ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।
काठमाडौँ — एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको भनिमण्डलमा सुरु भएको छ । जेन-जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो पटक निवासबाट निस्केर बैठकमा सहभागी भएका छन् ।
ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।
एमालेमा नेतृत्व हस्तान्तरण गर्न दबाब भए पनि ओलीले यसबारे कुनै संकेत गरेका छैनन् । प्रतिवेदनमा ओलीले जेन-जी आन्दोलन, महाधिवेशन र प्रतिनिधिसभा विघटन, फागुन २१ मा घोषणा भएको निर्वाचनबारे पार्टीको प्रस्ताव पेस गर्नेछन् ।
केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा जाने वा नजाने भन्नेबारे दुई मत छ । त्यस्तै, कांग्रेस, माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरण गर्ने सन्दर्भमा भएका कार्यसमेतलाई ध्यानमा राख्दै ओलीमाथि दबाब बनाउने केन्द्रीय सदस्यहरूको तयारी छ। केन्द्रीय सदस्यहरुले नेतृत्व हस्तान्तरणको विषय उठाउने तयारी गरेका छन् । सबै केन्द्रीय सदस्यले बोल्न पाउने विधि बैठकमा तय भएको छ ।
बैठकमा बोल्न चाहने केन्द्रीय सदस्यले समय पाउने छन् । निर्धारित समयभन्दा एक वर्ष अघि महाधिवेशनमा गर्ने निर्णय गरे पनि दोस्रो पुस्तालाई अघि सार्ने विषयमा एमालेमा विवाद छ ।
केन्द्रीय सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेलगायत १० पदाधिकारीले नेतृत्व हस्तान्तरण गर्ने धारणा सचिवालय बैठकमा राखिसकेका छन् । एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको सचिवालयले निष्कर्ष निकालेको थियो ।
