राजनीतिक र वैचारिक आधारबिना भएको एकता धोका हुने भन्दै महासचिव घनश्याम भुसालको फरक मत, एकतामा सम्मानित नेता झलनाथ खनालको पनि असहमति
काठमाडौँ — माओवादीसँग एकताको विषयले एकीकृत समाजवादीमा मतभेद बढेको छ । समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकतामा असहमति जनाएका छन् भने महासचिव घनश्याम भुसालले पनि राजनीतिक र वैचारिक आधारबिना भएको एकता धोका हुने भन्दै फरक मत राखेका छन् ।
बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको पक्षमा राजनीतिक दस्ताबेज प्रस्तुत गरेपछि महासचिव भुसालले सैद्धान्तिक विषयमा आधार नभई एकता गर्न नहुने धारणा राखेका हुन् । माओवादीसँग एकताका लागि पार्टीको नीति छाड्ने हो भने एमालेसँग पनि मिल्न गाह्रो नहुने तर्क उनले गरेका छन् । आफ्नो नीति छाडेर जोसँग एकता गरे पनि त्यसले वामपन्थी आन्दोलन अघि बढ्न नसक्ने उनको भनाइ छ ।
समाजवादीका वरिष्ठ नेता एवं माओवादीसँग वार्ता टोलीका संयोजक बेदुराम भुसालले ‘नेपाली विशेषताको समाजवाद’ को बाटोमा अघि बढ्ने, मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हुने विषयमा सहमति भइसकेको बैठकमा जानकारी दिएका थिए । एकतापछि दाहाल पहिलो र नेपाल दोस्रो वरीयतामा हुने गरी सांगठनिक संरचना बनाउने तयारी छ । त्यसलाई पनि महासचिव भुसालले अस्वीकार गरेका छन् । ‘सैद्धान्तिक कुरामा हामीले खेलबाड नगरौं । यसमा खेलबाड गरियो भने यो एकता धोका हुन्छ,’ भुसालले भने, ‘जनताको बहुदलीय जनवाद भन्ने एउटा शब्द निकाल्दिने हो भने एमालेसँग नमिल्नुपर्ने कुनै कारण छैन ।’
सम्मानित नेता खनालले माओवादीसँग मिलेर पार्टीर् विभाजन र विलय गर्न खोजेको भन्दै विरोध गरेका छन् । ‘माओवादीमा अहिले जानुको अर्थ यो पार्टीलाई विसर्जन, विलय र विभाजन गर्ने हो,’ उनले भने, ‘हामी जति हुन्छौं, आफ्नो ढंगले अघि जान्छौं ।’
माओवादीसँगको एकताले समाजवादीको अस्तित्व सकिने भन्दै खनाल, भुसालसँगै उपाध्यक्ष घनेन्द्र बस्नेतले असहमति जनाएका छन् । वरिष्ठ नेता वामदेव गौतम भने माओवादीसँग एकताप्रति सकारात्मक देखिएका छन् । नेतृ रामकुमार झाँक्रीले माओवादीसँग एकता गर्ने विषयमा ‘रिजर्भर्सेन’ राख्दै आएकी छन् । पछिल्लो समय उनी एमाले नेतासँग अनौपचारिक संवादमा छिन् । माओवादीसँग एकता भए के गर्ने भन्नेबारे निर्णयमा पुगिनसकेको उनीनिकट एक नेताले बताए ।
माओवादीसँग एकताका विषयमा फरक मत भए पनि अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले बताए । ‘वामपन्थी एकता गर्नु हुँदैन भन्ने मत छैन । तर पार्टी एकता गर्न पुनर्गठनसहित हुनुपर्नेमा जोड छ,’ उनले भने, ‘केन्द्रीय कमिटीले पार्टी एकताकै पक्षमा निर्णय गर्ने सम्भावना छ ।’ बिहीबार ३० जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रममा पनि माओवादीसँग एकताको आधार बलियो हुनुपर्ने बताएका थिए ।
पार्टीको नाम नेकपा (समाजवादी), चुनाव चिह्न तारा
बैठकमा वरिष्ठ नेता एवं वार्ता टोलीका संयोजक भुसालले एकतापछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने प्रस्ताव भएको जानकारी दिएका थिए । यो नामको दल निर्वाचन आयोगमा १७० नम्बरमा राजु कार्कीको नामबाट दर्ता छ । पार्टीको चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । सुभाषराज काफ्लेको नाममा निर्वाचन आयोगमा एक सय नम्बरमा दर्ता भएको जनसमाजवादी पार्टीको चुनाव चिह्न तारा हो । यी माओवादी, नेकपा एस र दर्ता भएका यी दुई दलबीच एकता गरी पार्टीको नयाँ नाम र चुनाव चिह्न राख्ने तयारी छ ।
पार्टी संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधव नेपाल रहने गरी छलफल चलेको छ । ‘हामीले प्रस्ताव गरेको पार्टीको नाम र चुनाव चिह्नबारे सम्बन्धित दलसँग वार्ता भइरहेको छ । एकताका लागि ती दल तयार छन्,’ भुसालले बताए, ‘कात्तिक मसान्तभित्र एकता गरी निर्वाचन आयोगमा दर्ता गर्ने भन्ने छ । हाम्रो केन्द्रीय कमिटीको बैठकपछि काम अघि बढ्नेछ ।’
०००
पार्टीलाई माओवादीमा विसर्जन गर्नेतिर अध्यक्ष नेपाल हुनुहुन्छ
झलनाथ खनाल, सम्मानित नेता, एकीकृत समाजवादी
माओवादी र नेकपा एसबीच एकता कहाँ पुग्यो ?
यो अहिले मिलिहाल्नुपर्ने केही पनि आवश्यकता होइन । सबै वामपन्थीबीच कार्यगत एकता गरेर अगाडि बढ्नु सबभन्दा उपयुक्त अवस्था हो । साझा सवालमा संयुक्त भएर अगाडि बढ्ने, त्यसपछि बिस्तारै नीति विचारमा एकरूपता कायम गर्दै जाने अनि एकता गर्ने हुन सक्थ्यो होला । एउटा प्रक्रियापछि एकता गर्न सकिन्थ्यो । तर अहिले नेतृत्वले आफ्नो असफलतालाई लुकाउन हतार–हतारमा एकता गर्ने प्रयत्न भएको छ । यो एकता गर्ने प्रयत्नसँग आम कार्यकर्ता सहमत छैनन् ।
केन्द्रीय कमिटीले एकता गर्ने निर्णय गर्यो भने तपाईंहरुसँग के विकल्प हुन्छ ?
माधव नेपाल कमरेडले हिजो चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गर्नुभयो र एउटा अलग पार्टी बनाउनुभयो । अलग समूह बन्यो । अब त्यसलाई चार वर्षपछि आएर एकातिर एउटा समूह लिएर माओवादीमा जाने अनि अरू हामी असहमत हुनेले अर्को पार्टी बनाउने हुन सक्छ । अर्कोतिर उहाँले चार वर्षसम्म पार्टीलाई दक्षिणीपन्थी बाटोमा हिँडाउने कोसिस गर्नुभयो । कांग्रेसको पनि पूरै प्यादा भएर नै हिँड्नुभयो । माओवादीमा विसर्जन हुन खोज्दै हुनुहुन्छ । पार्टीलाई पनि त्यसरी हिँडाउनुभयो । अनि अब अहिले आएरचाहिँ विसर्जनतर्फ जान खोज्दै हुनुहुन्छ । पार्टीलाई लगेर माओवादीमा विसर्जन गर्ने, पार्टी विभाजन गर्नेतिर माधव नेपाल हुनुहुन्छ ।
तपाईंहरू एमालेसँग मिल्न जानुहुन्छ ?
होइन, अहिले माधव नेपालले पार्टीलाई जुन बाटोमा लान खोजिरहनुभएको छ, त्यो अहिले हामी हिँड्ने बाटो होइन कमरेड, त्यसो नगरौं भनेका छौं । यो पार्टी रूपान्तरण गरौं, अलि बलियो पार्टी बनाऔं, क्रान्तिकारी पार्टी बनाऔं । त्यसपछि एउटा बृहत् वामहरूलाई एकताबद्ध बनाउने कोसिस गरौं । त्यो दिशामा जाऔं । वाममोर्चा निर्माण गरौं भनेका छौं । हामी त्यही हिसाबले नै अघि बढ्दै छौं ।
माओवादीसँग एकता गर्दा पार्टी विसर्जन हुन्छ भन्नुको तर्क के हो ?
माओवादीसँग मिलेर न एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि हुन्छ, न पार्टीको अस्तित्व रहन्छ । त्यो केवल नेताको सुरक्षासँग जोडिएको छ ।
उसो भए काभ्रेको जग्गा हिनामिना प्रकरणमा माधव नेपाललाई मुद्दा लागेपछि एकता गर्न हतारिनुभएको हो ?
माओवादीसँग एकता गर्न उहाँको वैचारिक, राजनीतिक, सैद्धान्तिक त्यस्तो महत्त्वपूर्ण केही पनि देख्दिनँ । उहाँलाई त्यो मुद्दा लाग्यो । अनि पार्टी सञ्चालन गर्न पनि सक्नु भएन । अनि पार्टी बनाउन नसकिने स्थिति महसुस गरेपछि लगेर कतै बुझाउने उहाँको चाहना देखिन्छ ।
