गुरुराज घिमिरे भन्छन्- मंसिरभित्रै नियमित महाधिवेशनको मिति तोकिन्छ भने हामी विशेष महाधिवेशनको माग स्थगन गर्न तयार छौं । तर, पदाधिकारीहरूले तत्परता देखाएनन् भने आइतबार नै निवेदन बुझाउँछौं ।
What you should know
काठमाडौँ — कांग्रेसको संस्थापनइतर पक्षले आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकअघि पचास प्रतिशतभन्दा बढी केन्द्रीय प्रतिनिधिकोहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै निवेदन दिने तयारी गरेको छ । यो कदमले पार्टी नेतृत्वमाथि ठूलो दबाब सिर्जना गरेको छ भने मंसिरभित्र नियमित महाधिवेशनको मिति तोक्ने विषयमा पनि नेताहरूबीच मतभेद देखिएको छ ।
विशेष महाधिवेशनको मागलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच तनाव बढ्दै गएको छ, जसले पार्टीको आन्तरिक एकतामा समेत प्रश्न उठ्न थालेको छ । विशेष महाधिवेशनको मागका अभियानकर्ता गुरुराज घिमिरेका अनुसार देशभरबाट हस्ताक्षर संकलन र रुजु गर्ने काम भइरहेको छ । उनले पचास प्रतिशतभन्दा बढी केन्द्रीय प्रतिनिधिकोहरूको हस्ताक्षर प्राप्त भइसकेको दाबी गरेका छन् ।
आइतबारको केन्द्रीय कार्यसमितिको बैठकअघि हस्ताक्षरसहित विशेष महाधिवेशन मागको कारण खुलाउँदै निवेदन दर्ता गर्ने तयारी रहेको उनले बताए । ‘हामीले हस्ताक्षर संकलन गरिसकेका छौं । अब आइतबारको बैठकमा पार्टी कार्यालय सानेपामा निवेदन बुझाउने तयारी छ,’ घिमिरेले भने । तर, यो अभियानलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा जारी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनको मागको कडा विरोध गरेका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका नेताहरूले मंसिरभित्र नियमित महाधिवेशन गर्न सम्भव नरहेको तर्क गर्दै विशेष महाधिवेशनको मागलाई ‘अनावश्यक’ भनेका छन् ।
उनीहरूले यस्तो अभियानले पार्टीलाई कमजोर बनाउने र आन्तरिक एकता खलबलिने चेतावनी दिएका छन् । यता, असन्तुष्ट पक्षले भने मंसिरभित्र नियमित महाधिवेशनको मिति तोक्ने सहमति भएमा विशेष महाधिवेशनको माग स्थगन गर्न सकिने बताएका छन् ।
घिमिरेले भने, ‘हामी अहिले सानेपामा चलिरहेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकको निष्कर्ष पर्खिरहेका छौं । यदि मंसिरभित्र नियमित महाधिवेशनको मिति तोकिन्छ भने हामी विशेष महाधिवेशनको माग स्थगन गर्न तयार छौं । तर, पदाधिकारीहरु तत्परता देखाएनन् भने हामी आइतबार नै निवेदन बुझाउँछौं ।’
कांग्रेसको विधानेमा आवश्यक ठानेमा केन्द्रीय कार्यसमिति आफैंले पनि विशेष महाधिवेशन बोलाउन सक्छ । केन्द्रीय कार्यसमितिले नबोलाएमा चालिस प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । चालिस प्रतिशत केन्द्रीय प्रतिनिधिहरुको हस्ताक्षरसहित कारण खोलेर निवेदन दिएमा तीन महिनाभित्र विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था विधानमा छ ।
घिमिरेले पार्टीको विधानअनुसार विशेष महाधिवेशनको मागलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताए । पार्टीका महामन्त्री गगन थापाले पनि मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षमा आफूहरु रहेको बताएका छन् । उनले केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिर मसान्तमा सकिने भए पनि आफूले कार्यकाल थप्ने प्रस्ताव बैठकमा नराख्ने अडान लिएका छन् । ‘मंसिरभित्र नियमित महाधिवेशन हुनुपर्छ । यदि त्यो सम्भव भएन भने विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढ्छ,’ थापाले भन्दै आएका छन् ।
उनको यो अडानले पार्टीभित्र विशेष महाधिवेशन चाहने र नचाहनेबीच ध्रुवीकरण बढ्ने देखिएको छ । संस्थापन पक्षले मंसिरभित्र नियमित महाधिवेशन गर्न व्यवहारिक कठिनाइ रहेको तर्क गरिरहेको छ। संस्थापनपक्षका नेताहरुका अुनसार महाधिवेशनका लागि आवश्यक तयारी, नयाँ क्रियाशील सदस्यताको वितरण, संगठनात्मक संरचना र आर्थिक व्यवस्थापनमा समय लाग्ने भएकाले छोटो समयमा महाधिवेशन सम्भव नभएको तर्क गरिरहेका छन् ।
‘मंसिरभित्र महाधिवेशन गर्न सम्भव छैन । यो कुरा सबैलाई थाहा छ । विशेष महाधिवेशनको माग गरेर पार्टीभित्र अनावश्यक विवाद सिर्जना गर्नु ठीक होइन,’ एक संस्थापन पक्षीय एक पदाधिकारीले भने ।
सभापति देउवाविरुद्ध असन्तुष्ट पक्षले विशेष महाधिवेशनमार्फत तत्काल नेतृत्व परिवर्तन गर्न चाहेको छ । यता संस्थापन पक्षले भने मंसिर गते घोषणा भएको निर्वाचन अगाडि नै महाधिवेशन गराउन खोजिरहेको छैन । बरु सभापति देउवालाई यस बीचमा नेतृत्वमा आफैं बसेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने वा वर्तमान केन्द्रीय कार्यसमिति नै विघटन गरेर कुनै नेताको संयोजकोत्वमा सानो आकारको महाधिवेशन तयारी समिति बनाएर जाने भन्ने विकल्पमाथि चर्चा भइरहेको छ ।
आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले मंसिरभित्र नियमित महाधिवेशनको मिति तोक्ने वा विशेष महाधिवेशनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा ठोस निर्णय लिने वा नलिने भन्ने विषयले कांग्रेसभित्रको विवाद कसरी जान्छ भन्ने निर्धारण गर्ने देखिन्छ । मंसिरभित्रै नियमित वा विशेष महाधिवेशन भन्नेमा सहमति नभएमा कांग्रेसभित्रको विवाद पेचिलो बन्ने देखिएको छ ।
