रास्वपा कार्यवाहक सभापति अर्यालको प्रश्न : कतै हामी पनि पुरानैको लहरमा पुग्ने खतरा बढेको त छैन ?

'रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम कहिल्यै गर्नु हुँदैन ।'

कार्तिक २१, २०८२

रमेशकुमार पौडेल

चितवन — रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पुराना दलहरूमाथि प्रश्न उठिरहेको भन्दा आफूहरू पनि प्रश्नबाहिर नरहेको बताएका छन् । शुक्रबार चितवनको सौराहाको केन्द्रीय विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा अर्यालले पार्टीभित्र स-सानाका कुरालाई उठाएर दूरी बढाउने काम भएको बताएका हुन् । 

'पुराना दलहरूको औचित्यमाथि प्रश्न उठिरहेका बेला कतै तिललाई पहाड बनाएर आफ्नैहरूबीच दूरी बढाउने काम भइरहेको त छैन,' उनले भने । उनले अगाडि भने, 'रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौँ । मझेरी खनेर आँगन पुर्ने काम कहिल्यै गर्नु हुँदैन ।' 

दलभित्र पनि को कति बलियो छ भन्ने कुराको परीक्षण महाधिवेशनबाटै हुने पनि अर्यालको भनाइ छ । 'रास्वपा मात्रै ४० महिनाको भएको छ । तर यसको विकास र विस्तारमा अप्रत्याशित अपेक्षा त छैन ?,' उनको प्रश्न छ ।

रास्वपाभित्र टिममा काम गर्ने संस्कार पनि नदेखिएको हो कि भन्ने उनको भनाइ छ । 'टिम चाहिएको हो । तर हामीमा टिम संस्कार नभएको हो कि जस्तो लाग्छ । कतै हामी पनि पुरानैको लहरमा पुग्ने खतरा बढेको त छैन ?,' अर्यालले भने । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully