जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरेर २१ फागुनका लागि चुनाव तोकिएको छ । चुनावमा युवा प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएका बेला जेन–जी समूहबाट भने कसैले दल दर्ताको प्रक्रिया थालेको देखिँदैन ।
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनपछि दुई नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । धरानका मेयर हर्कबहादुर राई (हर्क साम्पाङ) अध्यक्ष रहने गरी श्रम संस्कृति पार्टीले ७ असोजमा र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको नेतृत्वमा रहने नेपाल नागरिक पार्टीले ९ असोजमा दल दर्ताको निवेदन दिएका हुन् ।
जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरेर २१ फागुनका लागि चुनाव तोकिएको छ । चुनावमा युवा प्रतिस्पर्धामा उत्रिने अपेक्षा गरिएका बेला जेन–जी समूहबाट भने कसैले दल दर्ताको प्रक्रिया थालेको देखिँदैन ।
आयोगमा दल दर्ताका १२ निवेदन विचाराधीन छन् । तीमध्ये एउटाले निवेदन जेन–जी आन्दोलनअघि यही आर्थिक वर्षमा र नौ वटाले गत आर्थिक वर्षमा निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार गत साउनमा उज्यालो नेपाल पार्टी नामको दल दर्ताका लागि निवेदन परेको थियो । त्यस पार्टीको अध्यक्षमा ज्ञानबहादुर तामाङ छन् ।
श्रम संस्कृति पार्टीले माटोको ढिस्को, नागरिक पार्टीले जेन–जीको जुत्ता र उज्यालो नेपालले बलेको चिम चुनाव चिह्न मागेका छन् । निवेदनउपर आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । सम्बन्धितसँग अपुग कागजात मगाउने तथा केही विषयमा स्पष्टताका लागि आवश्यक छलफल लगायतका काम भइरहेको महाशाखाले जनाएको छ ।
यही बीचमा दुई दल विभाजित भएका छन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । आयोगमा अहिलेसम्म दर्ता भएका दलमध्ये सबैभन्दा कान्छो दल जनस्वराज पार्टी बनेको छ । दीपककुमार साह उक्त पार्टीको अध्यक्ष छन् । आयोगले जनस्वराजलाई मंगलबार दल दर्ताको प्रमाणपत्र दिएको छ । यसअघि आइतबार नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर बनेको राष्ट्रिय जनमुक्ति पार्टीले प्रमाणपत्र पाएको थियो ।
विभाजनबाट दुई दल थपिएपछि राजनीतिक दलहरूको संख्या १ सय २४ पुगेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । ‘जेन–जी आन्दोलनपछि नयाँ दल खोल्ने प्रक्रियाबारे जानकारी लिने, चासो राख्नेहरू आइरहेका छन् । थप केही दल दर्ता प्रक्रियामा आउने सम्भावना देखिन्छ,’ उनले भने ।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलका लागि आयोगले दर्ताको समय तोकिसकेको छ । नयाँ दल खोल्न चाहनेले जतिसक्दो छिटो दर्ता प्रक्रियामा आउनुपर्ने आयोगका प्रवक्ता भट्टराईले बताए । आयोगमा दर्ता भएका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दर्ता गराउन पाउँछन् । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १ देखि १० मंसिरसम्म दल दर्ता गर्नुपर्नेछ । त्यसका लागि ३० कात्तिकभित्रै दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ ।
मतदाता नामावली संकलनका लागि अध्यादेशबाट कानुनको संशोधनपछि आयोगले थालेको नामावली संकलन अभियानमा मंगलबारसम्म ४६ हजार ४ सय ९५ जना सूचीकृत भएका छन् ।
निर्वाचन घोषणापछि मतदाता नामावली संकलन गर्न नमिल्ने कानुनलाई सरकारले अध्यादेशमार्फत संशोधन गरेको थियो । त्यसपछि आयोगले ३० कात्तिकसम्म नयाँ मतदाताको नामावली संकलन गर्दै छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले दसैं बिदापछि मतदाता नामावलीमा नाम लेखाउनेको संख्या बढेको जानकारी दिए । १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदानको अधिकार छ ।
