ओलीले भने- 'मलाई शंका गर्ने कुनै ठाउँ छैन। केपी ओली सोझो छ भनेर सरकारले आयोग बनाउँदैमा त्यहाँ लुरु लुरु गएर मैले बयान दिनुपर्छ भन्ने लाग्दैन।'
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले थुनिनुपर्ने गरी कुनै अपराध नगरेको बताएका छन्। 'यहाँ केपी ओलीलाई थुन्ने अपराध हुन सक्छ। तर मैले थुनिनुपर्ने गरी कुनै काम गरेको छैन। मैले सोच विचार गरेर मनबाट नभई मस्तिष्कबाट काम गर्छु,' ओलीको भनाइ छ।
आइतबार काठमाडौँमा सम्पादकहरूसँगको संवादमा ओलीले भने- 'मलाई शंका गर्ने कुनै ठाउँ छैन। केपी ओली सोझो छ भनेर सरकारले आयोग बनाउँदैमा त्यहाँ लुरु लुरु गएर मैले बयान दिनुपर्छ भन्ने लाग्दैन।'
उनले आफूले 'नेपी बेबी' अभियान स्वीकार नगर्ने भन्दै उक्त अभियानबाट सबैका छोराछोरी त्रसित भएको तर्क गरे। ओलीले आफूले थाहा पाएसम्म भ्रष्टाचार नगर्ने नीति लिएको भन्दै सबैभन्दा ठूला भ्रष्टाचारी नै अहिले उफ्री-उफ्री भ्रष्टाचारको विरोध गरिरहेको देखेर अचम्मित परेको बताए। तर उनले यस्तो कसले गरेको भन्नेबारे केही खुलाएनन्।
उनले आफूले जेन-जीहरूसँग छलफल गरिरहेको भन्दै जेन-जीहरूले आफूहरूको आन्दोलन हाइज्याक भएको गुनासो गरिरहेको बताए। 'मैले जेन-जीहरूसँग पनि कुराकानी गरिरहेको छु। भदौ २४ गते राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउनेहरू जेन-जी थिएनन्, जेन-जीहरूले नै आफूहरूको आन्दोलन हाइज्याक गरेको सुनाइरहेका छन्,' ओलीले भने।
