कांग्रेसमा 'भिडन्त'को स्थिति : संस्थापन र महामन्त्रीबाट अलग-अलग कार्यतालिका आउने

महामन्त्री गगन थापा कार्यतालिकाको तयारीका लागि आफ्ना पक्षका नेताहरूसँग परामर्श गर्दै छन्। संस्थापन पक्षले त्यसको प्रत्युत्तरमा सहमहामन्त्री महेन्द्र राय यादवमार्फत छुट्टै कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको छ।

कार्तिक १८, २०८२

कुलचन्द्र न्यौपाने

'Conflict' situation in Congress: Establishment and General Secretary to come up with separate agendas

काठमाडौँ — सहमति नजुटेपछि आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापा र संस्थापन पक्षबाट महाधिवेशनका अलग–अलग कार्यतालिका प्रस्तुत हुने तयारी भएको छ। कांग्रेस बैठक दिउँसो १ बजे बस्ने तयारी छ।

महामन्त्री गगन थापा कार्यतालिकाको तयारीका लागि आफ्ना पक्षका नेताहरूसँग परामर्श गर्दै छन्। यसअघि थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको पुस १६ देखि १९ गतेसम्मको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए। त्यसमा केही नेताले संशोधनको सुझाव दिएका कारण मिति केही तलमाथि हुन सक्ने थापा निकट एक केन्द्रीय सदस्यले बताए।

संस्थापन पक्षले त्यसको प्रत्युत्तरमा सहमहामन्त्री महेन्द्र राय यादवमार्फत छुट्टै कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेको छ। उनका अनुसार आगामी वैशाख २७ देखि ३० गतेसम्मको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरिएको हो। दुवै कार्यतालिका केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेर निर्णय गराउने संस्थापन पक्षको जोड रहेको छ।

संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय कार्यसमितिमा महामन्त्रीहरूको कार्यतालिका सहमतिबिना पारित हुने सम्भावना कम छ। निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित नभएमा विशेष महाधिवेशन गर्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुने दुवै महामन्त्रीले बताउँदै आएका छन्।

महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशत हस्ताक्षरसहित असोज २९ गते नै विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता भइसकेको छ। दर्ता भएको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था कांग्रेसको विधानमा छ।

संस्थापन पक्ष भने दुवै महाधिवेशनको पक्षमा छैन। ‘राष्ट्रपतिले घोषणा गरेको निर्वाचनलाई सफल बनाउने राष्ट्रिय जिम्मेवारी पूरा गर्नु नै हाम्रो पहिलो प्राथमिकता हो,’ सहमहामन्त्री यादवले भने, ‘पार्टीको आन्तरिक अधिवेशन दुई–तीन महिना ढिलो भएर केही फरक पर्दैन। अहिले निर्वाचनमै मुख्य जोड दिनुपर्छ।’

यादवका अनुसार, महामन्त्री थापाले कार्यतालिका प्रस्ताव गरेपछि मात्र आफूहरूले निर्वाचनपछि हुने मितिको कार्यतालिका प्रस्तुत गर्नेछन्। उनले भने, ‘हामीले हालसम्म आगामी वैशाख २७ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका तयार पारेका छौं। महामन्त्रीले एकल रूपमा प्रस्ताव गरेमा हाम्रो पनि प्रस्तुत हुनेछ।’

एउटै कार्यतालिकामा सहमति गराउन कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत शीर्ष नेताहरूबीच छलफल चलाएका थिए। चार दिनसम्मको छलफलबाट सहमति नजुटेपछि मंगलबार दुवै पक्षले अलग–अलग कार्यतालिका तयार पारेका हुन्। यसले पार्टीभित्रको विवाद अझै बढ्ने देखिएको छ।

सिंगापुरमा उपचाररत पार्टी सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन नभई नियमित महाधिवेशनकै लागि सहमति जुटाउन कार्यवाहक सभापतिलाई सुझाव दिएका छन्। विशेष महाधिवेशनले पार्टी विभाजनको जोखिम बढाउने भन्दै देउवाले नियमित महाधिवेशनमै सहमति गर्न आग्रह गरेको देउवा निकट नेताहरूले बताएका छन्।

तर, संस्थापन पक्षभित्रका सात पूर्वपदाधिकारीका कारण निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने विषयमा सहमति भइसकेको इतरपक्षीय नेताहरू बताउँछन्। निर्वाचनअघि महाधिवेशन सम्पन्न गर्ने निर्णय केन्द्रीय कार्यसमितिले नगरे विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक स्थिति हुने भन्दै दुई महामन्त्री त्यसका लागि अघि बढेका छन्।

उता, आजै थापागाउँस्थित एक बैंक्वेटमा विशेष महाधिवेशन पक्षधरहरूको भेला हुँदै छ। उनीहरूले काठमाडौंमा रहेका महाधिवेशन प्रतिनिधिहरूको भेला बोलाएका हुन्। भेला दिउँसो १ बजे सुरु हुँदैछ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully