उनले आफूले फलानोलाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर सिफारिस नगरेको, र यदि कसैसँग त्यस्तो प्रमाण भए सार्वजनिक गर्न चुनौती दिए।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले कोही निश्चित व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर सिफारिस नदिएको दाबी गरेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि गठित अन्तरिम सरकार गठन हुँदा ओलीको सिफारिसमा वर्तमान सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको भन्ने विषयमा माओवादी केन्द्रका संयोजक प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले आफूले फलानोलाई प्रधानमन्त्री नियुक्त गर्नु भनेर सिफारिस नगरेको, र यदि कसैसँग त्यस्तो प्रमाण भए सार्वजनिक गर्न चुनौती दिए।
उनले आफूले संविधान र संसद्भित्रैबाट समाधान खोज्न राष्ट्रपतिलाई सिफारिस गरेको बताए। 'राष्ट्रपतिले तत्काल प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ,' ओलीले स्पष्टीकरणमा भने, 'वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिलाई नियन्त्रण गरेर शान्तिपूर्ण रूपमा फर्काउन आवश्यक रहेकाले यसको समाधान लोकतान्त्रिक प्रणालीभित्रैबा खोज्नका लागि राष्ट्रपतिसमक्ष आवश्यक कदम चाल्न सिफारिस गर्छु भनेर लेखेको थिएँ।'
ओलीले आफूले लेखेको पत्रमा कतैपनि सुशीला कार्कीको नाम नभएको र प्रधानसेनापतिसहितको उपस्थितिमा आफूले त्यो पत्र लेखेको र त्यसको प्रतिलिपि आफूसँग नभएको बताए। उनले संसद् बाहिरबाट प्रधानमन्त्री हुँदै हुन्न भनेर जिकिर नगरेको, तर संसद्कै बैठकबाट त्यो गर्न सकिने बताएको सुनाए । उनले २५ गते एकछिन संसद् बसेर त्यो गर्न सकिने बताएको सुनाए । संविधानको धारा ७६ मा एउटा धारा संशोधन गरेर त्यस्तो गर्न सकिने अवस्था रहेको स्मरण गरे।
संविधानभित्रैबाट प्रधानमन्त्री नराखेर संसद्प्रति किन वैरभाव राखिएको भनेर प्रश्न गर्दै उनले जेन-जीको नाममा यस्तो कार्य भएको आरोप लगाए। 'यो सरकार संवैधानिक बाटो हुँदा-हुँदै असंवैधानिक बाटोबाट बनेको हो। यो सरकार कसरी बन्यो र यो कसले बनायो भन्ने प्रश्न कायम छ,' ओलीको भनाइ छ।
आफूले दुईपटक संसद् विघटन गर्दाको समय पनि सम्झिरहेको भन्दै उनले दुई तिहाईको सरकार चलाउन नसकेर आफूले संविधानअनुसार संसद् विघटन गरेको स्वीकारे। उनले त्यतिबेला चुनावका निम्ति तयार नभएकाहरूले अहिले चुनाव गर्नुपर्छ भन्ने तर्क गर्नु आश्चर्यजनक भएको बताए।
