बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरू टुंगो लागिसकेको बताएका छन् ।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरू टुंगो लागिसकेको बताएका छन् । प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।
पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्ले लगायतका पार्टीहरूसँग पार्टी एकता हुने जनाइएको छ । अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरूको पहलकदमी ढिलाइ हुने बताइएको छ । देश झन् झन् अराजकता र संकटतिर गइरहेको पनि जनाइएको छ ।
मिल्न सक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको जनाइएको छ । नेकपा (माओवादी केन्द्र) नफुट्ने दाबी गरिएको छ । पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक र अलोकतान्त्रिक भएको आरोप लगाइएको छ ।
