वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य

काठमाडौंका मेयर बालेन्द्र्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा र विवेकशील साझाबीच सम्भावित सहकार्यबारे गृहकार्य चल्दै

आश्विन २९, २०८२

गौरव पोखरेल

A series of dialogues between the alternative forces will form a single party, if not cooperation

काठमाडौँ — जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा वैकल्पिक शक्तिहरूलाई कसरी एक ठाउँमा जोड्ने भन्ने विषयमा गुपचुप संवाद हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, ऊर्जामन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच सम्भावित सहकार्यबारे गृहकार्य भइरहेको हो । 

चुनावबाट फेरि पुरानै शक्ति उदाए भने जेन–जीको ठूलो बलिदानी व्यर्थ जाने भएकाले वैकल्पिक शक्ति बलियो गरी प्रस्तुत हुनेबारे छलफल चलिरहेको एक नेताले बताए । ‘यस विषयमा सबैलाई एक ठाउँमा जोड्ने बिन्दु के हुन सक्छ भन्ने विषयमा समेत कुराकानी भइरहेको छ,’ ती नेताले भने । उनका अनुसार पूर्वबाट छुट्टै दल घोषणा गरिसकेका धरानका मेयर हर्कराज साम्पाङसँग समेत संवादको ढोका खुलै राखिएको छ । 

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत नयाँ दल गठनको गृहकार्यमा छन् । त्यसका लागि भइरहेका छलफलमा रास्वपा त्यागेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठसमेत सक्रिय सहभागी छिन् । निकटस्थका अनुसार, बस्नेतले ५/६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा २१ फागुनलाई चुनाव घोषणा भएपछि बस्नेतको गृहकार्यले तीव्रता पाएको छ ।

यो पार्टी एक साताभित्रै निर्वाचन आयोगमा दर्ता गर्ने गरी विधान लेखनलगायत काम भइरहेको छ । ‘नयाँ बन्ने पार्टी अहिलेको संविधानलाई मानेर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने किसिमको हुनेछ,’ बस्नेतनिकट एक नेताले भने, ‘केही विषयमा टुंगो लाग्नेबित्तिकै औपचारिक घोषणा हुन्छ ।’ यस पार्टीमा जोड्न विवेकशील साझा पार्टीका केही नेतासँग समेत छलफल भइरहेको उनले जानकारी दिए । 

रास्वपाले संवादका लागि पुकार बमको नेतृत्वमा समिति बनाएको छ । समितिमा केन्द्रीय सदस्यद्वय गणेश कार्की र ज्वाला संग्रौला सदस्य छन् । ‘आन्दोलनरत जेन–जी, वैकल्पिक शक्ति, नयाँ राजनीतिक दलहरू, स्वतन्त्र अभियन्ता र स्वतन्त्र जनप्रतिनिधि एक ठाउँमा आउनुपर्छ भन्ने भएरै उहाँहरूलाई संवाद गर्न जिम्मेवारी दिइएको हो,’ रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सबै पक्षसँग छलफल गरेर एउटै बृहत्तर अलायन्स बनाउनुपर्छ भन्ने भएपछि उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा उच्चस्तरीय समिति पनि बनेको छ ।’ 

रास्वपाका अर्का नेताले पार्टीमा वैकल्पिक शक्तिहरूसँग छलफल गर्न बमको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिँदै त्यसको रिपोर्टिङ उपसभापति वाग्लेलाई हुने बताए । उनका अनुसार टोलीले ऊर्जामन्त्री घिसिङ, काठमाडौंका मेयर बालेन्द्र, धनगढीका मेयर गोपी हमाल, जेन–जी प्रतिनिधिलगायतसँग छलफल गरिरहेको छ । 

रास्वपाले घिसिङलाई नै पार्टीमा ल्याउन बढी जोडबल गरिरहेको छ । घिसिङसँगको संवाद सकारात्मक दिशामा गएको भन्दै समिति संयोजक बमले रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने प्रयास भएका बेला रास्वपा घिसिङको पक्षमा खुलेर उभिएको थियो । संसद्मा पनि रास्वपा नेताहरूले घिसिङका पक्षमा आवाज उठाएका थिए । त्यसयता घिसिङसँग रास्वपा नेताहरू निरन्तर सम्पर्कमा छन् । तर घिसिङ पार्टीमा आएको अवस्थामा भूमिका के हुने भन्ने टुंगो लागिसकेको छैन । 

A series of dialogues between the alternative forces will form a single party, if not cooperation

ऊर्जामन्त्री घिसिङ आफू राजनीति गर्ने गरी आएको तर पार्टीका विषयमा अहिले नै केही भन्न मिल्ने अवस्थामा नरहेको बताए । ‘राष्ट्रको जिम्मेवारी बोध गरेर नै म अहिले मन्त्री भएको हुँ,’ उनले भने, ‘पार्टी नभई राजनीतिक अभियान अघि बढ्दैन । विभिन्न विकल्पमा छलफल भइरहेको छ ।’ 

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कारागारमा रहेका बेला नयाँ नेतृत्व ल्याएर पार्टीलाई पुनर्जीवन दिनुपर्ने मत पनि रास्वपाभित्र छ । ‘अहिलेको विषम परिस्थितिमा सभापति लामिछाने अभिभावकीय वा कुनै किसिमको भूमिकामा बसे पार्टीलाई पुनर्जीवन दिन सकिन्थ्यो भन्ने हो,’ रास्वपाका एक नेताले भने, ‘तर उहाँका पनि केही सर्त छन् ।’ उनका अनुसार घिसिङलाई पार्टी नेतृत्व दिने र लामिछाने पार्टी सभापतिले पद छाड्ने हो भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रले समेत समर्थन जनाउन सक्ने संकेत दिएका छन् । 

बालेन्द्रनिकट स्रोतका अनुसार, बालेन्द्र आफैंले अग्रसरता लिएर पार्टी खोल्ने मनस्थिति बनाएका छैनन् । ‘तर, सुशीला कार्कीको नाम आउँदा खुलेर समर्थन गरेजस्तै जेन–जीको स्पिरिट बोक्ने पार्टीलाई समर्थन घोषणा गर्ने उहाँको तयारी छ,’ बालेन्द्रका तर्फबाट विभिन्न विकल्पमा छलफल गरिरहेका एक समर्थकले भने, ‘त्यस्तो पार्टी बने मेयरले समर्थन गर्ने स्पष्ट सन्देश दिइसक्नुभएको छ ।’

बालेन्द्रका स्वकीय सचिव भूपदेव शाह मेयरले औपचारिक रूपमा कुनै पक्षसँग संवाद नगरेको बताउँछन् । ‘तर चुनाव घोषणा भएको अवस्थामा जेन–जी आन्दोलनको मर्म कसरी संस्थागत हुन्छ भन्नेमा नगर प्रमुखज्यूले चासो नराख्ने कुरा भएन,’ उनले कान्तिपुरसँग भने, ‘त्यसका लागि विवेकशील आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म र यसबीचमा उदाएका रास्वपा, स्वतन्त्र मेयरहरू गोपी हमाल, हर्क साम्पाङ, उज्यालो नेपाल अभियानका कुलमान घिसिङलगायत एक ठाउँमा आउनुपर्छ भन्ने नगर प्रमुखज्यू र हामी सबैको बुझाइ हो ।’ 

सबै देश बचाउन आएको हो भने एक ठाउँ आउनुपर्ने बुझाइ मेयर बालेन्द्रको रहेको स्वकीय सचिव शाह बताउँछन् । ‘अनौपचारिक रूपमा कुरा गर्न प्रस्ताव राख्नेहरूलाई समेत हामीले दिने सन्देश यही हो,’ उनले भने । बालेन्द्रले आफ्नो समूहलाई पाँच वर्ष नै काठमाडौं महानगरको प्रमुख पदमा रहने प्रतिक्रिया दिने गरेका छन् । त्यस अगावै बन्ने कुनै पार्टीलाई उनको समर्थन रहने तर नेतृत्वमा आफू नरहने उनको सन्देश छ । 

धनगढीका मेयर गोपी हमाल स्वास्थ्य समस्याका कारण आफूले कोहीसँग पनि औपचारिक वा अनौपचारिक कुराकानी गर्न नसकेको बताउँछन् । ‘धनगढीमा मेरो अनुभवले राम्रा मान्छेहरू भए १० वर्षमा देश बनाउन सकिन्छ भन्ने विश्वास दिलाएको छ तर त्यसका लागि कोही न कोहीले त्याग गर्नुपर्छ, आफ्नो स्वार्थ हेर्नेभन्दा पनि राजनीतिलाई स्वयंसेवाका रूपमा लिनुपर्छ,’ उनले भने, ‘त्यस्तो परिस्थिति सिर्जना भयो भने सहकार्यबारे सोच्न सकिएला ।’ आफू तिहारपछि काठमाडौं आउने र त्यसपछि कुराकानी हुने उनले बताए । 

