कांग्रेस 'मासबेस्ड' पार्टी हो तर जनतासँगै सम्पर्क टुटेको छ : महामन्त्री थापा

महामन्त्री थापाले कांग्रेस केन्द्रीय समिति बैठकमा भने : हामीले फेरि पनि पुरानै राजनीति दोहोऱ्यायौँ भने, जनताले कांग्रेसलाई इतिहासमा सीमित पार्नेछन् । हामीले देखाउनुपर्छ- कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्दैछ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Congress is a 'mass-based' party but has lost touch with the people: General Secretary Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले तत्काल महाधिवेशन नै पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको अवसर हुने बताएका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका नै पेस गर्दै महामन्त्री थापाले राष्ट्रिय राजनीतिमा आएको यस्तो उथलपुथलपछि हुन लागेको महाधिवेशनलाई साधारण अधिवेशन जस्तो अब केवल आन्तरिक प्रक्रिया ठान्न नमिल्ने बताएका हुन् । 

महाधिवेशन मञ्चबाटै नागरिकसँग खुला संवाद र आत्मसमीक्षा गर्न सकिने उल्लेख गर्दै उनले भने, 'त्यही मञ्चबाट हामी देशलाई भन्न सक्छौँ, 'हामीले गल्ती गरेका थियौ, हामीले जनआवाज सुनेका छौं, अब हामी सुधार गर्न तयार छौं ।'

गगन थापाको नजरमा महाधिवेशनबाट कांग्रेसले दिन सक्ने तीन सन्देश 

त्यस्तै उनले जनतालाई स्पष्ट रूपमा भोलिको कांग्रेस अहिलेको जस्तो नहुने भनेर विश्वास दिलाउन पर्ने पनि बताएका छन् ।  'हामीले जनतालाई भन्न सक्नुपर्छ कि; भोलिको कांग्रेस सरकार फरक हुनेछ 'पहिले हामीले देखाउनैपर्छ कि कांग्रेस आज आफैं फरक भएको छ ।'

आजको समयको चेत बुझेर जनभावना र जेन-जीलगायतका युवा पुस्ताबाट व्यक्त आकांक्षाबमोजिम आउँदो पुस्ताले विश्वास र भरोसा गर्न सक्ने लोकतान्त्रिक पार्टी बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । 'तर, यदि हामीले ढिला गर्‍यौँ भने··· यदि हामीले महाधिवेशन चुनावपछि सार्‍यौँ भने जनताले यही बुझ्नेछन् कांग्रेसले केही सिकेको छैन, उसलाई जनता र जनताको मुद्दाको होइन, केवल चुनाव र सत्ताको चिन्ता छ । त्यो सन्देश हाम्रो लागि घातक हुनेछ । हामीले फेरि पनि पुरानै राजनीति दोहोऱ्यायौँ भने, जनताले कांग्रेसलाई इतिहासमा सीमित पार्नेछन् । हामीले देखाउनुपर्छ ‘कांग्रेस चुनाव जित्न मात्र होइन, जित्न योग्य भएर चुनाव लड्दैछ ।'

गगन थापा भन्छन् : यसरी हुन सक्छ जनतासँग कांग्रेस रि-कनेक्ट

महामन्त्री थापाले हिजोका दिनमा कांग्रेस एउटा सिंगो युवा पुस्तासँग संवादहीनताको अवस्थामा रहेको बताएका छन् । उनले बैठकमा त्यही कमजोरी उल्लेख गर्दै भने, 'नवयुवाहरूको एउटा सिङ्गो पुस्ता जोसँग हिजोका दिनमा हामीले संवाद गर्न जरुरी ठानेका थिएनौं, त्यही छुटेको समुदायले हाम्रा सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाहरू माथि धावा बोल्यो प्रश्न उठायो ।'

पार्टीको आगामी नीति र कार्यक्रममा ती भावनाहरूलाई ती आवाजहरूलाई सम्बोधन गरेर अगाडि बढ्न नसक्ने हो भने एउटा राजनीतिक दलका रूपमा कांग्रेसको औचित्य र सान्दर्भिकता समाप्त हुने महामन्त्री थापाको भनाइ छ । नवयुवाहरूको परिवर्तनप्रतिको उत्कट आवाजलाई अपमानित गर्दा, दुत्कार्दा, उपेक्षा गर्दा आफूहरू स्वयं उनीहरूबाट तिरस्कृत हुने पनि महामन्त्री थापाले चेतावनी दिए । 'सम्मान भनेको पारस्परिक वा दोहोरो हुन्छ, हामीले उनीहरूको भावनाको कदर गर्यो भने मात्रै उनीहरूले हामीलाई विश्वास गर्छन् । पार्टीको ध्येय आजको मितिमा त्यो नयाँ पुस्ताको विश्वास आर्जन गर्ने पट्टि लक्षित हुनुपर्छ,' उनले भने ।

कांग्रेस स्थापनाकालदेखि नै 'मासबेस्ड' पार्टी भए पनि पछिल्लो समय पार्टीको मास अर्थात् जनतासँग नै सम्पर्क टुटेको महामन्त्री थापाको भनाइ छ। 'हामीले उनीहरूसँग दोहोरो र प्रत्यक्ष सम्पर्क स्थापित गर्न सक्नुपर्छ । त्यसका लागि हामीलाई धेरै भद्दा संरचनाहरू होइन स्मार्ट संरचनाहरू चाहिएको छ । हाम्रो आधार फेरिएको मात्र होइन कमजोर समेत भएको छ,' उनले भने । 

यस्तो छ थापाको भनाइ  

कान्तिपुर

Link copied successfully