‘कम्युनिस्ट’ फुर्को लगाएकै १६ दल, नाम पनि मिल्दाजुल्दा

नाममा सामान्य हेरफेर वा नामका पछिल्तिर फुर्को जोडेर भए पनि कम्युनिस्ट दल दर्ता गर्ने प्रतिस्पर्धा रोकिएको छैन ।

कार्तिक २२, २०८२

राजेश मिश्र

16 parties that have adopted the 'communist' slogan, even with similar names

What you should know

काठमाडौँ — एक दर्जनभन्दा बढी कम्युनिस्ट पार्टीहरू निर्वाचन आयोगमा दर्ता रहेकै बेला त्यस्तै नाम भएका थप दुई दल पनि सूचीमा थपिने तयारीमा छन् । पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टी नेपाल गरी दुई नयाँ कम्युनिस्ट पार्टी आयोगमा दर्ता हुने प्रक्रियामा छन् । यसअघि नै आयोगमा दर्ता भएका १ सय २५ दलमध्ये १४ को नाममा ‘कम्युनिस्ट’ शब्द पनि राखिएको छ ।

मूल राजनीतिक विचार र दर्शन एउटै भए पनि नाममा ‘कम्युनिस्ट’ को फुर्को जोडेरै अन्यभन्दा भिन्न रहेको देखाउने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तिनीहरूमध्ये केहीले ‘मार्क्सवादी लेनिनवादी’ त कसैले ‘मार्क्सवादी’ मात्रै लेखेरसमेत आफूलाई भिन्न देखाउने प्रयास गरेका छन् ।

नेकपा विवादमा सर्वोच्चको आदेश थियो– ‘कानुनले स्पष्ट रूपमा मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै कामकारबाहीलाई अनुमति प्रदान गर्न मिल्दैन । जुन कामकुरा कानुनले प्रत्यक्ष रूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्ष रूपमा समेत गर्न पाइँदैन’ २००६ मा पुष्पलाल श्रेष्ठले पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनी यसका संस्थापक महासचिव पनि हुन् । तर, त्यसयता उक्त पार्टी धेरै पटक फुट्ने र जुट्ने तथा कम्युनिस्ट नाममा नयाँ दल पनि खुल्ने क्रम निरन्तर चल्दै आएको छ । हालै मात्र नेत्रविक्रम चन्दले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । यसअघि नै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेकाले पनि चन्दले आफ्नो पार्टीको नाम फरक देखाउन ‘नेपाल’ शब्दलाई पुछारमा लगेका छन् । त्यस्तै माओवादी र एकीकृत समाजवादीलगायतका दलले पनि एकीकरणपछि नयाँ पार्टीको नाम त्यस्तै मिल्दोजुल्दो हुने गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ राखेका छन् । उस्तै नाम राखेको विषयमा प्रश्न उठेपछि नेता वर्षमान पुनले आयोगसँगको परामर्शमै पार्टीको नाम चयन गरिएको दाबी गरेका थिए । तर, आयोगका एक जना आयुक्तले भने यस विषयमा आयोगका तर्फबाट कुनै सल्लाह सुझाव नदिइएको बताउँछन् ।

सात वर्षअघि एमाले र माओवादी एकीकरणपछि नयाँ दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ राखिएको थिए । कट्टेलको दलसँग भिन्न बनाउन कोस्टमा ‘नेकपा’ थप्दै २३ जेठ २०७५ मा नयाँ दल दर्ता गरिएको थियो । त्यसपछि आफ्नो पार्टीसँग हुबहु नाम मिलेको भन्दै कट्टेल आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए । सर्वोच्चले कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता रहेको अवस्थामा उस्तै नामको अर्को पार्टी दर्ता नहुने फैसला सुनाएको थियो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अक्षरको उच्चारण र त्यसबाट बुझिने अर्थमा भिन्नता नरहेको भन्दै त्यसलाई अलग–अलग भन्न नसकिने ठहर गरेको थियो । सर्वोच्चको उक्त फैसलाले एमाले र माओवादीबीचको एकता नै खारेज भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१)(ङ) मा दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने उल्लेख छ । त्यसैलाई आधार मानेर सर्वोच्चले भनेको थियो, ‘अक्षरको उच्चारण र अभिव्यक्त भएपश्चात् त्यसबाट बुझ्ने अर्थमा कुनै सारभूत भिन्नता देखिएन । भिन्नता महसुस हुन्छ, हुँदैन त्यो नै महत्त्वपूर्ण कुरा हुने भएकोले त्यसतर्फ हेर्दा भिन्नता नदेखिई मिल्दोजुल्दो देखिन आयो । कानुनले स्पष्ट रूपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै कामकारबाहीलाई अनुमति प्रदान गर्न मिल्दैन, जुन कामकुरा कानुनले प्रत्यक्ष रूपमा गर्न पाइँदैन भनेको छ, सो कुरा अप्रत्यक्ष रूपमा समेत गर्न पाइँदैन ।’


राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ६(१)(ङ) को कानुनी प्रावधान : ‘दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने’
सर्वोच्चको उक्त फैसलापछि पनि नाममा सामान्य मात्रै परिवर्तन गरेर वा फुर्को जोडेर दर्ता गर्ने क्रम रोकिएको छैन । राजनीतिक विश्लेषक खगेन्द्र प्रसाईं नेपालमा ‘कम्युनिस्ट’ शब्दावली लोकप्रिय भएकाले पनि यसलाई छोड्न नचाहेको बताउँछन् । ‘कम्युनिस्ट पार्टीबाट अलग भएका वा छुट्टिएकाहरू जसले कम्युनिस्ट शब्दसँग आफूलाई टाढा राखे तिनलाई जनताले खासै अनुमोदन गरेको देखिँदैन,’ उनी भन्छन्, ‘जनताको मत आकर्षित गर्न पनि पार्टीहरूले नाममा कम्युनिस्ट शब्द राखिरहन चाहेको देखिन्छ ।’

सर्वोच्चको आदेशपछि पनि आयोगले कडाइ नगर्दा मिल्दोजुल्दो नाम राखेर दल दर्ता गर्ने क्रम रोकिएको छैन । नयाँ दल दर्ता गर्न निवेदन दिन आयोग पुगेका चन्द नेतृत्वको दलका नेतालाई कर्मचारीले उस्तै नाम भएको बताउँदै सर्वोच्चको फैसला नै पढेर सजग गराएका थिए । तर, ती नेताले नाम फरक रहेको भन्दै जिकिर गरिरहे । राजनीतिक दल महाशाखाका एक जना अधिकृतले अक्षरमा हेरफेर वा शब्दलाई अगाडि पछाडि गरेर पार्टी दर्ता गराउन आउनेलाई नाममा सुधार गर्न सुझाव दिँदा पनि नमान्ने गरेको बताए । ‘दर्ताको सबै प्रक्रिया पूरा गरेर आयोगसमक्ष प्रस्ताव गर्छौं,’ उनले भने, ‘यसबारे अन्तिम निर्णय आयोगले नै लिने हो ।’ आयोग भन्नाले प्रमुख आयुक्त तथा आयुक्तहरूको बैठकलाई भनिन्छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई दल दर्ताका सम्बन्धमा प्रचलित कानुन र स्थापित मान्यताअनुरूप निर्णय लिने बताउँछन् ।

०००

आयोगमा दर्ता रहेका कम्युनिस्ट विचारका पार्टी र त्यसका प्रमुख पदाधिकारी

१. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)– चन्द्रप्रकाश मैनाली

२. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)– अम्बिकाप्रसाद बैब

३. नेपाल कम्युनिस्ट पार्टी– लोकनारायण सुवेदी

४. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – केपी शर्मा ओली

५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)– पुष्पकमल दाहाल

६. माओवादी कम्युनिस्ट पार्टी– रामनारायणप्रसाद पन्त

७. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

८.नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक)– सुदीप रुवाली

९. नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान– वामदेव गौतम

१०. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)– माधवकुमार नेपाल

११. नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)– राजु कार्की

१२. नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) – भविश्वर पराजुली

१३. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी– कर्णजित बुढाथोकी

१४. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन– जोगमान लामा

अन्य कम्युनिस्ट पार्टीहरू :

१५. नेपाल मजदुर किसान पार्टी– नारायणमान बिजुक्छे

१६. राष्ट्रिय जनमोर्चा– चित्रबहादुर केसी

१७. जनसमाजवादी पार्टी– सुवासराज काफ्ले

१८. जनता जनवादी पार्टी– सन्ध्या तिवारी

दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएका कम्युनिस्ट नामका दल :

१. कम्युनिस्ट पार्टी नेपाल– नेत्रविक्रम चन्द

२. नेपाली कम्युनिस्ट पार्टी– पुष्पकमल दाहाल

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully