विवेकशीलले नेपाली जनता र राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर हुने वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा पार्टीको नाम र चुनाव चिन्ह नै परिवर्तन गरेर भएपनि पार्टी पुनर्गठन अघि बढाउन खुला रहेको जनाएको छ।
What you should know
काठमाडौँ — विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि आह्वान गरेको हो। विवेकशीलले नेपाली जनता र राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर हुने वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा पार्टीको नाम र चुनाव चिन्ह नै परिवर्तन गरेर भएपनि पार्टी पुनर्गठन अघि बढाउन खुला रहेको जनाएको छ।
प्रवक्ता आशुतोष प्रधानले आइतबार विज्ञप्ति जारी गर्दै सबै वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समुह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुबीकरण, कार्यगत एकता र बृहत्तर एकीकरणसम्मका लागि सबै ढोकाहरु खुला गरेको बताएका छन्।
'जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासन विरुद्ध समतामूलक संबृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समुह तथा सार्वजनिक परिचय वनाएका व्यक्तिहरुसँग सहकार्य, ध्रुबीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरु खुला गरेर, सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
विवेकशीलले यसअघि नै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकताका लागि उपाध्यक्ष प्रकाशचन्द्र परियारको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको थियो भने विभिन्न चरणमा वार्ता समेत भएका थिए।
विवेकशीलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान, सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरुको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात् गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्यनै परिवर्तन गर्न सफल भएको दाबी गरेको छ भने अहिलेको विषम राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति, जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति, अभियान, समूह र अभियन्ताहरुको बृहत्तर एकता आवश्यक रहेको भन्दै सबैलाई आह्वान समेत गरेको छ।
