'तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैं सम्झने छु।'-रामकुमारी झाँक्री
काठमाडौँ — एमालेमा प्रवेश गर्न लागेकी नेत्री रामकुमारी झाँक्रीले नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपाललाई खुलापत्र लेखेकी छिन् । पत्रमा उनले नेपाल सधैं आफूहरूको अभिभावक रहेको पनि बताएकी छिन् ।
साथै आफूहरूमाथि गरिएको कारबाहीको कुनै अर्थ नभएको पनि उनको भनाइ छ । उनले लेखेकी छिन्, 'आफ्नै बेइज्जत हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? '
यस्तो छ झाँक्रीको पत्र
प्रिय कमरेड माधव
अभिवादन!
आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कामरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो । बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।
जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्ति । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि।
बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैं सम्झने छु।
