बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।
काठमाडौँ — एमालेको ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।
गत असोज २९ देखि असोज ३१ गतेसम्म भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकले ११औं महाधिवेशन आगामी मंसिर २७ देखि मंसिर २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको थियो ।
पार्टीको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।
सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट र विधि महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने बताइएको छ ।
सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्ने छ ।
