निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजे सात राजनीतिक दललाई निर्वाचन तयारीका विषयमा छलफलका लागि औपचारिक निमन्त्रणा पठाइएको छ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

PM, party leaders discuss creating political environment for elections today

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्दै छिन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । चुनावको वातावरण बनाउन भइरहेका विभिन्न प्रयासमध्ये एउटा प्रयासका रूपमा दलहरूसँग छलफल राखिएको उनको भनाइ छ । 

सरकारले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, पूर्व तयारी, सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बद्ध निकायसँग छलफल गर्दै आएको छ । निर्वाचन तयारीलगायतका  विषयमा प्रधानमन्त्री कार्कीबाट पहिलो पटक राजनीतिक दलसँग हुन लागेको औपचारिक छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका नेता सहभागी हुनेछन् । ती दलबाट उच्चस्तरीय प्रतिनिधित्व हुने संयोजक रावलले जनाए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो । 

यसैगरी निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्ने समेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए । 

कान्तिपुर

Link copied successfully