विवेकशील साझा पार्टीका नेताहरूले पनि वैकल्पिक शक्तिहरूसँगको छलफललाई व्यापक बनाएका छन् । जेन–जी आन्दोलनपछि नेतृत्वदायी भूमिकामा रहेका कतिपयको पृष्ठभूमि विवेकशीलसँग जोडिएकाले पनि उनीहरू नयाँ किसिमले अघि बढ्न उत्साही छन् । आन्दोलनमा जोडिएका युजनराज भण्डारी पहिले विवेकशीलको युवा संगठनमा थिए भने रक्षा बम संस्थापक उज्ज्वल थापाको स्मृतिमा खुलेको फाउन्डेसनमा कार्यरत थिइन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेका गोविन्द नारायणदेखि काठमाडौंका मेयर बालेन्द्रका स्वकीय सचिव शाहको पृष्ठभूमिसमेत विवेकशील हो । ‘हाम्रो पृष्ठभूमिका साथीहरू अहिले नेतृत्वदायी ठाउँमा हुनुभएकाले पनि छलफल हुनु स्वाभाविक हो,’ विवेकशील साझा पार्टीका एक नेताले भने, ‘बीचमा हामी पार्टी एकता र फुटको सिलसिलाले केही अलमलियौं, अहिले फेरि विवेकशीलले पहिले उठाएकै विषयहरूतिर कोर्स गइरहेको छ ।’

विवेकशील साझाकी महासचिव रञ्जु दर्शनाका अनुसार, संवादका लागि गत ३० साउनमै उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा समिति बनेको थियो । ‘अहिलेको अवस्थामा संवाद गर्नु झनै जरुरी भएको छ, त्यसैले जेन–जीका साथै राजनीतिक र नागरिक अभियानमा रहनुभएका सबैसँग संवाद गर्ने तयारी छ,’ उनले भनिन्, ‘चुनाव घोषणा भइसकेको अवस्थामा वैकल्पिक शक्तिहरू एक ठाउँ आउन नसके आन्दोलनको उपलब्धि जोगाउन गाह्रो पर्ने भएकाले पनि सबै मिल्नुपर्ने अवस्था छ ।’ अघिल्लो निर्वाचनमा काठमाडौं–५ बाट चुनाव उठ्दाको प्रसंग सुनाउँदै उनले भनिन्, ‘त्यति बेला स्वतन्त्र उम्मेदवार नै दुई दर्जन जति हुनुभयो । त्यस्तो हुँदा एकअर्काबीच जुध्नेबाहेक केही हुँदैन । त्यसैले सकभर एउटै फोर्स, नभए एकदमै कम फोर्स बनाएर जानुपर्छ ।’

रास्वपाको संवाद समितिले समेत विवेकशील साझाका केही नेताहरूसँग कुराकानी गरेको छ । विवेकशील साझाले ‘पार्टीको नाम, चुनाव चिह्नसमेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्न खुला रहेको’ घोषणा गरेको छ । प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीले वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेन–जी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहतर एकीकरणसम्मका लागि सबै ढोका खुला गरेर, सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सबैमा सार्वजनिक आह्वान गर्दछ ।’

 पार्टीको एक दशकभन्दा बढीको राजनीतिक विरासत, सुसंस्कृत राजनीतिक पुँजी, नयाँ राजनीतिक संस्कार फैलाउन गरेका सत्प्रयासलाई केन्द्रमा राखेर वैचारिक प्रस्टता र मूल्य मान्यताको जगमा दलीय पदसोपानसमेत बनाउन पार्टी पुनर्गठन गरेर अघि बढ्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

बलियो वैकल्पिक शक्ति बनाउने विषयमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केही नेतासँग समेत छलफल भइरहेको स्रोतको भनाइ छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नै केही पहिले वैकल्पिक शक्ति बन्नुपर्छ भन्ने पक्षका नेताहरूसँग छलफल गरेका थिए । ‘उहाँको कुरा हामी छाड्छौं, नयाँ पुस्ता आउनुपर्‍यो भन्ने थियो,’ एक नेताले भने, ‘हामी अहिले त्यस पक्षमा छैनौं, बरु त्यहाँ भएका केही नयाँ अनुहारहरूसँग भने अनौपचारिक कुराकानी गरिरहेका छौं ।’ 

जेन–जी अलायन्स नेपालका अमित खनालचाहिँ कुनै पनि दलसँग आफूहरूको कुराकानी नभएको बताउँछन् । ‘बरु जेन–जी साथीहरूबीचमै चुनावमा कसरी सहभागी हुने भन्नेमा छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो अलायन्स कुनै पनि पार्टीमा जाँदैन, बरु कुनै वैकल्पिक शक्तिबाट राम्रो मान्छे आए चुनावमा जान सहयोग गर्छौं ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully