झाँक्री आफैँले एमालेमा जान लागेको घोषणा गरिनन्। तर श्रेष्ठको घोषणामा समर्थन जनाइन्।
काठमाडौँ — माओवादी केन्द्रसँग एकता प्रक्रियामा नगएकी नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले विचार र सिद्धान्त मिल्ने दलमा एकताबद्ध हुने बताएकी छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफू विचार र सिद्धान्त मिल्ने दलमा एकताबद्ध हुने जानकारी दिइन्।
पत्रकार सम्मेलनमा अर्का नेता कृष्णकुमार श्रेष्ठले आफूहरूले एमालेमा फर्किने अभियान चलाउने घोषणा गरेका थिए।
श्रेष्ठपछि पत्रकारहरूलाई सम्बोधन गरेकी झाँक्रीले श्रेष्ठको घोषणाअनुसार आफूहरू विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुने बताइन्। 'किसान दाइले भनेजस्तै विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुने हो । रुपान्तरित हिसाबले जाऔँ भन्ने कुरा छ,’ उनले भनिन्, ‘एकीकृत समाजवादी विघटनसँगै अब फरक बाटोबाट संकल्प पूरा गर्न सकिन्छ भनेर यो जमघट भइरहेको हो ।’
झाँक्री आफैँले एमालेमा जान लागेको घोषणा गरिनन्। तर श्रेष्ठको घोषणामा समर्थन जनाइन्। पत्रकार सम्मेलनमा नेता श्रेष्ठले भने आफूहरू निःशर्त एमालेमा फर्किन लागेको बताएका छन्। ‘अब म र रामकुमारी झाँक्री अरु कसैसँग एकता गर्दैनौँ। पसिना बगाएको एमाले नै हाम्रो पुरानो घर हो। त्यही फर्किने अभियान चलाउँछौँ,' उनको भनाइ थियो।
झाँक्रीले माओवादी, नेकपा एसलगायतको एकतालाई ‘डम्पिङ साइड’ को संज्ञा दिएकी छन्। ‘माओवादी र नेकपा एकीकृत समाजवादीको एकता एउटा ओत लाग्ने थलो हो । आफ्नो सुरक्षाका लागि भएको एकता हो,’ उनले भनिन्,‘यो एकता बन्चरे डाँडाजस्तो डम्पिङ साइड त होइन भनेर प्रश्न गरिँदैछ ।’उनले दलहरु बलिया भए मात्र लोकतन्त्रको प्रत्याभूति दिने बताइन्।
‘लोकतन्त्रको प्रत्याभूति दलनै रहेछ भन्ने बुझाइ आएको छ । दलको अभियानमा काम गर्नुपर्छ भन्ने महसुस भएको छ,’उनले भनिन्, ‘दल कमजोर हुँदा के हुँदो रहेछ भन्ने भोग्यौँ। एमाले र माओवादी एकीकृत भएकै दिन पार्टी पनि सकियो । दुई नेतामा ध्रुवीकरण भएदेखि एमालेको आन्तरिक लोकतन्त्र सकिएको हो ।’
उनले भदौ २३ र २४ को घटनाले गम्भीर शिक्षा दिएको बताइन् । 'भदौ २३ र २४ गते हाम्रा अनुहार छोपिएका थिए । हाम्रो अवस्था कहाँ थियो ? राज्य प्रणाली कस्तो रहेछ भन्ने देखियो । के राजनीतिक दलको अस्तित्व सिद्धिएको हो ?’ उनले भनिन्, ‘कुनै पनि लाखौँ सदस्य भएका पार्टीले आफ्नो कार्यालय जोगाउन सकेनन् । सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय किन कसैले बचाएन होला ? उद्योग प्रतिष्ठान, निजी घर किन कसैले जोगाएन होला ?’
