मतदाता नामावलीमा नाम चढाउन बढ्यो चाप, समय पाउन मुस्किल

‘तपाईंले छान्नु भएको स्थान र समयको लागि तोकिएको संख्या(एप्वान्टमेन्ट कोटा) सकिएको छ, कृपया अन्य पायक पर्ने स्थान छान्नुहोला,’ भन्ने म्यासेजले फोटो खिचाउन चाहनेहरु हैरान, १ लाख ८५ हजार ९ सय १३ नयाँ मतदाता थपिए।

कार्तिक २५, २०८२

राजेश मिश्र

Pressure to add names to voter list increases, finding time difficult

What you should know

काठमाडौँ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि तोकेको ३० कात्तिकको समयसीमा नजिकिँदै गर्दा मतदाता नामावलीका लागि नाम दर्ता गराउने, फोटो खिचाउनेहरूको चाप बढेको छ । फोटो खिचाउन चाहने नयाँ मतदाताहरुले त्यसका लागि समय पाउन मुस्किल परेको छ । 

आयोगको वेबसाईटमार्फत मतदाता नामावलीका लागि अलनाइनमा व्यक्तिगत विवरण भरिसकेपछि फोटो खिचाउन सम्पर्क स्थान छान्दा समय नपाइरहेको गुनासो बढेको छ । त्यस्तो समस्या सबैभन्दा बढी जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा गएर फोटो खिचाउन चाहनेले भोगिरहेका छन् । काठमाडौंपछि ललितपुर र भक्तपुरमा पनि समय खोज्दा पनि नपाइएको निर्वाचन कार्यालय काठमाडौं बाहिर भेटिएका सिनामंगलका युवराज गिरीले बताए ।

‘तपाईंले छान्नु भएको स्थान र समयको लागि तोकिएको संख्या(एप्वान्टमेन्ट कोटा) सकिएको छ, कृपया अन्य पायक पर्ने स्थान छान्नुहोला,’ मतदाता नामावालीका अनलाइन फर्म भर्नेहरुले आफ्नो कम्प्युटर स्क्रिनमा पटक–पटक यस्तो म्यासेजको सामना गर्नु परिरहेको छ । पटक–पटकको प्रयासपछि पनि सफलता हात नलागेकहरु साइबरको भर परिरहेका छन् । काठमाडौं निर्वाचन कार्यालय अगाडिका साइबरहरुमा लामबद्ध भीड देखिन्छ । आफूले भर्दा कुनै बेला के मिलेन, कुनै बेला कोटा छैन भनेपछि साइबरबाटै अनलाइन फर्म भर्न खोजेको बानेश्वरकी अंकिता पौडेलले उल्लेख गरिन् ।

Pressure to add names to voter list increases, finding time difficult

सरकारले कानुनमा संशोधन गरेर मतदाता नामावलीमा नाम लेखाउनका लागि विशेष व्यवस्था गरेको हो । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम लेखाउन पाइदैनथ्यो । २३ र २४ भदौको जेनजी आन्दोलन पछाडि बनेको सरकारले मतदाता नामावाली ऐनमा संशोधन गरेर छुटेकाहरुलाई नाम लेखाउन अवसर दिएको हो । असोज–९ अध्यादेशमार्फत् ऐन संशोधन भएपछि असोज–१२ बाट आयोगले देशैभर मतदाता नामावली संकलन कार्य थालेको हो । 

२४ कात्तिक सम्म १ लाख ८५ हजार ९ सय १३ जना नयाँ मतदाता थपिएका छन् । कानुनमा संशोधन पछि फोटो खिच्न थालेपछि प्रारम्भिको दिनका तुलनामा नाम दर्ता गराउन आउनेको संख्या सरदर दैनिक ३/४ गुनाले बढेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सुरू सुरूमा दैनिक ५/६ हजारका संख्यामा नयाँ मतदाता थपिएका थिए । अहिले त्यो संख्या बढेर दैनिक २०–२२ हजार पुगेको उनले उल्लेख गरे । अन्तिम समयमा काम गर्ने बानीका कारण एकैचोटी चाप बढेको उनले उल्लेख गरे ।

