आठ दलको एकतापछि सबै दलका केन्द्रीय सदस्यलाई समेट्ने गरी करिब एक हजार जनाको केन्द्रीय समिति बनाइने
काठमाडौँ — माओवादी, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय गरेका छन् । एसका वरिष्ठ नेता एवं वार्ता टोली संयोजक बेदुराम भुसालले पनि यसको पुष्टि गरे ।
आइतबार बेलुका हस्ताक्षर भएको १७ बुँदे एकता सहमतिपत्रअनुसार चुनाव चिह्न पाँचकुने तारा र नाम नेकपा समाजवादी हुने नयाँ पार्टीले समाजवादी विचारलाई अघि बढाउने भएको छ । ‘प्रचण्डजी संयोजक र माधव नेपाल सहसंयोजक हुने सहमति भइसकेको छ’ भुसालले भने, ‘कात्तिक १९ मा हुने एकता राष्ट्रिय सम्मेलनमा एकता घोषणा हुनेछ ।’ भुसालका अनुसार पार्टी एकता घोषणापछि निर्वाचन आयोगमा पहिल्यै दर्ता भएका दलहरूको एकताको निवेदन दिइनेछ । ‘पार्टी दर्तापछि हामी निर्वाचनको तयारीमा जुट्छौं’ भुसालले भने ।
आठ दलको एकतापछि सबै दलका केन्द्रीय सदस्यलाई समेट्ने गरी करिब एक हजार जनाको केन्द्रीय समिति बनाइने बताइएको छ । साथै, आठै दलका केन्द्रीय समितिहरू सहभागी भएर १९ कात्तिकमा एकता राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो । उक्त सम्मेलनले नै पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्नुका साथै केन्द्रीय समितिको गठन गर्ने लगायतका सहमति भएको छ ।
माओवादीले मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरे पनि अब ६ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति पनि दलहरूले गरेका छन् । ‘पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिका रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो,’ सहमतिपत्रमा भनिएको छ, ‘पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ । नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।’
आठ दलले आइतबार समाजवादको आधार निर्माणका लागि शान्तिपूर्ण आन्दोलन हुने पनि सहमति गरेका छन् । ‘पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ, ‘आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत आवश्यकताअनुसारका सबै मोर्चा आन्दोलनको मोर्चा हुनेछन् ।’
नयाँ पार्टी सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप हुने गरी सहमति भएको छ । ‘वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइने’ आठ दलको सहमतिमा उल्लेख छ । पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिने बताइएको छ ।
सहमतिपत्रमा माओवादीका संयोजक दाहाल, एसका अध्यक्ष नेपाल, नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादव, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टीका अध्यक्ष सुभाषराज काफ्ले, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढा, नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । पार्टी एकता गर्नेमा एसका अध्यक्ष नेपाल, जनसमाजवादीका अध्यक्ष काफ्ले र साम्यवादीका अध्यक्ष सिंहबाहेक बाँकी सबै पूर्वमाओवादी हुन् ।
शर्मा र कार्की पक्षमा को–को छन् ?
पार्टी एकताको विपक्षमा उभिएका नेता शर्मा र कार्कीको पक्षमा पूर्वमन्त्री सुदन किराती, प्रदेश सांसद इन्द्र आङ्बो, राष्ट्रिय सभा सदस्यहरू जगत शर्मा, नारायणी शर्मा, केन्द्रीय सदस्य शिव मण्डललगायत नेताहरू देखिएका छन् । तर पार्टी फुटाउने तहसम्ममै जान भने अधिकांश नेताहरू अलमलमा छन् ।
‘पार्टी विभाजन गर्ने तहसम्म धेरै नेता नजाने देखिन्छ,’ माओवादीका एक नेताले भने, ‘जनार्दनजीलाई पार्टीभित्र रहेर संघर्ष गर्न भन्ने सुझाव छ ।’ १० असोजमा भएको केन्द्रीय समिति बैठकमा करिब एक सय केन्द्रीय सदस्यमध्ये तीन दर्जन नेताहरू शर्मा र कार्कीको पक्षमा खुलेका थिए ।
