माओवादी सशस्त्र युद्धको ‘मास्टर प्लानर’ मध्येका एक नेता मोहन वैद्यले पार्टी शक्तिशाली हुँदासमेत सत्ताको मोह कहिल्यै देखाएनन् । पार्टी साघुरिँदै गए पनि विद्रोहको बुटी सधैँ बोकिरहे ।
काठमाडौँ — २०६१ मंसिर अन्तिम साता भएको महाधिवेशनबाट महासचिवमा चयन भएका मोहन वैद्यले वरिष्ठ नेता सीपी गजुरेललाई पद हस्तान्तरण गरेका छन् । लामो समयदेखि दमको रोगबाट पीडित उनले स्वास्थ्यका कारण गजुरेललाई महासचिव पद हस्तान्तरण गरेका हुन् । उनले १० महिनाअघि गजुरेललाई कार्यवाहक महासचिवको जिम्मा दिएका थिए ।
यही साता भएको केन्द्रीय समिति बैठकमा वैद्यले आफूले महासचिव पद छाड्ने निर्णय गरेका थिए । ‘स्वास्थ्यको कारण महासचिव पद हस्तान्तरण गर्नु भएको हो । उहाँ पार्टीको अभिभावक भएर मार्गनिर्देशकको रूपमा रहनुहुनेछ,’ महासचिव गजुरेलले भने, ‘उहाँ (वैद्य) संयोजक रहने गरी विशेष समिति बनाउने निर्णय भएको छ ।’
मार्क्सवादी सौन्दर्यशास्त्रीका रूपमा चिनिएका उनका दर्जन पुस्तक प्रकाशित छन् । दर्शन र साहित्यमा उनी ‘चैतन्य’ को नामबाट चिनिन्छन् । पार्टीमा ‘किरण’ का नामले चिनिएका उनी अझै पनि ‘जनविद्रोह’ को नीति छाडेका छैनन् । २०८१ मंसिरमा भएको वैद्य नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनले जनविद्रोहको कार्यदिशालाई निरन्तरता दिएको थियो ।
‘जनसंघर्ष तथा जनप्रतिरोध संघर्षका बीचबाट सर्वहारा वर्गको नेतृत्व तथा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्दछ,’ वैद्यको महाधिवेशनमा पारित दस्ताबेजमा भनिएको छ, ‘त्यसरी नयाँ जनवादी राज्यसत्ता स्थापनाको बाटोमा अघि बढ्नुपर्ने छ ।’
माओवादी शान्ति प्रक्रियामा आएपछि वैद्यले असहमति राख्दै आएका थिए । लडाकु समायोजन भइसकेपछि उनले ‘माओवादीले आत्मसमर्पण’ गरेको भन्दै पार्टी विभाजन गरेका थिए । माओवादी मूलधारमा आएपछि सत्ताको खेलमा लागेको भन्दै वैद्यले फरक नीति लिएका थिए ।
२०६४ साउन काठमाडौँको बालाजु विस्तारित बैठकमा मोहन वैद्यले तत्कालीन अध्यक्ष पुष्पकमल दाहालविरुद्ध ‘जनविद्रोहको कार्यदिशा’ सहित फरक मत राखेका थिए । त्यति बेला केन्द्रीय समितिमा बहुमतमा रहेका वैद्यको फरक मतले दाहाललाई झुक्न बाध्य बनाएको थियो । दाहाल पनि वैद्यको नीतिमा सहमत भई जनविद्रोहको नीतिमा सहमत भए । तर सार्वजनिक रूपमा आफू शान्ति र संविधान निर्माणको पक्षमा भएको बताउँदै आएका थिए ।त्यो विस्तारित बैठकले ‘संविधानसभाबाट जनसंविधान र भित्री रणनीतिमा विद्रोह’को नीति पास गरेको थियो ।
माओवादीमा रहँदासम्म वैद्यको जबरजस्त प्रभाव रह्यो । २०६५ पुसमा भक्तपुरको खरिपाटी बैठकमा वैद्य पक्षले जनविद्रोहबाट जनगणतन्त्र स्थापना गर्ने तत्कालीन कार्यदिशा पारित भएको थियो । त्यति बेला दाहालले नचाहँदा नचाहँदै पनि जनविद्रोहबाट जनगणतन्त्रमा जाने नीतिमा सहमत भएका थिए । जनविद्रोहको नीतिमा तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईको असहमति थियो ।
२०६७ मंसिरमा गोरखाको पालुङटारमा माओवादीको विस्तारित बैठकमा अध्यक्ष दाहालको प्रस्तावका विरुद्ध उपाध्यक्षद्वय वैद्य र भट्टराईको लिखित फरक मत राखेका थिए । त्यो बैठकमा पनि दाहाल र वैद्यको नीति पारित भई विद्रोहको आधार तयार गर्ने निर्णय गरेको थियो । तर त्यति बेला दाहाल चाहना शान्तिपूर्ण बाटो आगाल्ने भएपछि वैद्य असन्तुष्ट भए पनि जनविद्रोह भने सुरु हुन सकेन ।
देशका विभिन्न ठाउँमा रहेका २८ क्याम्पमा रहेका लडाकु समायोजन प्रक्रिया अघि बढेपछि वैद्यले माओवादी ‘आत्मसमर्पण’ को बाटोमा अघि बढेको निष्कर्ष निकालेको थियो । पार्टीभित्र अन्तसंघर्ष जारी राखेका उनले २०६९ असारमा विद्रोह गरी क्रान्तिकारी माओवादी नामको पार्टी गठन गरेका थिए । जनविद्रोहको नीति लिएर माओवादीबाट अलग भएको १३ वर्ष बितिसकेपछि वैद्यले विद्रोहको झिल्को बल्न सकेको छैन ।
सशस्त्र युद्धको रणनीतिकारमध्ये एक भए पनि उनी शान्तिपूर्ण कार्यदिशाको सधैँ विपक्षमा उभिएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा सदस्य भए पनि एक समयपछि राजीनामा दिएका थिए । माओवादीमै रहँदा पनि उनी सत्ताको मोहमा कहिल्यै परेनन् ।
माओवादी युद्धमै रहेका बेला वैद्य २०६० चैतमा भारतको सिलगढीबाट पक्राउ परेका थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६५ मा रिहा भएर स्वदेश फर्केका थिए । तर अझै पनि उनले बल प्रयोगबाट राज्यसत्ता कब्जा गरी नयाँ जनवादी क्रान्ति गर्ने लाइन छाडेका छैनन् ।
२०४२ नेकपा मशालमा विभाजन भएपछि वैद्यको नेतृत्वमा नेकपा मशाल र मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा मसाल गठन भएको थियो । मोटो मशालको नेतृत्व वैद्यले गरेका थिए, जसले सशस्त्र जनयुद्ध गर्ने नीति पारित गरी तयारीसमेत सुरु गरेको थियो । वैद्यको नेतृत्वमा २०४४ मा नेकपा मशालका तर्फबाट काठमाडौँका प्रहरी बिटमा आक्रमण र पोस्टर टाँस्ने काम भयो ।
सरकाले मशालका दर्जनौँ कार्यकर्ता गिरफ्तार गरी चर्को यातना दियो । त्यसको जिम्मेवारी लिँदै वैद्यले महामन्त्रीबाट राजीनामा दिएपछि हाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्रीमा चयन भए । २०४५ नेकपा मशालको सम्मेलनद्वारा दाहाल (प्रचण्ड) महामन्त्रीमा निर्वाचित भएपछि वैद्ये नेतृत्व छाडेका थिए ।
वैद्यको नेतृत्वमा २०४५ सालमा उनकै नेतृत्वमा गोरखा सिरान चोकमा पहिलो जनयुद्धसम्बन्धी तालिम भएको थियो । वैद्यको २०४५ मा जनयुद्ध सुरु गर्ने तयारी भइरहेका बेला जनआन्दोलन सुरु भएकाले जनयुद्ध स्थगित भयो । वैद्य पाखा लागेपछि दाहालको नेतृत्वमा २०५२ मा ‘जनयुद्ध’ सुरु भई १० वर्ष चलेको थियो ।
वैद्य भारतको जेलमा रहेका बेला २०६२ असोजमा भएको माओवादी बैठकद्वारा प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेको थियो । वैद्य पद्धतिबाट उपचार गर्ने प्युठानको पोखरेल परिवारमा ८० वर्षअघि जन्मिएका थिए ।
५ असार ०६९ मा माओवादीबाट वैद्यकै नेतृत्वमा अलग भएको यो पार्टी विद्रोहको बुटी बोकिरहेको छ । ‘हामी यो संसदीय व्यवस्थाबाट समस्या क्रान्ति पुरा हुँदैन । त्यकारण हामी क्रान्ति अघि बढाउने पक्षमा छौँ,’ महासचिव गजुरेलले भने, ‘त्यसका लागि माओवादी बाहेक अन्य वामपन्थी शक्तिसँग सहकार्य, एकता गर्ने पक्षमा छौँ ।'
