जेन-जी विद्रोहले विस्थापित गरेकाहरू नै अहिले डुक्रिन थालेका छन् : गृहमन्त्री

'उनीहरुबाटै सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको छ । निगरानी गर्नुपर्ने तत्व को हुन् भनेर थाहा पाएका छौं ।'

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Those who were displaced by the Jen-Ji rebellion are now drowning: Home Minister

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले सुरक्षा समस्या थप्ने गतिविधि भइरहेको र तिनको निगरानी गरिरहेको बताएका छन् । आज गृह मन्त्रालयबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले भने, 'जो चैं अपदस्थ भा'थे त्यहाँबाट यस्ता गतिविधि भइरहेका छन् । निगरानी गर्नुपर्ने तत्व को हुन् भनेर थाहा पाएका छौं ।'

जेन-जी विद्रोहले जो विस्थापित र अपदस्थ भएका थिए, उनीहरूले  अहिलेसम्म बोध गर्न नसकेको उनको भनाइ थियो । 'हामीले सुशासन दिन नसकेका कारण यस्तो भयो भनेर बोध हुनुपर्ने हो नि,' उनले भने, 'हामी क्षमा माग्छौं । पार्टीमा अरु पनि योग्य छन्, तिनलाई नेतृत्व दिन्छौ दिन्छौं भनेर सोच्नुपर्नेमा उनीहरु नै डुक्रिन थालेका छन् ।' क्रान्तिकारीहरूलाई उनीहरुले आतंककारी देखिरहेको गृहमन्त्री अर्यालले बताए । 

जेन-जी विद्रोह सुशासनका लागि भएकाले सुशासन कायम गर्दै जाँदा भ्रष्टाचारीहरु कानुनी दायरामा आउने उनले दाबी गरे ।

मापदडविपरीत सुरक्षाकर्मी लगेर दुरुपयोग गर्नेहरुले सुरक्षाकर्मी फिर्तापछि राज्य भएको महसुस गरेको उनले बताए । 'बर्दीधारी सुरक्षाकर्मी लगेर घरमा भान्से बनाउनुभएको थियो । ड्राइभर बनाउनुभएको थियो,' उनले भने, 'शान्ति सुरक्षा भएन भनेको त्यो मानेमा रैछ ।'

व्यक्तिगत रुपमा शान्ति सुरक्षा भएन र थ्रेट महसुस भएमा निवेदन दिन सक्ने उनले बताए । 'त्यसमा एनलाइसिस हुन्छ । आवश्यक भएमा मन्त्रालयले चाँडै निकासा दिन्छ,' उनले भने ।

जेन-जी विद्रोहको मौकामा कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा लिइरहेको उनको भनाइ थियो । सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता नभए अपरेसन चलाउने पनि मन्त्री अर्यालले बताए ।

कान्तिपुर

Link copied successfully