Pressure to add names to voter list increases, finding time difficult

आयोगको तथ्यांक अनुसार देशैभर २४ कात्तिकमा २२ हजार २ सय ९१ जनाले मतदाता परिचपत्रका लागि फोटो खिचाएका छन् । त्यसको अघिल्लो दिन १६ हजार ९ सय ३७ जनाले फोटो खिचएका थिए । एक साता अगाडि त्यो संख्या ५ देखि ६ हजारमा सिमित थियो । क्रमशः बढ्दै आएर दैनिक १० हजारबाट अहिले २० हजार नाघेको भट्टराईले बताए । ‘एकैचोटी चाप बढेकाले केही समस्या देखिएको हो,’ उनले भने ‘आयोगले यसलाई समाधान गर्दै आएको छ ।’ उनले चाप देखिएका स्थानमा कोटा थप्नेदेखि, उपकरण र जनशक्ति पनि थपिएको जानकारी दिए । 

सबैभन्दा बढी चाप काठमाडौंमा देखिएको छ । यहाँ दैनिक फोटो खिचाउनेको संख्या २ हजार हाराहारी छ । कार्यालय प्रमुख ठाकुर भट्टराई चाप बढेपछि राति अबेरसम्म काम गरिएको बताउँछन् । सोमबार १ हजार ९ सय २० र आइतबार १ हजार ६ सय १० जनाले फोटो खिचाएका छन् । एक सता अगाडिसम्म दैनिक ७ सय देखि एक हजार संख्यामा मानिसहरु फोटो खिचाउन आउने गरेकोमा अहिले त्यो संख्या दोब्बर पुगेको उनले उल्लेख गरे । गत महिना ३ वटा कम्प्युटरबाट थालिएको काम अहिले ८ वटा कम्प्युटर त्यही अनुपातमा थपिएका कर्मचारीबाट गर्दा पनि भ्याइ नभ्याइ भएको उनले बताए । 

Pressure to add names to voter list increases, finding time difficult

अनलाइन अप्वाइन्टमेन्ट नपाउने सबैभन्दा गुनासो यही कार्यालयलाई लिएर छ । कार्यालय प्रमुख भट्टराई दैनिक कोटा थप्दै लगेको बताउँछन् । चाप बढेकाले सर्भर डाउन भएका बेला अनलाईन फर्मसमेत भर्न रोकिने गरेको छ । त्यही भएर फेरि फेरि प्रयास गर्नुपर्ने उनले बताए । 

आयोगका प्रवक्ता भट्टराईले पनि सबैभन्दा बढी चाप काठमाडौंमा देखिएको बताए । उनले काठमाडौंमा समय नपाउँदा भक्तपुर र ललितपुर निर्वाचन कार्यालयमा समय हेर्नुपर्ने सुझाउँछन् । २० फागुनमा १८ वर्ष पुगेका व्यक्तिले मात्रै २१ फागुनमा हुने निर्वाचनमा मतदान गर्न पाउने भएकाले अहिलेलाई त्योभन्दा कम उमेर हुने मानिसलाई अनलाइन फर्म नभर्न उनले आग्रह गरे । ‘मतदाता नामावलीमा नाम लेखाउने कार्य वर्षै दिन चलिहन्छ,’ उनले भने, ‘२१ फागुनको निर्वाचनको अघिल्लो दिनसम्म कसैको उमेर १८ वर्ष पुग्दैन भने अहिले फोटो नखिचाए हुन्छ । त्यसले पनि चापलाई घटाउँछ ।’ मतदाता नामावलीमा फोटो खिचाउन सकभर सबैले अवसर पाउने भन्ने उद्देश्यले देखिएको चापलाई व्यवस्थित गर्न आवश्यक सहजिकरण भइरहेको उनले दाबी गरे ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully