यसपटक सर्वोच्च अदालतको मुद्दा शाखाले सिधै संवैधानिक इजलासमा यो विवाद दर्ता गराउन रिट निवेदकहरुलाई भनेको थियो । सोही अनुसार दर्ता भएका रिटहरु सुनुवाइ हुन लागेको हो ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्कीको अन्तरिम सरकार र उक्त सरकारले सिफारिस गरेको प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न हुने संवैधानिक इजलासले गम्भीर संवैधानिक विवादमा सुनुवाइ गर्ने क्षेत्राधिकार संविधानले दिएको छ । संविधानले दिएको यही क्षेत्राधिकार अन्तर्गत सर्वोच्चले असोज २८ गते र त्यसपछि सर्वोच्च पुगेका १६ थान रिट दर्ता गरेको थियो ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन र सरकार गठन गम्भीर संवैधानिक विवाद भन्दै सिधै संवैधानिक इजलासमा दर्ता गराएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बुधबार संवैधानिक इजलासमा पहिलो सुनुवाइको पेसी तोकिएको छ । उक्त इजलास माग गरेर दर्ता भएका १६ थान निवेदन एकै पटक पेश हुने छन् ।
यसअघि पनि संसद् विघटन सम्बन्धी विवादलाई संवैधानिक इजलासले नै टुंगो लगाएकाले यस पटक पनि सिधै संवैधानिक इजलासमा दर्ता गरिएको हो । २०७७ र २०७८मा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त विवाद भने एकल इजलास हुँदै संवैधानिक इजलासमा पुगेको थियो ।
यसपटक सर्वोच्च अदालतको मुद्दा शाखाले सिधै संवैधानिक इजलासमा यो विवाद दर्ता गराउन रिट निवेदकहरुलाई भनेको थियो । सोही अनुसार दर्ता भएका रिटहरु सुनुवाइ हुन लागेको हो ।
के छ रिटहरुमा मागदाबी?
२४ भदौको प्रदर्शनका क्रममा सर्वोच्च अदालत जलेर खण्डहर बनेपछि २८ असोजदेखि रिट दर्ता खुलाइएको थियो । रिट दर्ता खुलाएकै दिन सर्वोच्चमा प्रधानमन्त्री नियुक्ति र संसद् विघटन संविधानविपरीत भन्दै १० वटा रिट पेस भएका छन् ।
त्यसपछि थप ६ थान रिट दर्ता भएका थिए । प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, खडकबहादुर शाह, आभास पोखरेल, आयुष भण्डारी लगायतका रिट दर्ता भएको थियो ।
सबै रिटहरुमा मुख्य रुपमा तीन वटा माग अघि सारिएको छ । रिटमा पहिलो राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनको म्यान्डेडका आधारमा सरकार गर्ने भनी गरेको निर्णय असंवैधानिक भएको दाबी गरिएको छ । संविधानले सरकार गठनको धाराको रुपमा ७६ रहेको तर शुसिला कार्कीलाई प्रधानमन्त्री बनाउँदा उक्त धारा अनुसार नभएको दाबी गरिएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार गठन गरेकाले बदर हुनुपर्ने माग गरिएको छ ।
त्यस्तै रिटमा गरिएको दोस्रो माग हो अन्तरिक सरकारकी प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटन बदर गर्ने निर्णय बदर भई संसद् पुनर्स्थापना हुनुपर्ने हो । तेस्रो माग जेनजी आन्दोलन पछिको अवस्थालाई संसद्बाट सम्बोधन हुनुपर्ने माग गरिएको छ ।
रिटमा राष्ट्रपति कार्यालय शीतल निवास, प्रधानमन्त्री कार्की र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ । त्यस्तै संविधानले नै सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको व्यक्तिलाई मानवअधिकार आयोगबाहेक अन्य लाभको पदमा रोक लगाएकाले सरकार गठन गैरकानुनी भएको दाबी गरिएको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग प्रमुख रुपमा रिटमा छ । संसद् पुनःस्थापना गरेर प्रतिनिधिसभाभित्रबाटै सरकार बनाउनु भनी परमादेश जारी गर्न माग सबै रिटमा गरिएको छ ।
कस्तो गठन होला संवैधानिक इजलास?
संविधानको धारा १३७ मा संवैधानिक इजलासको गठनको व्यवस्था छ । ‘सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ । त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने छन्’ भनिएको छ ।
इजलासमा बस्ने आफूबाहेका चार न्यायाधीश तोक्ने अधिकार संविधानले प्रधानन्यायाधीशलाई दिएको छ । हालसम्मको न्यायीक अभ्यास हेर्दा संवैधानिक इजलास दुई मोडलमा गठन भएका छन् । पहिलो मोडल प्रधानन्यायाधीशको अधिकार भएकाले उनले रोजेका र संवैधानिक इजलासको रोष्टरमा रहेकामध्ये चार जना न्यायाधीशहरु ‘पिक एण्ड चुज’ शैलीमा रोज्न पाउने छन् । यसमा जो सुकै पनि रोष्टरमा रहेका १० न्यायाधीश मध्ये अटाउने छन् ।
त्यस्तै दोस्रो विकल्प भनेको वरिष्ठताको आधारमा इजलास गठन गर्ने हो । यसमा वरिष्ठ न्यायाधीश हुँदै वरीयता क्रममा रहेका न्यायाधीशको इजलास गठन हुने छ । यी दुवै अभ्यास हुने गरेको छ । यसअघि केपी शर्मा ओलीले गरेको दुई वटै विघटनमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सुरुमा ‘पिक एण्ड चुज’ शैलीमा इजलास गठन गरेपछि विवादित भएको थियो ।
उक्त विवादपछि वरिष्ठताका आधारमा इजलास गठन हुँदै संसद् विघटन बदर हुने फैसला भएको थियो । संवैधानिक इजलासको रोष्टरमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमान लगायत छन् । वरीयताको आधारमा तोक्दा मनोज शर्मासम्म अटाउने देखिन्छ ।
के देखिन्छन् विकल्प?
१२ गते पहिलो सुनुवाइ हुने भएकाले अन्तरिम आदेशभन्दा लिखित जवाफ मगाउनेतिरै बहस हुने देखिन्छ । संवैधानिक इजलासले महत्त्व दिँदै अग्राधिकार दिएर लिखित जवाफ मगाउन सक्ने देखिन्छ । सर्वोच्चले यो विवाद छिट्टै निर्णय दिनुपर्ने भएकाले समय तोकेर विपक्षीहरुलाई लिखित जवाफ मगाउन सक्ने देखिन्छ ।
त्यस्तै नेपाल बार एशोसियसन र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ पनि मगाउने देखिन्छ । यी सवै आदेशपछि अन्तिम सुनुवाइका लागि इजलासले चाहेमा समय नै तोक्न सक्ने पनि देखिन्छ । २१ फागुनमा निर्वाचनको मिति तोकिएको र त्यसको तयारी निर्वाचन आयोगले गर्नुपर्ने भएकाले त्यसमा अवरोध नहुने गरी उचित निकासको माग बहसका क्रममा हुने भएकाले इजलासले निश्चित समय तोक्ने सम्भावना देखिन्छ ।
विगतका प्रतिनिधि सभा विघटनका मुद्दामा पनि यो अभ्यास भएकाले यस पटक पनि हुने देखिन्छ । त्यसपछि मात्र सर्वोच्चले अन्तिम सुनुवाइ गर्ने छ । सर्वोच्चले यसमा अन्तिम सुनुवाइ ढिलोमा दुई महिना छिटोमा एक महिनाभित्र टुंग्याउन सक्ने देखिन्छ ।
यस्तो छ, संसद् विघटनको इतिहास
नेपालको इतिहासमा हालसम्म संसद् विघटनको निर्णय भएका दश घटना भएका छन् । २०१७ सालदेखि २०८२ सम्म विभिन्न प्रधानमन्त्रीहरुले यस्तो विघटन सिफारिस गरेका थिए । यसरी भएका सिफारिस मध्ये पाँच वटा विघटन कार्यान्वयनमा गएका थिए ।
१ पुस २०१७ मा भएको पहिलो विघटन कार्यान्वयन भएको थियो भने त्यसपछि २०५१मा गिरिजाप्रसाद कोइरालाले गरेको विघटन पनि कार्यान्वयनमा गएको थियो । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाले गरेको विघटन पनि कार्यान्वयनमा गएको थियो । २०५९मा शेरबहादुर देउवाले गरेको विघटन पनि कार्यान्वयन भएको थियो तर जन आन्दोलनको बलमा पछि पुनर्स्थापना गरियो ।
त्यस्तै १५ जेठ २०६९मा बाबुराम भट्टराईले पहिलो संविधान सभालाई गरेको विघटन पनि कार्यान्वनमा गएको थियो । नवौं विघटन ८ जेठ २०७८ मा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विघटन असंवैधानिक भएको भनि फैसला सुनाएर पुनर्स्थापना गरिदिएको थियो ।
यसरी पुनर्स्थापना भएको तीन महिनापछि ८ जेठ २०७८ मा ओलीले पुन: विघटन सिफारिस गरेका थिए । यो विघटन २८ असार २०७८ मा फैसला सुनाएर बदर गरेको थियो ।
तर अहिलेको विघटन विगतका भन्दा फरक पृष्ठभूमिमा भएको छ । विगतमा प्रधानमन्त्रीले यस्तो विघटन गरेका थिए भने यस पटक जेन–जीहरुले सडकको म्यान्डेटका आधारमा अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री कार्कीले विघटन सिफारिस गरेका थिइन् ।
यी हुन् १६ रिट निवेदकहरु
प्रेमराज सिलवाल
युवराज पौडेल
किर्तिनाथ शर्मा पौडेल
आयुष वडाल
मकबुल मिया
खड्क बहादुर शाह
डम्बरप्रसाद शिवाकोटी
दलबहादुर धामी
प्रकाश भुजेल
विपिन ढकाल
आयुष भण्डारी
आभाष पोखरेल
ओमप्रकाश जङग शाह
विमल पोखरेल
पुण्डप्रसाद खतिवडा
शेरबहादुर रोक्का
