बागमतीमा सभामुख चयन गर्न सत्तारुढ दलबीच सहमति जुटेन, प्रदेशसभा बैठक अन्योलमा

तत्कालीन सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि नयाँ सभामुख चयन गर्न सत्तारुढ दलहरूबीच सहमति जुटेको छ। जसका कारण प्रदेशसभा बैठक अन्योलमा परेको छ।

कार्तिक १६, २०८२

सुवास विडारी

Ruling parties fail to reach agreement to elect Speaker in Bagmati, Province Assembly meeting in limbo

मकवानपुर — बागमती प्रदेशसभा सञ्चालन अन्योलमा परेको छ। प्रदेश सरकारले कात्तिक महिनाको अन्त्यभित्र प्रदेशसभा सञ्चालन गर्ने तयारी गरे पनि सभामुख चयन प्रक्रियाको विषयमा सत्तारुढ दलभित्र सहमति नजुटेका कारण प्रदेशसभा सञ्चालन अन्योलमा परेको हो ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन लगत्तै सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि हाल उक्त पद रिक्त छ । पाठक राप्रपाबाट सभामुख पदमा निर्वाचित भएका थिए । 

संविधानतः अब बस्ने प्रदेशसभा बैठकमा उपसभामुख अप्सरा चापागाईँले सभामुख पाठकको राजीनामा पत्र पढेर सुनाउनुपर्ने हुन्छ । पत्र पढेर सुनाएको १५ दिनभित्र सभामुख चयन प्रक्रिया पूरा भइसक्नुपर्ने हुन्छ । हाल सदनको सबैभन्दा ठुलो दल र सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ । जसको कारण सभामुखको विषयमा सत्तारुढ एमालेसँग सभामुखको विषयमा सहमति भएको छैन ।

त्यहीकारण प्रदेशसभा बैठकको मिति समेत तय नभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बैठकको लागि सभाकक्ष मर्मत कार्य अन्तिम चरणमा पुगेको र काँग्रेस केन्द्रीय समितिको बैठकपश्चात् प्रदेशसभाको बैठक तय हुने बताए । ‘बैठक बस्नका लागि सभा हल मर्मत अन्तिम चरणमा पुगेको छ । कात्तिकको अन्तिमसम्ममा बैठकको बोलाउने छौँ’, मुख्यमन्त्री बानियाँले भने ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको बैठक कात्तिकको २४/२५ गतेभित्रमा बस्ने गरी तयारी भइरहेको बताए । ‘बैठक बसेको १५ दिनभित्रमा सभामुख चयन प्रक्रिया सम्पन्न गर्ने बस्नेछौँ । त्यसका लागि सरकारले आन्तरिक तयारी गरिरहेको छ’, उनले भने ।

नेपाली कांग्रेस संसदीय दलको यसअघिको बैठकले सभामुखमा दाबी गर्ने निर्णय गरिसकेको छ । उपसभामुख र प्रदेश प्रमुख नेकपा एमालेको भागमा रहेका कारण सभामुख दाबी कमजोर हुने बुझिएको छ । सदनको तेस्रो दल माओवादी केन्द्रले भने सहमतिमा सभामुख चयन गर्नुपर्ने बताउँदै आइरहेको छ ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण प्रदेशसभाको हेटौँडा–१० स्थित टिसिएनमा रहेको पुरानो र नवनिर्मित सभा हल पूर्णरुपमा जलेर नष्ट भएका छन् । जसका कारण प्रदेशसभाको बैठक राख्न ढिलाइ भइरहेको छ ।

प्रदेश सरकारले हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिकाको कार्यालय पछाडि रहेको सभाहलमा बैठक राख्ने तयारी गरिरहेको छ । उक्त भवन समेत जेन-जी आन्दोलनको क्रममा आगजनी गरिएको थियो । हेटौँडा उपमहानगरपालिकासँगको सहमतिमा हाल उक्त भवन निर्माण कार्य अगाडि बढिरहेको छ । केही दिनभित्रमा हल बैठक बस्नका लागि उपयुक्त गरी पुनर्निर्माण गरिने बताइएको छ ।

संसद् बैठक सञ्चालनका लागि आवश्यक कुर्सी, साउन्ड सिस्टमदेखि प्रत्यक्ष प्रसारणका उपकरणसम्मका सामग्री तत्कालका लागि भाडामा लिएर भए पनि बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully