय गरेको छैन। संस्थापन पक्ष र महामन्त्रीद्वय थापा र शर्मा पक्षको द्वन्द्वका कारण निर्वाचनमा जानेबारे निर्णय हुन नसकेको हो। दाहालले नेतृत्व गरेको नेकपाले केन्द्रमा एकता प्रक्रिया सकिएलगत्तै प्रदेश र जिल्ला समितिहरू समायोजनपछि निर्वाचनमा होमिने जनाएको छ।

माओवादी, एकीकृत समाजवादीसहित साना–ठूला गरी ११ घटक मिलेर बनेको नयाँ नेकपाले कांग्रेस, एमालेभन्दा अघि सरेर निर्वाचनको वातावरण बनाउन सरकारलाई साथ दिएको छ। यद्यपि सरकारले चलाउन खोजेको भ्रष्टाचारविरोधी अभियान आफूतिर सोझिन सक्ने भन्दै संयोजक दाहाल र सह–संयोजक नेपाल सशंकित देखिएका छन्।

जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी ओलीको सरकारलाई विस्थापित गरेपछि उत्साहित भएका दाहालले एकतापछि आफ्नो दलको विरुद्ध माहोल नजाओस् भन्ने बुझाइ राखेका छन्। उनका हरेक भाषणमा निर्वाचनको पक्षमा धारणा राख्दै आएका छन्। 

‘निर्वाचनले नै मुलुकलाई सही दिशामा लैजान्छ’ भन्दै आफ्नो दल तयारीमा लागिसकेको सचिवालय सदस्य पम्फा भुसालले बताइन्। ‘हामीले हरेक जिल्लामा मतदाता नामावली लेखाउन जनतालाई जानकारी र सघाइरहेका छौँ,’ उनले भनिन्, ‘प्रदेश र जिल्लाको एकता हुनासाथ प्रतिनिधिसभाका उम्मेदवारबारे छलफल र छनोट प्रक्रिया सुरु हुनेछ।’

एमालेले पहिलो मुद्दाका रूपमा प्रतिनिधिसभा पुनर्स्थापनालाई अघि सारेको छ। जेन-जी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरी त्यही आन्दोलनको बलमा कार्की सरकार बनेकाले एमाले सहजै निर्वाचनमा जान सक्ने अवस्थामा छैन। भदौ २३ को घटनाबारे जाँचबुझ आयोगले पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुसन्धान सोझ्याएकाले एमाले सशंकित छ। तर ओली स्वयंले ‘एमाले निर्वाचनबाट भाग्ने दल होइन’ भनेर बताइसकेका छन्।

‘मुखमा प्रतिनिधिसभा पुनर्स्थापना, आन्तरिक रूपमा निर्वाचनको तयारी’ एमालेको अहिलेको रणनीति भएको एक नेताले बताए। ‘जेन-जी आन्दोलनको बलमा बनेको सरकारले घोषणा गरेको निर्वाचनलाई सहजै समर्थन गर्नुको अर्थ हुन्छ—एमाले कमजोर अवस्थामा छ,’ ती नेताले भने, ‘त्यसैले प्रतिनिधिसभामा दोस्रो शक्ति पुनः आर्जन गर्न पनि संसद् पुनर्स्थापनालाई मुख्य जोड दिनुपर्छ। यसको अर्थ एमालेले निर्वाचनको तयारी नगरेको भन्ने होइन। संगठन तयारीमा जुटिसकेका छन्।’

प्रतिनिधिसभा विघटनपछि एमालेले देशव्यापी ‘जनजागरण अभियान’ सुरु गरेको छ। मंगलबार उसले सात सय पालिकामा जागरणसभा गरेको छ। सबै पालिकामा खटिएका केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा पुनर्स्थापनालाई मुख्य मुद्दा बनाएका थिए। उनीहरूले स्थानीय कमिटीको बैठकमा ‘फागुन २१ मा निर्वाचन नभए पनि त्यसपछि कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी गर्न’ निर्देशन दिएका थिए।

मंगलबार (कात्तिक २५) मा पालिकामा जागरण सभा गरेर एमालेले सँगसँगै निर्वाचन तयारी थालेको छ। कात्तिक २९ मा सबै जिल्लामा र मंसिर ६ मा काठमाडौंमा जागरण सभा हुने छ।

जनजागरण अभियानसँगै उसले भविष्यमा कुनै पनि बेला निर्वाचन हुन सक्ने भन्दै निर्वाचन आयोगमा दल नवीकरण, मतदाता सूचिकरणका साथै ‘मिसन राष्ट्रिय निर्णायक शक्ति’ निर्माणका लागि तयारी गरिरहेको छ। निर्वाचन आयोगले मंसिर १० भित्र पहिलेनै दर्ता भइसकेका दलहरूलाई निर्वाचन प्रयोजनका लागि निवेदन पेश गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको छ। त्यही कार्यतालिकाभित्र एमालेले निवेदन दिने निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताए।

‘हामी प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई प्राथमिकतामा राखेको भए पनि निर्वाचनसम्बन्धी प्रक्रियामा सहभागी हुन्छौँ,’ उनले भने, ‘आयोगको निर्वाचन कार्यतालिकाबाट एमाले छुट्दैन। निर्वाचन प्रयोजनका लागि निवेदन पनि दिन्छौँ।’

भदौ २४ मा आगजनीमा परेको ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय मर्मत भइरहेकाे छ। बुधबारदेखि महासचिव शंकर पोखरेलले जलेको भवनबाट कार्यकक्षका काम सुरु गरेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कार्यालयबाट पार्टीका सबै काम सञ्चालन हुने उल्लेख गर्दै एमालेले निर्वाचनको वातावरण बनाउन र संसद् पुनर्स्थापनाका लागि दबावमूलक अभियान चलाइरहेको बताए।

‘सरकारलाई चुनावको वातावरण बनाऊ भनेका छौँ। हाम्रो पार्टीले चुनावमा नजाने भनेको छैन। एमालेले जुनसुकै परिस्थितिका लागि आफूलाई तयार राख्छ,’ उनले भने, ‘राजनीतिक दल र नेतामाथि प्रतिशोध गरेर निर्वाचनको वातावरण बन्दैन।’

संसद् पुनर्स्थापना गर्नुपर्ने एमालेको प्राथमिकता भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर जेन-जीको मुद्दा संविधान संशोधनसहित अघि बढ्न सक्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले कात्तिक २३ मा सौराहामा भएको विस्तारित बैठकले निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ। उसले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनका लागि दलहरू र अन्य सरोकारवालासँग घनिभूत रूपमा संवाद गर्न, सुरक्षासहित प्राविधिक बन्दोबस्तीका तयारीमा लाग्नका लागि सरकार थप गम्भीर हुनुपर्ने आग्रह गरेको थियो।

त्यस्तै जनता समाजवादी पार्टीलगायत मधेश केन्द्रित दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति लगायत निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलहरू पनि निर्वाचनको तयारी थालेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत विशेषगरी मधेश प्रदेशमा संगठन विस्तारमा केन्द्रित भएका छन्।

गंगा

Link copied successfully