घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
What you should know
काठमाडौँ — सभामुख देवराज घिमिरेले बुधबार दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
घिमिरेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर अदालत जाने कि नजाने भन्ने विषयमा परामर्श गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
सभामुखले आह्वान गरेको सर्वदलीय बैठक
श्याम कुमार घिमिरे : कांग्रेस
प्रतिनिधि सभा विघटन असंवैधनिक छ । संवैधानिक मार्गबाट निकास खोज्न सकेको भए राम्रो हुने थियो । अबको निकास भनेको संसद् पुर्नस्थापना वा चुनाव हो । सरकारले चुनावको वातावरण बनाइरहेको छ । सरकारले शान्ति सुरक्षा कायम गर्दै चुनावको वातावरण बनाउँछ भने फ्रेस म्यान्डेडमा जान कांग्रेसलाई आपत्ति छैन । भयरहित चुनाव हुन्छ भने कांग्रेस भाग्दैन ।
महेश बर्तौला : एमाले
प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक, असंवैधानिक छ । यो (२७ गतेको विघटन गर्ने निर्णय) प्रतिगमन हो । ८ दलले विज्ञप्ति निकालेर असंवैधानिक हो भनिसकेका छौं । यसका लागि धन्यवाद । अब पनि संवैधनिक मार्गबाटै निकास निकाल्ने हो । संसद् पुर्नस्थापना हुनुपर्छ । संसदलाई जिवित राख्नुपर्छ । सरकारले चुनावको तयारी गरेको छैन । वैधानिक संस्थालाई जीवन्त राख्नुपर्छ । यसको न्यायीक परीक्षण हुनैपर्छ । यसमा राजनीतिक दलहरूले दबाब सिर्जना गर्नुपर्छ । सभामुखले भूमिका खेल्नुपर्छ ।
हितराज पाण्डे : माओवादी
जेनजी आन्दोलन इतिहासकै दुर्लभ घटना हो । हाम्रा कमजोरी के कसो छन् समीक्षा गरौं । संविधानको किताब हेर्दा यो सरकार गठन र विघटनलाई असंवैधानिक देखिन सक्छ । तर, अहिलेको परिस्थिति ख्याल गर्नुपर्छ । अहिलेको परिस्थितिमा निकास भनेको चुनाव नै हो । सरकारले चुनावको वातावरण बनाउनुपर्छ ।
राजेन्द्र पाण्डे : एकीकृत समाजवादी
हामी ८ दलले यसअघि नै आफ्ना कुरा राख्यौं । जसमा २२९ जना सांसद हुनुहुदो रहेछ । यो अदालतमा पनि पुगेकै होला । यसकारण दलहरू विघटनविरुद्ध छन भन्ने सन्देश गएकै छ ।
तथापि, सरकारले चुनावको वातावरण बनाउनुपर्छ । चुनावको वातावरण बन्छ भने चुनावमै जाने हो । सरकारको तीन वटा म्यान्डेड छ । जेनजीसँग वार्ता, शान्ति सुरक्षा र चुनाव । यसमा सरकार केन्द्रित हुनुपर्छ ।
रेखा यादव : जसपा
पार्टीले चुनावमा जाने निर्णय गरिसकेको छ । असोज ३ गते यस्तो निर्णय लिएको हो । अर्को साता फेरि छलफल हुँदैछ । त्यहाँ संसद् पुर्नस्थापनाबारे छलफल हुन्छ ।
सभामुख
मेरो अहिले अर्को कुनै धारणा छैन । लोकतन्त्र, प्रजातन्त्र र संविधान रक्षाका लागि मैले के गर्नुपर्छ गर्छु । यहाँहरुसँग पछि थप छलफल गर्छु र एउटा निष्कर्षमा पुग्छु ।
