२१ दल दर्ता प्रक्रियामा, पाँच नयाँ दलले प्रमाणपत्र पाए

निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय २६ पुगेको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले बताए ।

कार्तिक २७, २०८२

राजेश मिश्र

Five new parties receive certificates in 21 party registration process

What you should know

काठमाडौँ — निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्तामा पनि चाप देखिएको छ । प्रतिनिधिसभा निर्वाचनको घोषणा भएयता पाँच वटा नयाँ राजनीतिक दल दर्ता भइसकेका छन् । त्यसबाहेक २० वटा नयाँ र एकीकरण प्रक्रियाबाट आएको एउटा दल पनि दर्ता प्रक्रियामा छन् । पुराना पार्टीहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहित विभिन्न दल एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टी दर्ता प्रक्रियामा छ । आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार एकीकरण भएर आएका सहित २१ वटा दल दर्ताका निवेदन विचाराधीन छन् । 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने दिन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल थपिने क्रम बढेको हो ।

२३ र २४ भदौको जेन–जी आन्दोलनपछि धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सहभागी रहेको दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी तथा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ । नागरिक उन्मुक्ति पार्टी, नेपालले बुधबार दर्ता प्रमाण पत्र पाएको हो । 

त्यस्तै, निर्वाचन घोषणापछि दुई वटा राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर गठन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ । योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय २६ पुगेको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले बताए । यसअघि आयोगमा दर्ता रहेको वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको दर्ता भने खारेजी भएको छ । गौतमले आफ्नो दललाई एकीकृत समाजवादी पार्टीमा एकीकरण गराएका थिए । 

त्यस्तै, कुलमान घिसिङको समर्थन रहेको अनुप उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी, अजयकुमार राई नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल दर्ता प्रक्रियामा छ । नवराज सुवेदी नेतृत्वको जनयुग पार्टी, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्द नेतृत्वको नेपाल राष्ट्रिय युवा पार्टी र योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी, रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा प्रक्रिया बढाएका छन् । 

राजकुमार कक्षपतिले नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), सुन्दरराम बोहराले आवाज पार्टी, गणेशकुमार मण्डलले सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाले नागरिक बचाउ दल, नेपाल तथा अकबर खानले राष्ट्र निर्माण दल नेपाल दर्ताका लागि निवेदन दिएका छन् । त्यस्तै, सर्वोच्चका बारका सचिव रमणकुमार कर्णको जनादेश पार्टी नेपाल र प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी पनि दर्ता प्रक्रियामा छन् । 

राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईका अनुसार कानुनले तोकेका प्रक्रिया पूरा गरिसकेका दलहरूले दल दर्ताको प्रमाणपत्र पाइसकेका छन् । दर्ताका लागि आएका अन्य दलका कागजातहरूको अध्ययन केन्द्रीय समिति र सदस्यहरूको सनाखतको काम जारी रहेको उनले बताए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully