पार्टी एकताको विपक्षमा उभिए झलनाथ

भारतबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्- 'यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौ ।'

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Jhalnath stood against party unity

What you should know

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै उनले फरक मत सार्वजनिक गरेका हुन् ।

श्रीमतीको उपचारका लागि भारतमा रहेका खनालले एक विज्ञप्ति जारी गर्दै 'पार्टी एकीकरण गर्ने मौसम होइन र छैन' भनेका छन् । जेन-जी आन्दोलनमा पत्नी रविलक्ष्मी चित्रकार जलेर गम्भीर घाइते भएपछि खनाल उनको उपचारका क्रममा भारतमा छन् ।

पार्टी एकताका लागि निरन्तर छलफल हुन थालेपछि खनालले यस्तो टिप्पणी गरेका हुन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक काठमाडौँमा बसिरहेको छ । बैठकमा पार्टी एकताबारे छलफल र गृहकार्य समेत भइरहेको छ । पार्टी बैठक चलिरहेका बेला खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।

‘युवाहरूको जबरजस्त प्रदर्शन र त्यसपछि मुलुकको राजनीतिमा आएको परिवर्तनहरूले हाम्रो मुलुकको समग्र राजनीतिमा उथलपुथल, विभाजन, पुनर्गठन र रूपान्तरणको प्रक्रियालाई गति प्रदान गरेको छ,’ खनालले पठाएको पत्रमा उल्लेख छ । साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

‘हरेक सानाठूला पार्टीहरूमा र खुद जेनजी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।

‘सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,' खनालले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।

कान्तिपुर

Link copied successfully