एकतामा नगएका चन्द, शर्मा र भुसालबीच मोर्चाबन्दी : नयाँ कम्युनिस्ट केन्द्र बनाउने गृहकार्य

माओवादी, नेकपा एस र अन्य दलको एकताविरुद्ध उभिएका तीन नेताले तत्काल ‘कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूको मोर्चा’ बनाई वैचारिक एवं सैद्धान्तिक छलफलपछि कम्युनिस्ट केन्द्र बनाउने प्रस्ट्याए

कार्तिक २१, २०८२

गंगा बीसी

Frontal clash between Chand, Sharma and Bhusal who did not join unity: Homework to form a new communist center

What you should know

काठमाडौँ — कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, प्रगतिशील अभियानका नेता एवं माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसालले ‘नयाँ कम्युनिस्ट केन्द्र’ बनाउने पहल थालेका छन् ।

माओवादी, नेकपा एस र अन्य दलको एकताविरुद्ध उभिएका तीन नेताले तत्काल ‘कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूको मोर्चा’ बनाई वैचारिक र सैद्धान्तिक छलफलपछि कम्युनिस्ट केन्द्र बनाउने बताएका हुन् ।

पुराना दलसँग एकतामा नगई उनीहरूले नयाँ पार्टी बनाएर निर्वाचनमा जाने नीति लिएका छन् । तत्काल वामपन्थी र समाजवादीको बृहत् मोर्चामार्फत सुशासन, रोजगारी, समाजवादी सिर्जना र राष्ट्रियताको मुद्दा लिएर अभियान चलाइने उनीहरूको भनाइ छ । चन्द निवास हात्तीवनमा शुक्रबार बिहान भएको भेटवार्तामा वामपन्थी, देशभक्त शक्तिहरूबीच सहकार्य गर्ने समझदारी भएको थियो । यही दिन अपराह्न उनीहरूले संयुक्त संकल्प नै सार्वजनिक गरे ।

‘हामीबीच बृहत् वामपन्थी अभियानका लागि राजनीतिक सहकार्य गर्ने सहमति भयो,’ भुसालले कान्तिपुरसँग भने, ‘मुलुकका अन्य समाजवादी शक्तिहरूसँग मोर्चाबन्दीका लागि छलफल गर्ने पनि समझदारी भएको छ ।’

शुक्रबार नै दल दर्ताको प्रक्रिया पूरा गर्न निर्वाचन आयोग पुगेका चन्दले तीन उद्देश्य राखेर मोर्चाबन्दी सुरु गरिएको प्रस्ट्याए । ‘हामीले तीन कुरा सोचेका छौं— पहिलो, नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि पहल गर्ने । दोस्रो, समाजवादी केन्द्र निर्माणका लागि पहल गर्ने र तेस्रो, अहिलेको अस्थिर एवं संकटपूर्ण राजनीतिक अवस्थाबाट देशलाई निकास दिन देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिसँग मिलेर अगाडि बढ्ने,’ उनले भने ।

अहिले मुलुकमा पार्टीको हैसियत धराशायी बन्दै गएको छ । यस्तो अवस्थामा वामपन्थी, देशभक्त र समाजवादी शक्तिबीच सहकार्य आवश्यक छ भन्ने निष्कर्षमा आफूहरू पुगेको भुसालको भनाइ छ ।

पार्टी निर्माण गर्ने हतार नगरी जेन–जी आन्दोलनको भावनाअनुसार आफूहरू अघि बढ्ने नेता शर्माले बताए । ‘अहिले हामीले सहकार्य र मोर्चाको कुरा गरेका हौं, पार्टी निर्माणको काम हामी हतारमा गर्दै छैनौं,’ उनले भने । छलफलमा शर्माले अभियानकै रूपमा आफू र नेता राम कार्कीले धारणा सार्वजनिक गरिसकेकाले त्यसलाई बृहत् गर्दै जानुपर्ने आवश्यक भएको जनाए ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको संयोजकत्वमा भएको समाजवादी मोर्चाको औचित्य सकिएकाले नयाँ ढंगले अघि जानुपर्ने चन्दको भनाइ छ । हाल उनी समाजवादी मोर्चाका संयोजक छन् । मोर्चामा भएका माओवादी, नेकपा एकीकृत समाजवादीबीच एकता भएपछि मोर्चाको औचित्यमाथि प्रश्न उठेको उनको दाबी छ ।

तीन नेताले शुक्रबार छलफलपछि विज्ञप्ति जारी गर्दै राष्ट्रियता, लोकतन्त्र एवं जनताका हकअधिकार खतरामा परेको र राष्ट्रिय जीवन असुरक्षित भएकाले बृहत् अभियान आवश्यक भएको बताए ।

‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चस्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ,’ तीन नेताले भनेका छन्, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौं ।’

विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरूको भनाइ छ । ‘राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ,’ चन्द, शर्मा र भुसालको बुझाइ छ ।

जेन–जी आन्दोलनअघि नै उनीहरूले संयुक्त कार्यक्रम गरी मोर्चाबन्दीको अभ्यास गरेका थिए । माओवादी, नेकपा एकीकृत समाजवादी र अन्य साना दलबीच एकता हुनुअघि तीन नेताले साझा मञ्चबाट बृहत् अभियान चलाउने बताएका थिए ।

साउन ६ मा ‘स्कुल अफ मार्क्सिज्म’ ले आयोजना गरेको पुष्पलाल स्मृति दिवसमा ‘वर्तमान राजनीतिक र कम्युनिस्ट आन्दोलन’ शीर्षकमा तीन नेताले कम्युनिस्ट पार्टीका मूल नेतृत्वबाट वाम आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष निकालेका थिए । बुटवलमा १२ भदौमा सहिद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनीहरूले ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयमा अन्तर्क्रियासमेत गरेका थिए । यी अन्तर्क्रियापछि माओवादी र नेकपा एसमा अन्तरसंघर्ष चुलिएको थियो ।

गंगा

Link copied successfully