बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारीहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला समिति, निर्वाचन क्षेत्रीय समितिका सभापतिहरू सहभागी हुने छन् ।
What you should know
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार र शनिबार चितवन सौराहामा केन्द्रीय समितिको विस्तारित बैठक हुने भएको छ ।
बैठकबारेमा जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता मनिष झाले विस्तारित बैठकमा राजनैतिक, सांगठानिक र बाचापत्रसम्बन्धी प्रस्तावहरू पेस गरी छलफल र निर्णय हुने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारीहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला समिति, निर्वाचन क्षेत्रीय समितिका सभापतिहरू सहभागी हुने छन् । त्यसैगरी अधिवेशन भएका पालिकाका प्रमुखहरू पनि बैठकमा सहभागी हुने छन् । सबै गरेर केन्द्रीय समितिको विस्तारित बैठकमा ५१२ जनाले भाग दिने पत्रकार सम्मेलनमा प्रवक्ता झाले बताए ।
बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनैतिक प्रतिवेदन र महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन पेस गर्ने छन् । त्यसैगरी उपसभापति स्वर्णिम वाग्लेको वाचापत्र निर्माणका लागि सुझाव लिने कार्य पनि विस्तारित बैठकमा हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो । समानुपातिक सांसदको उम्मेदवारी आह्वान र छनौटका विधिबारेमा पनि छलफल हुने छ ।
‘वाचापत्र भनेको चुनावमा जाँदा पार्टीले काम गर्न योजनाहरूको वाचा हो । त्यसलाई समय अनुरूप बनाउन स्थानीय र केन्द्रीय मुद्दाहरू के हुन सक्छन् भनेर यो बैठकमा छलफल हुने छ,’ पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले भने । बैठक सुशासन कायम गर्ने, भ्रष्ट्राचार विरोधी अभियान चलाउने र विकासलाई गति दिने विषयमा केन्द्रित हुने पराजुलीले बताए । सौराहाको रत्ननगर सिटी हलमा केन्द्रीय समितिको विस्तारित बैठक हुँदै छ ।
