दाहालले एमाले अध्यक्ष ओलीलाई संसद विघटनप्रतिको विगत सम्झाउँदै वर्तमान सरकार आफ्नै सिफारिसमा बनेको भन्दै निर्वाचन तोकिएको समयमा गराउन आव्हान गरे।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनः स्थापनाका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न नभए अर्को अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए।
दाहालले भने, 'हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनः स्थापनाका कुरा गर्नु जस्तो हास्यास्पद कुरा अरू केही हुन सक्दैन। ती साथीहरूलाई म आजको यथार्थ स्वीकार गरेर निर्वाचन सफल पार्न आग्रह गर्छु।'
उनका अनुसार घोषित समयमा निर्वाचन सम्पन्न गर्नु नै संविधान र लोकतन्त्रको रक्षाको सबैभन्दा उत्तम विकल्प हो। उनले यसलाई भड्काउने वा भाड्ने प्रयास नगर्न एमालेलाई चेतावनी पनि दिए।
दाहालले वर्तमान सरकार एमाले अध्यक्ष ओलीकै सिफारिसमा बनेको स्मरण गराउँदै आफ्नै सिफारिसमा बनेको सरकारलाई 'हाहाहुहुको सरकार' नभन्न सुझाव पनि दिए।
