जेन-जी आन्दोलनका उपलब्धि संस्थागत गर्दै अग्रगमनमा जानुपर्छ : उपसभापति वाग्ले

बाबुराम भट्टराईले भने - 'निर्वाचन जसरी पनि गर्नुपर्छ । निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ ।'

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

We must move forward by institutionalizing the achievements of the Gen-G movement: Vice President Wagle

What you should know

काठमाडौँ — जेन-जी आन्दोलनका उपलब्धि संस्थागत गर्दै मुलुकलाई अग्रगमनको बाटोमा लैजानुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बताएका छन् ।

रास्वपाले शुक्रबार आयोजना गरेको 'जेन-जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास' विषयक राजनीतिक संवाद कार्यक्रममा वाग्लेले राजनीतिक आन्दोलनका उपलब्धि रक्षा र संस्थागत गर्दै जानुपर्ने बताएका हुन् । 

जेन–जी आन्दोलनले सबै राजनीतिक दलहरूमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै वाग्लेले त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 'पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउनु छ । कहिलेकाहीं यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरूलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरू पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो,' वाग्लेले भने ।

आन्दोलन संस्थागत गर्दै अघि बढ्नुका सीमा भने नाघ्न नहुने वाग्लेको भनाइ थियो । 'विधि, विधान, संविधान धेरै मिच्न भएन । त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरूलाई पनि ट्र्याकमा ल्याउन पर्‍यो । ट्र्याकमा ल्याउने विधिहरू पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो,’ उनले भने ।

नेपालमा आन्दोलनमार्फत कल्पना नगरिएका परिवर्तन भएका पनि वाग्लेको भनाइ छ । ‘हामीले कल्पना नै नगरका परिवर्तन पनि भएका छन्,' उनले भने । जेन-जी आन्दोलनले राजनीतिक दलहरूलाई रुपान्तरणका लागि दबाब सिर्जना गरेको उनको भनाइ छ । 'अन्य दलहरूमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई विस्तारै संग्रह गरेर सुशासनका पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानुनै पर्ने हुन्छ । अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएकोले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहस चलिरहेका छन्,' उनले भने ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका थिए । तोकिएकै समय फागुन २१ मा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै भट्टराईले संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए । ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथंकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमीकमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ,' उनले भने । 

भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढ्न उपयुक्त हुने बताए ।

रास्वपाले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीका नेता र जेन-जी आन्दोलनमा सक्रिय युवाहरूको पनि सहभागिता रहेको थियो । 

कान्तिपुर

Link copied successfully