एमाले अध्यक्ष ओलीले भने : गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मन्जुर छैन, के गर्नुछ गर्नुस्

गुन्डुमा आयोजित कार्यक्रममा ओलीले संयोजक कार्कीमाथि उठेका प्रश्न र आयोगको निष्पक्षतामाथि शंका गर्दै एमालेले आयोग नमान्ने बताए।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

UML President Oli said: The fake commission led by Gauri Bahadur Karki is not approved, do what you have to do

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन घटनाको छानबिन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् ।

गुन्डुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि उठेका प्रश्नका कारण एमाले र जनताले उक्त आयोग मन्जुर नगर्ने बताए। उनले आयोगमा बस्नु भन्दा अगाडि भएका अभिव्यक्तिहरूको प्रश्न उठिसकेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने स्थिति थिएन कि? भन्दै प्रश्न गरे।

उनले अहिलेका सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने हो भने, के उनीहरूले आफ्नै सम्पत्ति छानबिन गराउने आँट गर्छन् कि? गर्दैनन् भन्दै प्रश्न गरे ।

अध्यक्ष ओलीले भने, 'सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन, दस पटक गर। मैले सोध्न चाहन्छु, मन्त्रीज्यूहरू, तपाईँहरूको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ? आफ्नै सम्पत्ति छानबिन गराउने? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने गराउनु होला। पहिला नै ''केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ'' भन्नेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्नुहुन्छ। त्यसपछि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्ने नाटक। यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु—यो स्वीकार्य छैन। तपाईँहरूले बुझ्नुस्, नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन।’

अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully