माओवादीसँग एकतामा नगएका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहको भेलामा सहभागी भएकी नेता झाँक्रीले फरक बाटो लिने भएकी छन् ।
काठमाडौँ — माओवादी केन्द्रसँग एकतामा नगएकी नेकपा एकीकृत समाजवादीकी चर्चित नेता रामकुमारी झाँक्री एमाले नेताहरूसँग संवादमा रहेको छन्। माओवादीसँग एकतामा नगएका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूहको भेलामा सहभागी भएकी उनले फरक बाटो लिने भएकी हुन्।
भुसाल समूहले छुट्टै वाम मोर्चा बनाएर जाने तयारी गरेका छन् । तर झाँक्री त्यो मोर्चामा नजाने भएकी छन् । २०७८ भदौमा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी उनी २०७९ को निर्वाचनपछि एमाले नेताहरूसँग संवादमा रहेकी छन् ।
एमाले विभाजन गर्नुको औचित्य पुष्टि नहुँदै माधव नेपालसहित नेताको स्वार्थ पूरा गर्न माओवादीसँग एकता गरेको आरोप उनीहरूको छ । माओवादी, नेकपा एसको एकताले नेपालको वामपन्थी आन्दोलनलाई अघि बढाउन नसक्ने भन्दै भुसाल समूहले ‘विद्रोह’ गरेको छ । तर त्यो समूहको भेलामा सहभागी भए पनि आगामी कार्यक्रम चित्त बुझ्दो नभएको झाँक्रीले बताएकी छन् ।
उनले ‘हावा चलेको भरमा पार्टीको कार्यक्रम बनाउँदा’ त्यसले मुलुकको राजनीतिलाई सही दिशातिर बढाउन नसक्ने भन्दै पुरानै घर एमालेतिर कदम बढाउने संकेत गरेकी छन् । माओवादी र नेकपा एसबीच औपचारिक घोषणापछि उनले आफ्नो निर्णय सार्वजनिक गर्ने बताइन् ।
‘एमालेसँग संवाद हुनु सामान्य कुरा हो । पहिलेदेखि हुँदै आएको छ,’ उनले भनिन्, ‘तर अहिल्यै पुरानो घर फर्कने टुंगो लागिसकेको छैन ।’ उनले निश्चित उद्देश्य र गन्तव्य भएको पार्टी उपयुक्त हुने बताइन् । ‘जता हावा बग्यो, उतै चङ्गा उडाउने कि प्रतिकूल अवस्थामा पनि गन्तव्यतिर लम्कने भन्ने प्रश्न हो,’ उनले भनिन्, ‘पार्टी मिल्ने र विभाजनपछि गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’
माओवादीसँग एकताको विपक्षमा रहेको भुसाल समूहबाट झाँक्रीसहित पूर्वसांसद किसान श्रेष्ठ, प्रेम आले अलग रहेर ‘एमालेको अफर’को प्रतीक्षामा रहेको एक नेताको भनाइ छ । एमालेमा फर्कँदा केही न केही जिम्मेवारी हुनुपर्ने उनीहरूको भनाइ छ ।
एमाले स्रोतका अनुसार यसअघि पनि अध्यक्ष केपी शर्मा ओली र झाँक्रीबीच कुराकानी भइरहेको थियो । ओलीले शुक्रबार छाडेर गएका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका थिए । ‘कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा- हाम्रो साझा सपना साकार पार्न,’ उनले कवितात्मक शैलीमा भनेका थिए । तर एमालेले समूहगत प्रवेशलाई अस्वीकार गरेको छ । पार्टीका नाममा हुने एकता नमान्ने एमालेले जनाएको छ ।
एमालेले समाजवादीबाट प्रवेश गर्न चाहनेलाई पूर्वशर्त अघि सारेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र जनताको बहुदलीय जनवाद नीति मान्ने जो कोहीलाई पनि एमालेमा स्वागत रहेको महासचिव शंकर पोखरेलले बताएका छन् ।
‘केन्द्रीय कमिटी बैठकले आफ्नै घर फर्कन आग्रह गर्ने निर्णय गरेका छौँ । आफ्नो घर फर्कन एकता गरिरहनु पर्दैन । बाहिर गएको सन्तान घर आउँदा अनुमति लिनुपर्दैन,’ उनले प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा भने, ‘नीति र नेतृत्वको प्रश्नमा सहमति भएर आउनुस् । यसमा बहस र विवाद गर्ने कुरा मान्य हुँदैन । यसमा सहमत हुनेलाई स्वागत गर्न तयार छौँ । समाजवादीबाट फर्कन चाहनेका लागि एमालेको ढोका खुला छ ।’
एमाले फर्कन चाहेका नेताहरू झाँक्री, श्रेष्ठ, आलेलाई ओलीको नेतृत्व र जबजको नीति स्वीकार गर्न अप्ठ्यारो छैन ।प्रवक्ता राजेन्द्र गौतमले एकीकृत समाजवादीका नेताहरूसँग तहगत रूपमा कुराकानी भइरहेको बताएका छन् । ‘तहगत हिसाबले समाजवादीका नेताहरूसँग कुराकानी भइरहेको छ,’ उनले भने ।
