‘नेताको लोकप्रियताले मात्रै पार्टी टिक्दैन, चर्चित व्यक्तित्व भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्नुहुँदैन’

‘केवल नेताको लोकप्रियताले मात्रै पार्टी टिक्दैन । हरेक पालिका, वडा र टोलमा पार्टीको उपस्थिति र सक्रियता हुनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ।

कार्तिक २१, २०८२

रमेशकुमार पौडेल

”A party cannot survive on the popularity of its leader alone. Original leadership should not be imported in the name of bringing in famous personalities.”

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन सौराहामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विगतको भूमिकाको समीक्षा र आगामी कार्यदिशा सम्बन्धी दृष्टिकोणहरू पेश भएका छन् । प्रतिवेदनमा नेताको लोकप्रियताले मात्रै पार्टी नटिक्ने उल्लेख छ ।

 रास्वपाले छोटो समयमै राम्रो जनमत प्राप्त गरे पनि यसलाई दिगो बनाउन बलियो संगठनात्मक संरचना आवश्यक पर्ने अर्यालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘केवल नेताको लोकप्रियताले मात्रै पार्टी टिक्दैन । हरेक पालिका, वडा र टोलमा पार्टीको उपस्थिति र सक्रियता हुनुपर्छ,’ प्रतिवेदनको पृष्ठ नम्बर १५ मा भनिएको छ । पार्टीभित्र लामो समय संगठनात्मक स्वरूप, ढाँचा लगायतका अन्योलता रहेको पनि स्वीकार गरिएको छ ।

‘पार्टी विस्तारको सुस्त गति, परिभाषित कार्यक्षेत्र र जिम्मेवारीको अभाव, कमजोर समानुपातिक र समावेशी प्रतिनिधित्व, केन्द्र–नियन्त्रित संगठनात्मक संरचना, लोकप्रियतावादप्रतिको रुचि र हामीलक्षित तथाकथित विभिन्न प्रकरण र तीप्रतिको निम्छरो प्रतिवाद, कमजोर आन्तरिक सूचना प्रणाली एवम् नेता र सदस्यबीच दोहोरो अन्तर्क्रिया अभाव पनि हाम्रा कमजोरी हुन्,’ प्रतिवेदनमा उल्लेख छ ।

संसदीय फाँटमा रफ्तारले स्थापित भए पनि संगठनात्मक क्षेत्रमा त्यसरी काम नगरेको प्रतिवेदनमा उल्लेख छ । डेढ वर्षसम्म ‘संगठन बनाउने कि नबनाउने ? बनाउने भए कस्तो र कत्रो बनाउने ?’ भन्ने बहसमै अलमलिँदा गति दिन गाह्रो भएको प्रतिवेदनमा उल्लेख छ । पार्टीमा नेतृत्वप्रति तथ्यहीन आलोचना, नेताहरूमा बढेको महत्त्वाकांक्षा र अरूको अस्तित्व नस्वीकार्ने प्रवृत्तिले चिन्ता बढाएको भनिएको छ ।

त्यसैगरी, पार्टी रिफर्म र चर्चित व्यक्तिलाई स्वागत गर्ने विषयमा पनि प्रतिवेदनले टिप्पणी गरेको छ । ‘पार्टी रिफर्म र चर्चित व्यक्तित्वलाई स्वागत गर्ने विषयमा शतप्रतिशत सहमति छ । तर रिफर्म र स्वागतको बाहनामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी स्वीकार्य हुन सकेन,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी, चुनावको तयारीमा लाग्दा मूलधारका मिडिया र सामाजिक सञ्जाल दुवैमा पार्टीको उपस्थितिलाई सशक्त बनाउने र गलत सूचना र अफवाहको खण्डन गर्ने संयन्त्र बनाउनु पर्ने प्रस्ताव पनि कार्यवाहक सभापति अर्यालले गरेका छन् । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने गत वर्ष पक्राउ परेपछि उनका पक्षमा पार्टीले गरेको आन्दोलनको प्रतिवेदनमा बचाउ गरिएको छ ।

‘तत्कालीन सरकारले राजनीतिक स्वार्थप्रेरित भएर तथ्यहीन अभियोग लगाएका कारण सिङ्गो पार्टी पङ्क्ति उहाँविरुद्धको षड्यन्त्रमा उभिएको हो । नेतृत्वलाई बद्‌नाम गरेर पार्टीलाई कमजोर बनाउन खोजे भने त्यसविरुद्ध संस्थागत प्रतिवाद गर्नु हाम्रो कर्तव्य हो,’ प्रतिवेदनमा उल्लेख छ ।

एक नेताको व्यक्तित्वमा भर परेको र उसको व्यक्तिगत समस्यामा पार्टीले अपनत्व लिएको भनेर आलोचक र भित्रका शुभेच्छुकहरूले प्रश्न उठाए पनि यसलाई षड्यन्त्रकै अंश हो भन्नेमा पार्टी सचेत रहेको जनाइएको छ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully