‘शक्तिका लागि कहिले एमालेसँग, कहिले माओवादीसँग मिल्यौं, यो गलत थियो । गठबन्धन बन्न हुन्न भन्ने आफ्नै सैद्धान्तिक मान्यताविपरीत सभापतिले निर्णय लिँदा पनि केही नगरी बसेकामा मेरो गल्ती भयो ।'
What you should know
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले इच्छाशक्ति भएमा निर्वाचनअगाडि नै पार्टीको महाधिवेशन गर्न सकिने बताएका छन् ।
केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले नियमित महाधिवेशनका लागि कोही तयार नभएपछि अब विशेष महाधिवेशनमै अघि बढ्नुपर्ने धारणा राखे ।
पार्टीलाई आम सुधार नगरी निर्वाचनमा जाँदा नागरिकले विश्वास नगर्ने भन्दै पार्टीको महाधिवेशन अनिवार्य गरेर मात्रै जानुपर्ने उनले बताए । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोल्दै थापाले पछिल्लोपटक पार्टीमा सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकतामा राख्दा विचलन बढेको र नवयुवाहरु आक्रोशित भएको धारणा राखेका थिए ।
निर्वाचनअगाडि पार्टीभित्रको आन्तरिक विषयमा प्रवेश गर्न नहुने भनेर संस्थापनपक्षले लिइरहेको अडानको प्रतिवाद गर्दै थापाले भने, ‘सधैंभरि महाधिवेशन पार्टीको आन्तरिक विषय हुँदैन । यो राष्ट्रिय विषय हो । महाधिवेशनले व्यापक छलफल गर्छ । अब पुरानै कांग्रेस होइन, सच्चिएर आएको कांग्रेस हो भनेर भन्न सकिन्छ । सच्चिएर जाँदा मात्रै आम नागरिकले विश्वास गर्न सक्छन् ।’
थापाले महाधिवेशनमा सबैभन्दा पहिला कांग्रेसले आफूले विगतमा गरेका गल्तीको प्रायश्चित्त गर्ने बताए । ‘गलत गर्यौं भन्छौं, स्वीकार गर्छौं,’ उनले भने, ‘कांग्रेसले कस्तो पोजिसन लिने भन्ने कुरा हो । कांग्रेस इतिहासमा गौरव गर्छ । अधिवेशनले पार्टीका संरचनामा, नयाँ युवाको प्रवेशमा सुधार गर्ने उनको भनाइ थियो । 'शक्ति सबैभन्दा ठूलो हो भन्ने ठाउँबाट सिद्धान्त ठूलो कुरा हो भन्ने कुरा स्थापित गर्छौं,’ उनले भने ।
पार्टीमा व्यापाक सुधार नगर्ने र नेताहरु नसच्चिने हो भने भदौ २३ को जस्तो आन्दोलन फेरि पनि हुन सक्ने महामन्त्री थापाले बताए । ‘शक्तिका लागि हामी कहिले एमालेसँग, कहिले माओवादीसँग मिल्यौं । यो गलत थियो,’ उनले भने, ‘अब पार्टीमा शक्ति होइन, सिद्धान्त प्रधान हुन्छ भन्ने कुरा प्रमाणित गर्नुछ ।’
थापाले विगतमा आफूबाट दर्जंनौ गलत भएको भन्दै त्यी घटनाबाट पाठ सिकेर अघि बढ्ने बताए । ‘भदौ २३ को घटना कुनै पनि बेला हुन्छ भन्ने अनुमान गरेकै हो ।संसद्मा खबरदारी गरेकै हो । भदौमा नभए मंसिरमा हुन्थ्यो, मंसिरमा नभए माघमा हुन्थ्यो,' थापाले भने, ‘तर बहुमतको निर्णय मान्दै गर्दा मैले गल्ती गरेँ । मैले लड्नुपर्थ्यो । निर्णय गर्न दिनु हुन्थेन । सबै तागत लगाउनुपर्थ्यो । त्यसमा गल्ती भएकै हो । म स्वीकार्छु ।’
उनले ०७९ को निर्वाचनअगाडि माअोवादीसँगको गठबन्धन गर्ने कुरामा आफूले असहमति प्रकट गरेको स्मरणसमेत गरे । ‘माओवादीसँगको झुकावले तलका मतदातालाई असर गर्छ भनियो । गठबन्धन गर्न हुँदैन भनियो । तर, त्यही गठबन्धनमा गएर चुनाव लडेँ, मैले गल्ती गरेको हो,’ थापाले भने, ‘गठबन्धन गर्न हुन्न भनिसकेपछि चुनाव लड्न हुन्थेन ।’
थापाले कांग्रेस र एमालेको गठबन्धन बन्न हुन्न भन्ने आफ्नै सैद्धान्तिक मान्यताविपरीत सभापतिले निर्णय लिँदा पनि केही नगरी बसेकामा आफ्नो गल्ती भएको बताए । ‘दहीचिउरा खाएर दुई दलबीच गठबन्धन हुँदा मैले सञ्चारमाध्यमबाट थाहा पाएको हो । त्यसपछि सभापतिलाई यो पार्टी तपाईको प्राइभेट कम्पनी हो भनियो । पछि निर्णय भइसक्यो भनेर मानियो । तर, अहिले पछाडि फर्केर हेर्दा नमान्नुपर्थ्यो, नेता बदल्छु भन्नुपर्थ्यो,’ उनले भने ।
सरकार गठन भइसकेपछि केही समय सफल बनाउन खोजिए पनि सरकारका गलत निर्णय र बेथितिका कारण संयन्त्र छाडेको उनको भनाइ थियो ।विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरिसकेपछि आफू उच्चस्तरीय राजनीतिक संयन्त्रमा जान छाडेको थापाले प्रस्ट्याए । ‘यो एउटा व्यक्तिको कुरा थिएन, राज्य प्रणालीको विषय थियो,’ उनले भने ।
