जेन–जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका १४ हजार ५५४ कैदीमध्ये हालसम्म ९ हजार ४४१ जना फिर्ता भइसकेका छन् भने ५ हजार १३ अझै फरार छन् ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेको गृह मन्त्रालयले जनाएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार जेन–जी आन्दोलनको क्रममा १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको छ ।
उनले भने, ‘भाद्र २३ र २४ का घटनामा देशका विभिन्न कारागारबाट १४ हजार ५ सय ५४ कैदीबन्दी फरार भएका थिए । हालसम्म ९ हजार ४ सय ४१ जना फिर्ता ल्याइसकिएको छ । अहिले ५ हजार १३ जना पक्राउ गर्न बाँकी छन् । तिनीहरूलाई हामीले पटक पटक सूचना निकालेर आत्मसमर्पण गर्न आग्रह पनि गरेका थियौँ ।'
उनले देशभरका कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताए । उनले फरार कैदीहरूको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएको समेत जानकारी दिए ।
उनले फरार कैदीको खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षा तहमा विशेष अपरेसन समेत जारी रहेको बताए । उनले फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिँदै सरकार ती चुनौती परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत बताए ।
'फरार कैदी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिई सरकार गम्भीरतापूर्वक अगाडि बढेको छ । सम्पूर्ण चुनौतीहरूलाई परास्त गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा सरकार विश्वस्त छ । यसमा सर्वसाधारणलगायत सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।’
उनले जेन–जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्रसहित निःशुल्क उपचारको व्यवस्था मिलाइएको समेत बताए । उनले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार आवश्यक गृहकार्यमा लागेको पनि बताए ।
